तम्घासस्थान मन्दिरको प्रचारप्रसार गर्न गुल्मी महोत्सव
![तम्घासस्थान मन्दिरको प्रचारप्रसार गर्न गुल्मी महोत्सव](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_od0h2Edd0p_zFvdpDQaTY.jpg)
गुल्मी : काठमाडौंको पशुपतिपछिको सबै ठूलो इतिहास बोकेको तम्घासस्थान मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। रेसुगां नगरपालिका-९ उपल्लो तम्घासमा अवस्थित तम्घासस्थान मन्दिरको आफ्नै ऐतिहासिक महत्व छ। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अघिनै स्थापना भएको हो तम्घासस्थान मन्दिर।
परापूर्वकालमा अर्जुन पर्वतमा भुरे नामका एकजना राजा बस्थे। उनी अत्याचारी, धूर्त, मूर्ख तथा चरित्रहीन मात्र नभई उनी ज्यादै विलासी थिए। तम्घासको देउरालीमा आफ्ना सिपाही राखी तम्घासबाट आउने जाने नवविवाहित दुलहीलाई आफूसँग पुर्याउने व्यवस्था गरी बलात्कार गरी सतित्व हरण गर्ने उनको चलन थियो।
एकपटक धुर्कोट वाग्लाका एउटा ब्राह्मणले गुल्मी चारपाला दरबार देवीस्थान तिरबाट एउटी कन्यालाई विवाह गरेर देउराली कटाएर घरतिर लैजाने क्रममा भुरे राजाले आफ्ना सिपाइ प्रयोग गरेर एकरातका लागि दरबार लगेछन्।
सिपाहीको अपहरणपछि विवाह गरेर आएकी बेहुलीले जन्ती र श्रीमानसँग यदि म साच्चिकै पतिव्रत रहेछु भने त्यस दुष्ट राजाले कुव्यवहार गर्ने प्रयास गरे यो दूध तथा रगत बन्नेछ र म ब्रह्मलीन हुने छु। अन्यथा यो दूध दूध नै बन्ने छ भन्दै उनी सिपाही सँग दरबार पुगेकी थिइन्। केही समयपछि दूध रगतमा परिणत भएपछि उनी र उनका श्रीमानको मृत्यु भएको किंवदन्ती छ।
बेहुलीले बोलेको कुरा सत्य भएपछि तम्घासस्थानमा शिलाको स्थापना गरी पुरुषलाई सिद्धका रूपमा र नारीलाई देवीका रूपमा पूजा गर्दै आएको स्थानीय विष्णुप्रसाद पन्थी बताउँछन्। तम्घासस्थान मन्दिरको आफ्नै पहिचान र महिमा छ। उनले भने, 'तर कसैले यसको प्रचारप्रसार र महत्वलाई बुझाउन नसक्दा मन्दिर ओझेलमा परेको छ।'
यस तम्घासस्थान मन्दिरमा परापूर्व कालदेखि नाग, झाँक्री,सिद्ध र देवीको पूजा आराधना हुँदै आएको छ। मन्दिरमा मनोकांक्षा पूरा भएपछि बलि दिने चलन छ। तम्घास आसपासका क्षेत्रमा विवाह गरी ल्याउने वा लैजाने नवजोडीले विवाह गरेको एक वर्षभित्र मन्दिरमा पुजापाठ अथवा बली दिने प्रचलन चली आएको छ।
दुलहीको ब्रह्मलीनताबाट प्रभावित भई यी देवी-देवताको पूजा गरेमा दाम्पत्य जीवन सफल हुने धार्मिक इतिहास र विश्वास रहेको रेसुगां नगरपालिका-९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले बताए। मन्दिर निर्माणमा सरकारले केही लगानी गरेको छ।
देउराली,अर्जुन र तम्घासस्थान मन्दिरमा पैदलमार्ग जोडेर पर्यटक तथा श्रदालुलाई सबै ठाउँमा पुर्याउने स्थानीय सरकारको तयारी छ। यस आर्थिक बर्षको नगरपालिकाको नीति तथा कार्यक्रममा तम्घासस्थान मन्दिरलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्नमा जोड दिएको वडाध्यक्ष पाण्डेले बताए।
तम्घासस्थान मन्दिरको स्थापना कहिले कसरी भयो भन्ने हालसम्म कुनै प्रमाण भएटिएको छैन। यस मन्दिरमा प्रत्येक हप्ताको आइतबार र मंगलबार पुजापाठ सहित बली दिने चलन छ। बेहुलीले गरेको वाचा पूरा भएपछि भुरे राजाको कुकर्म अन्त्य भई मन्दिरमा दैवी शक्तिको उत्पत्ति भएको रेसुगां नगरपालिका ९ को शताब्दी पुरुष पर्शुराम पन्थी बताउँछन्। देश विदेश मन्दिरको महत्व र इतिहासलाई प्रचारप्रसार गर्न सकेमा तम्घासस्थान मन्दिरको महिमा काठमाण्डौं पशुपति, अर्घाखाँचीको सुपादेउरालीको जस्तै हुने शताब्दी पुरुष पन्थीको भनाइ छ।
काठमाडौंको पशुपतिपछिको सबै ठुलो इतिहास बोकेको तम्घासस्थान मन्दिरको महत्वलाई उजागर गर्दै देशभर चिनाउन आगमी कात्तिकमा हुने प्रथम ऐतिहासिक महोत्सवबाट अपेक्षा लिएको छ।
मन्दिरको प्रचारप्रसार गर्ने लक्ष्यसहित गुल्मी उद्योग संघको आयोजनामा आगामी कात्तिक १५ गतेदेखि २५ गते हुने महोत्सव हुने भएको छ। महोत्सवबाट जिल्लामा एक लाख दर्शक भित्राउने र ६० करोड बराबरको कारोबार गर्ने उद्देश्य आयोजकले राखेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)