८४ वर्षीय क्यानेडियन नागरिक मिसेलले गरे ‘बञ्जी’
बागलुङ : बञ्जी एक साहसिक खेल हो। साहसिक खेल खेल्न उमेरले छेक्दैन भन्ने देखाएका छन् ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले।
बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थान र पर्वत जिल्लाको कुश्मा नगरपालिकामा जोडिएको विश्वकै दोस्रो अग्लो बञ्जीमा बयोबृद्ध मिसेलले सफलतापूर्वक बञ्जी गरेका हुन।
८४ वर्षीय मिसेल केहि दिन अगाडी एड्भेन्चर हवका रूपमा परिचित ‘द क्लिफ’पुगेर बञ्जी, स्विङ, स्काइ साइक्लिङ, स्काइ ग्लाइडिङ लगायतका साहसिक खेलहरूको मज्जा लिएका छन्।
जुत्रासले बञ्जी तथा अन्य खेलहरू खेलेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा जुत्रास युवा जोसका साथ बन्जी प्रवेश गरेका थिए। बन्जी पुगेर कर्मचारीहरूसँग हाँसो ठठ्टा गरेका जुत्रासले बन्जी गर्नुपूर्व रोमाञ्चित हुँदै नृत्य समेत गरेको देख्न सकिन्छ।
८४ वर्षीय मिसेलले बञ्जी गरी क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तरगर्तका रेकर्ड कायम गरेका छन्। यसअघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बञ्जी गरेकी थिइन्।
बञ्जिपछि निकै उत्साहित रहेका क्यानडिएन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए। उनले पटक बञ्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङ लगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए।
कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको ‘द क्लिफ’मा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन्।
‘द क्लिफ’मा बञ्जी गर्न र साहशिक खेलहरू खेल्नका लागि बाह्य तथा आन्तरिक पर्यटकहरूको भीड लाग्ने गरेको छ।