सरकार ! नेपाली सुपारी नै बेचौं
अब निर्णय किसानका लागि स्वादिलो बनोस्। सुपारी किसानले तस्कर होइन मूल्य दिने व्यापारीको हातमा सुपारी दिने दिन आओस्।
पूर्वी नाका झापाको काँकडभिट्टा आसपासका क्षेत्रमा सधैं देखिने एउटा दृश्य हो– सुपारी तस्कर र प्रहरीको लुकामारी। पोकामा सुपारी बोकेर मेची नदी तर्ने दाउमा तस्करीमा संलग्नहरू बाटो कुरिरहेका हुन्छन्। प्रहरी उनीहरूलाई खेदाइरहन्छ। यहाँका बासिन्दालाई यो दृश्य सामान्य लाग्छ। तर, यसरी नै तस्करको सेटिङमा भन्सार छलेर दैनिक हजारौं किलो सुपारी मेची तर्छ। पारि भारतीय बजारमा राम्रो मूल्यमा बिक्री हुने भएकाले तस्करीमा संलग्नले यो बाटो अपनाउँछन्। उनीहरू मालामाल हुन्छन्। तर, नेपालका सुपारी किसानलाई गर्जो टार्ने दामसम्म आउँदैन।
अझै नेपाली सुपारी र यसको बिक्री मूल्य तस्करकै हातमा छ। कोशीका पाँच जिल्लाका हजारौं हेक्टरमा सुपारी खेती गरेका किसान बिक्री गर्ने बेला तस्करकै भर पर्नुपर्ने बाध्यतामा छन्। उनीहरू भनिरहेका छन्– ‘सरकार खेती गर्न सिकाउँछ। बेच्ने वातावरण बनाइदिँदैन।’ भएको पनि छ त्यस्तै। झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा ४ हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुन्छ। सरकारले सुपारी जोन नै घोषणा गरेर लगानी पर्न गरेको छ। तर, उत्पादन किन तस्करलाई जिम्मा लगाइरहेको छ ? प्रश्न पुरानै छ।
कोशीमा व्यावसायिक उत्पादनमात्रै वार्षिक १५ हजार मेट्रिकटन बढी हुन्छ। यसलाई व्यवस्थित रूपमा बिक्री गर्न सके नेपाललाई पर्याप्त पुग्छ र निर्यातसमेत गर्न सकिन्छ। तर, सरकार तेस्रो मुलुकबाट नेपालमा सुपारी आयात गर्ने तर्खरमा सधैं लागिरहन्छ। आखिर किन ? अहिले पनि नेपाली बजारमा विदेशी सुपारी बिक्री भइरहेका छन्। जसका कारण गुणस्तरीय नेपाली सुपारीको भाउ छैन। तस्करले नेपाली सुपारी सस्तो मूल्यमा भारत पुर्याउँछन्। कमसल सुपारीले नेपाली बजार लिइरहेको छ। किन नेपाली सुपारीको बजार सहज बनाइँदैन ? किन अझै पनि सुपारीलाई घुमाउरो भाषा राख्दै आयात गर्न खोजिन्छ ? प्रश्नको समाधान सरकारले खोज्नुपर्छ।
बोटबाट टिपेको काँचो सुपारी अझै प्रतिकिलो २५/३० रुपैयाँमा बेच्नुपर्ने किसानको बाध्यतालाई सरकारले हटाओस्। किसान मैत्री नीति तयार पारोस्। सुपारी तस्करीको जालोमा जेलिने होइन, किसानका दुःखमा सरकार मलम बन्नुपर्छ। केही दिनअघि ‘सुपारी’ खाँदै संसदीय समितिमा सांसदहरूले नेपाली सुपारीका विषयमा छलफल गरे। अब निर्णय किसानका लागि स्वादिलो बनोस्। सुपारी किसानले तस्कर होइन मूल्य दिने व्यापारीको हातमा सुपारी दिने दिन आओस्।