विराटनगरमा पूर्वप्रहरीको गिरोह मिलेर लुटपाट, दुई जना पक्राउ

विराटनगरमा पूर्वप्रहरीको गिरोह मिलेर लुटपाट, दुई जना पक्राउ
तस्बिर : प्रहरी हौं भनेर लुटपाट गर्ने पूर्वप्रहरीको गिरोह।

विराटनगर : विराटनगरमा पूर्वप्रहरी सम्मिलित अपराधिक गिरोह मिलेर लुटपाट गरेको घटना बाहिर आएको छ। 

लुटिएको रकमसहित घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले प्रहरी हौं भन्दै दुई जनाले विराटनगर महानगरपालिका–१२ रानीका रविकुमार साह सुडीमाथि लुटपाट गरेको जानकारी दिए। उनका अनुसार घटना असोज २२ गते सोमबार दिउँसो १२ बजेतिरको हो। मोटरसाइकलमा रानीबाट विराटनगर बजारतिर आउँदै गर्दा साह लुटिएका हुन्।

प्रहरीका अनुसार रानीबाट विराटनगर–११ रोडशेष चोकमा आइपुगेपछि पिछा गर्दै बा ६७ प २५०४ नम्बरको बुलेट मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को ठाउँमा पुर्‍याएर साहमाथि लुटपाट गरेका थिए। लुटपाटमा संलग्नले सुरुमा हामी प्रहरी हौं भन्दै साहले चलाएको मोटरसाइकल रोकेको प्रहरीले जनाएको छ। त्यसपछि एक जना साहको मोटरसाइकलको पछाडि बसेर उनलाई विराटनगर–२ हनुमान मन्दिर पुर्‍याए। नियन्त्रणमा लिएर मन्दिर परिसरमा पुर्‍याएर धाकधम्की दिँदै लुटपाट गरेपछि दुवै जना फरार भएको डीएसपी दाहालले बताए।  

लुटपाटमा संलग्नमध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेर घटनास्थलतर्फ जाँदै गरेको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ। ‘दुई जनामध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेको पाइयो,’ दाहालले भने, ‘अर्का व्यक्ति भने आफ्नै मोटरसाइकल चलाएर घटनास्थलमा पुगेको देखिन्छ।’ 

डीएसपी दाहालका अनुसार साहको नागरिकता, उनको साथमा रहेको नगदसहितको झोला, बैंकको चेकबुक, विभिन्न बैंकका ३ वटा एटीएम, मोबाइल र मोटरसाइकलको ब्लुबुक लुटपाट गरिएको पाइएको छ। लुटपाट भएको रकमका बारेमा यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। पारिवारिक समस्याले साह भारततिर गएका कारण नेपाल फर्किएपछि लुटपाट भएको रकमका बारेमा यकिन हुने प्रहरीको भनाइ छ। पीडित साहले भने बिमामा तिर्न र बैंकमा जम्मा गर्न आफूले लिएर आएको १२ लाख रूपैयाँ लुटपाट भएको प्रहरीलाई बताएका थिए। 

घटनालगत्तै लुटपाटमा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए। ठाउँठाउँमा विशेष टोली परिचालन गरेर घटनामा संलग्नको खोजी तीव्र पारिएको थियो। लुटपाटमा संलग्न विराटनगर–१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ खारजीका ३६ वर्षीय सुनील थापालाई पक्राउ गरिएको एसपी पोखरेलले बताए। तामाङ बुधबार र थापा बिहीबार बिहान पक्राउ परेका हुन्। दुवै जनालाई विराटनगर–१ स्थित धनावत पुलनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले तामाङको घरको दराजभित्रबाट ५ लाख ६५ हजार रूपैयाँ बरामद गरेको छ। उक्त रकम साहबाटै लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ। लुटपाट गरिएका नागरिकता, पैसाको झोला, चेकबुक,  एटीएम, ब्लुबुकसमेत प्रहरीले फेला पारेको छ। घटनामा संलग्न थापाको साथबाट केही बरामद भएको छैन। यद्यपि, उनको घर तथा बसोबास गरेको स्थानमा प्रहरीले खानतलासी गर्न बाँकी नै छ। 

बहालवाला प्रहरी हौं भन्दै लुटपाट गर्ने तामाङ र थापा दुवै जना पूर्वप्रहरी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जागिर छाडेपछि गिरोह खडा गर्दै अपराध कर्ममा उनीहरु संलग्न भएको प्रहरीको भनाइ छ। प्रहरीले लुटपाट गर्ने गिरोहको अपराधिक पृष्ठभूमिका बारेमा समेत अनुसन्धान थालेको छ। विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको एसपी पोखरेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.