सुनकोसी–मरिण डाइभर्सन : एक वर्षमा सवा ९ किलोमिटर सुरुङ खनियो

सुनकोसी–मरिण डाइभर्सन : एक वर्षमा सवा ९ किलोमिटर सुरुङ खनियो

सिन्धुली : राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ निर्माण थालिएको एक वर्षमा सवा ९ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ।

अटोमेटिक टनेल बोरीङ मेसीन (टीबीएम) ले डाइभर्सनको सुरुङ खन्न थालिएको आइतबार एक वर्ष भएको छ। १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये एक वर्षमा ९ दशमलव २२६ किलोमिटर निर्माण सम्पन्न भएको  हो। यो आयोजनाको झण्डै ६९ प्रतिशत प्रगति हो। 

डाइभर्सनको गत वर्ष असोज २८ गतेबाट सुरुङ खन्ने काम सुरु भएको थियो। कमलामाई नगरपालिका-२ को कुसुमटारदेखि सुनकोसी गाउँपालिका-७ को कानढुंग्रीसम्म १३ दशमलव ३ किलोमिटर लामो सुरुङ खन्ने ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले लिएको छ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) अहिले दैनिक सरदर १० मिटर र कुनै दिन १५ देखि २० मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खन्ने गरेको सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए।

बरालका अनुसार सुरुङ खन्नका लागि २२ महिनाको लक्ष्य लिइएकोमा यहीं रफ्तारमा अघि बढे अवको ४ महिनामा सुरुङको निर्माण कार्य सम्पन्न हुने छ। ‘सरकारबाट समयमा रकम निकासा भई निर्माण व्यवसायीलाई भुक्तानी गर्न सकियो भने आयोजनाको सुरुङ खन्ने काम लक्ष्यभन्दा अगाडि नै सम्पन्न हुनेछ,’ बरालले भने।

हाल टिविएम मेसिन चुरे क्षेत्र पार गरेर महाभारत क्षेत्रमा प्रवेश गरेको छ। १ हजार ३२० मिटरको उचाइस्थित सुनकोसी गाउँपालिका-७ को मझुवा गैरीगाउँ आसपासमा मेसिनले सुरुङ खन्ने काम गरिरहेको छ यो सबैभन्दा बढी उचाइ रहेको स्थान हो। ‘चुरे क्षेत्र पार गरी सुरुङ खन्ने टीबीएम मेसिन महाभारततर्फको सुरक्षित क्षेत्रमा प्रवेश गरेकाले अब कुनै समस्या नआउनेमा आयोजनाका प्राविधिकहरू ढुक्क छन्,’ बरालले भने।

यस अघि एक वर्षमा प्राविधिक कारणले करिब दुई पटक गरी ४० दिन सुरुङ खन्ने काम बन्द समेत भएको थियो। आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालिने छ। त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१.०७ मेगाबाट विद्युत उत्पादन गरिने छ।

गत वर्ष आयोजनाको प्रगति लक्ष्य भौतिक र वित्तीय गरी १३ प्रतिशत रहेकोमा भौतिकतर्फ २१.४ प्रतिशत र वित्तीयतर्फ १९.२ प्रतिशत भएको थियो। यो वर्षको तीन महिनामा प्रगति अझ बढेको आयोजनाले जनाएको छ।

चालु आवका लागि सरकारले विनियोजन गरेको रकम ४ अर्ब ३९ करोड ५४ लाख रहेकोमा काम अनुसार ११ अर्ब खर्च हुने देखिएको छ। आयोजनाको कामका रफ्तार अनुसारको अपुग बजेट माग गर्ने जनाइएको छ। 

प्राप्त बजेटबाट सुरुङ निर्माणदेखि विद्युत गृह, सिँचाइ, सामाजिक लगायतका काम भएको आयोजनाले जनाएको छ। सुनकोसी र तामाकोसीको सँगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीमा सुनकोसीमा बाँध बाध्नका लागि ठेक्का सम्झौता भइ निर्माण व्यवसायीले काम सुरु गरेका छन्। मूल्यवृद्धिसँगै २०८४ सालमा आयोजना सम्पन्न हुँदा कुल लागत बढेर ४९ अर्ब ४२ करोड पुग्ने आँकलन गरिएको छ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) सुरुङ खन्न मात्रै १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो। १५ अर्ब ५९ करोड ४० लाख रूपैयाँ अनुमान रहेकोमा सुरुङ निर्माण गर्न कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो। 

आयोजना अन्तरगत सुनकोसीमा हेडवर्क्स निर्माणको ठेक्का सम्झौता भई निर्माण व्यवसायीले क्याम्प निर्माण सुरु गरेका छन्। सुनकोसीमा बाँध निर्माण लगायतका कामका लागि १७ अर्ब ७५ करोडसम्मको ठेक्का प्रस्ताव गरिएकोमा रमण–पटेल जेभीले ३२ प्रतिशत घटेर १२ अर्बमा सकारेको हो।

आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रहेकोमा सरकारबाट प्राप्त ८ अर्ब ८६ करोड गत आवसम्ममा खर्च भएको थियो। आयोजनाको मुख्य उद्देश्य ३१.०७ मेगाबाट विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.