बिदामा पनि बहिरंग सेवा

बिदामा पनि बहिरंग सेवा
सुन्नुहोस्

बेनी : म्याग्दीको बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमा बहिरंग सेवा प्रवाह गर्न थालेको छ। बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुँदै आएको बहिरंगको सेवा प्रवाह हुने समय अवधि दैनिक ६ घण्टा थपिएको हो। बिहान ७ देखि साँझ ८ बजेसम्म बहिरंग कक्षबाट सेवा दिन थालिएको अस्पतालले जनाएको छ।

असोज २१ गतेदेखि परीक्षणका लागि सुरु गरिएको अतिरिक्त समयमा प्रवाह हुने सेवालाई बिहिबारदेखि औपचारिक रूपमा निरन्तरता दिइएको अस्पतालका प्रमुख डाक्टर अञ्जु थापाले बताइन्। 

‘एक हप्ता परीक्षण गरेर अतिरिक्त समयमा बहिरंग कक्षको सबै सेवा सञ्चालन गरेका छौं,’ उनले भनिन् ‘दैनिक साठी जना भन्दा बढीले अतिरिक्त समयमा सेवा लिनुहुन्छ।’

कार्यालय समयमा अस्पतालमा लाइन बसेर सेवा लिन नसक्ने मजदुर, विद्यार्थी, कर्मचारी, व्यवसायीको सुविधा, दिउँसोको समयमा हुने सेवाग्राहीको चाप घटाउने र निजी क्लिनिकमा सेवा लिनुपर्ने समस्या न्युनीकरणका लागि अतिरिक्त समयमा सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए।  

‘समय व्यवस्थापन गर्न नसक्ने समूहलाई अस्पतालको सेवाको पहुँचमा ल्याउन अतिरिक्त समयमा बहिरंग कक्ष चलाउन थालेका हौं,’ उनले भने, ‘अस्पतालमा चिकित्सकको सेवा पाएपछि निजी क्लिनिकमा जथाभावी उच्च डोजको औषधि किनेर उपभोग गर्ने र अन्तिम अवस्थामा सरकारी अस्पताल आउने समस्या न्युनीकरण हुने अपेक्षा गरेका छौं।’

अतिरिक्त समयमा सेवा दिने चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कामका आधारमा भत्ता दिने व्यवस्था मिलाइएको छ। अतिरिक्त समयमा सेवा लिएवापत सर्वसाधारणले थप शुल्क तिर्नुपर्दैन। अस्पताल व्यवस्थापन समितिमार्फत दुई जना चिकित्सक, एक जना फार्मेसी सहायक, एक जना रेडियोग्राफर र दुई जना सुरक्षा गार्ड नियुक्त गरेको छ। 

हाल दुई जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृत रहेको अस्पतालले लोक सेवा आयोगबाट केही दिनमै प्राविधिक नियुक्त भएर आएपछि प्रयोगशालाको सेवा पनि सहज हुने जनाएको छ। सेवा विस्तारको शुभारम्भ गर्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिम्खडाले जनशक्ति अभाव हुन नदिने बताइन्। 

‘सीमित जनशक्ति र पूर्वाधारका बीच पनि अतिरिक्त समयमा सेवा दिने बेनी अस्पतालको कार्यक्रमलाई मन्त्रालयले पूर्ण साथ दिन्छ,’ उनले भनिन् ‘दरबन्दी अनुसारको पदपूर्ति गराउन बेनी अस्पतालबाटै सुरु गर्छौं। अतिरिक्त सेवा दिने कार्यक्रम अन्य अस्पतालमा पनि विस्तार गर्छौं।’

मन्त्रालयका स्वास्थ्य महानिर्देशक खिमबहादुर खड्काले गण्डकी प्रदेशमै पहिलो पटक बेनी अस्पतालले अतिरिक्त सेवा दिन थालेको र यसलाई निरन्तरता दिन मन्त्रालयले सहयोग गर्ने बताए। 

बेनी नगरपालिकाका प्रमुख सुरत केसी र प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले अस्पतालले सुरु गरेको अतिरिक्त समयमा सेवा प्रवाह गर्ने कार्यलाई निरन्तरताका लागि जनशक्तिको कमी प्रमुख चुनौती रहेको बताए।  

२०७२ मा १५ बाट ५० शय्यामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ शय्याकै दरबन्दीबाट ७८ शय्या बराबरको सेवा सञ्चालन गर्नुपरेको छ। दैनिक २०० देखि २५० जनाले अन्तरंग विभागबाट सेवा लिने गरेका छन्। 

अस्पतालले अन्तरंग र बहिरंग विभागका अलावा शल्यक्रियामार्फत प्रसुति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितहरूका लागि अल्पकालीन सेवा केन्द्र, डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.