कुकुर धपाउँदै, जहाज उडाउँदै

कुकुर धपाउँदै, जहाज उडाउँदै
जोमसोम विमानस्थलमा अवतरण भएको जहाज र इन्सेटमा धावनमार्गमा कुद्दै गरेको कुकुर।
सुन्नुहोस्

जोमसोम : यात्राका लागि सुरक्षित यातायातमध्येमा पर्छ जहाज अर्थात् प्लेन। त्यसैले विमानस्थलको सुरक्षाका लागि कुनै कसर बाँकी राखिँदैन। विमानस्थलमा तारबार, सुरक्षाकर्मी र कर्मचारीले सुरक्षित उडान र अवतरणमा ध्यान दिइरहेका हुन्छन्। जबकि चरा धपाउन नै कर्मचारी नियुक्त गरिन्छ। तर, जोमसोम विमानस्थलमा पीडा अर्कै छ। यहाँ कुकुर धपाउँदै जहाज उडाउनुपर्ने बाध्यता छ। यहाँ रनवेमा कुकुर कुद्छन्। त्यसैले उडान असुरक्षित बनेको छ। 

विमानस्थलमा अनधिकृत रूपमा कुकुरहरू पस्न थालेपछि पोखरा—जोमसोम हवाई उडान र अवतरणमा दिनहँु समस्या देखिन थालेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले चार वर्षअघि मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तथा धावनमार्ग (रनवे) क्षेत्रको विस्तार गरे पनि विमानस्थल क्षेत्रको तारबार संरचना कमजोर हुँदा कुकुरले आतंक मच्चाइरहेको छ।

जोमसोम विमानस्थलको तारबार होचो र कतिपय स्थानमा च्यातिएको हुँदा सोही स्थानबाट कुकुरको बथान भित्र छिर्ने गरेको पाइएको छ। असोज लागेपछि जोमसोम नागरिक उड्डयन कार्यालयमा कार्यरत सुरक्षाकर्मी र त्यहाँ राखिएको आगो निभाउने वारुणयन्त्रलाई कुकुर धपाउन हम्मेहम्मे पर्ने गरेको छ। जोमसोम विमानस्थलमा जहाज उड्न लाग्दा होस् या जहाज अवतरण गर्न लाग्दा कुकुरहरूको आतंकले हवाई उडानमा समस्या निम्त्याएको छ। 

विमानस्थलमा साइरन बज्नेबित्तिकै धावनमार्गमा कुकुरले दुःख दियो भन्ने बुझाइ हुन्छ। कतिपय जोमसोमवासीले जोमसोम विमानस्थलमा सुरक्षाकर्मी र वारुणयन्त्रले साइरन बजाउँदै कुकुर धपाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा अपलोड गरेको पनि पाइएको छ। जोमसोम विमानस्थलमा बिहानपख सुरक्षाकर्मीले कुकुर धपाउँदै गरेको दृश्यले विमानस्थल सुरक्षामाथि नै प्रश्न उठाउने गरेको पाइएको छ।

करिब ८ सय १० मिटर लम्बाइ रहेको यो विमानस्थल धावनमार्गको आधाजसो ठाउँका तारबार संरचना जीर्ण भएर च्यातिएका छन्। विमानस्थल कम्पाउन्डको तारबार संरचनालाई बलियो र मजबुद बनाई हवाई सुरक्षालाई मजबुत पार्नुपर्ने यात्रुको माग छ। जोमसोम नागरिक उड्डययन कार्यालयका प्रमुख हिरोण शाहले विमान सुरक्षाका लागि तारबार लगाउन बजेट सुनिश्चितता भइसकेको बताए। ‘हामीले यहाँको अवस्थाका बारेमा केन्द्रलाई जानकारी गराएका छौं,’ उनले भने, ‘प्राधिकरणले तारबार स्ट्रक्चरसहित पूरै विमानस्थल कम्पाउन्डमा सुरक्षित तारजाली लगाउने योजना भइसकेको छ।’

जोमसोम नागरिक उड्डयन कार्यालयले साबिकको सडकमार्गको उचाइ बढेकाले जहाज उडान समयमा कुकुरहरूले दुःख दिने गरेको बताए। सडकको उचाइ बढेकाले तारबार होचो भएको र कतिपय ठाउँमा तारबार च्याँतिएकाले कुकुरहरू सजिलै धावनमार्गमा पस्ने गरेको कार्यालय प्रमुख शाहको भनाइ छ। जहाज उडान र अवतरण गर्दा कुकुर पसेमा जहाजलाई आकाशमै होल्ड गराएर विमानस्थल अवतरण गर्ने गरिएको उनले जनाए। पोखरा—जोमसोमका लागि तारा एअर र समिट एअरको जहाजले उडान भर्दै आइरहेका छन्। अहिले यी दुई कम्पनीको जहाजले दैनिक १० वटासम्म उडान भर्ने गरेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.