आन्तरिक पर्यटकको रोजाइमा मुस्ताङ

आन्तरिक पर्यटकको रोजाइमा मुस्ताङ
सुन्नुहोस्

जोमसोम : आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य हिमाली जिल्ला मुस्ताङ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक, भौलिक रहनसहनका साथै जैविक विविधताले निकै प्रख्यात छ। समुन्द्री सतहको २५ सयदेखि ५ हजार मिटरको अग्लो उचाइमा अवस्थित मुस्ताङ पृथक् भूगोल, मनोरम हिमशृंखला र कालीगण्डकी नदीको लोभलाग्दो दृश्यावलोकनले मुस्ताङ घुम्ने जो कोही पनि लालायीत हुन्छन्। 

पछिल्लो समय १६ हिमाली जिल्लामध्ये मुस्ताङ पर्यटकीय हिसाबले चर्चित छ। धार्मिकस्थल मुक्तिनाथ मन्दिर, कोरला नाका, श्राद्धस्थल कागबेनी, छोसेर गुफा, लोमान्थाङ दरबार, लोघेकर गुम्बा, लुरी गुम्बा, ढुम्बाताल, सेकुङ ताल र टिटी तालजस्ता पर्यटकीय गन्तव्य मुस्ताङमै रहेकाले मुस्ताङ पर्यटकीय हबको रूपमा विकास हुँदै जान थालेको हो। यहाँबाट देखिने नीलगिरि र धौलागिरि हिमालको मनमोहक प्राकृतिक सौन्दर्यता नियालेर मुस्ताङ आइपुगेका पर्यटक मन्त्रमुग्ध हुन्छन्।

 देश आर्थिक मन्दीको अवस्थामा देखिए पनि मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्यामा कुनै कमी आएको छैन। यस वर्षको बडा दसैंअघिको सोह्र श्राद्धमा आन्तरिक भक्तजनहरू मुस्ताङ आएको भए पनि दसैं पर्वको नवरात्र सुरु भएपछि पर्यटकको चाप ह्वात्तै घटेको थियो। दसैं पर्वको टीका सकिएलगत्तै फेरि स्वदेशी पर्यटकको आगमनले मुस्ताङ गुल्जार बनेको छ। दसैं पर्वको समयमा विदेशमा बस्ने नेपाली घर फर्किने गर्छन्। सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, स्कुल कलेज दसै–तिहार पर्वमा लामो बिदा हुने भएकाले मुस्ताङमा आन्तरिक पर्यटकको लर्को लागेको हो। दसैं पर्वमा आफन्त, इष्टमित्र, साथीभाइ रमाइलो गर्ने, दसैं टीका लगाउने, स्वादिष्ट खानेकुरा बनाएर खाने अनि नयाँनयाँ ठाउँहरूको भ्रमण गर्ने गरिन्छ। पछिल्लो समय स्वदेशी पर्यटक फुर्सदिलो समयमा नेपालका पर्यटकीय गन्तव्य घुम्न रुचाउन थालेका छन्। यसैका कारण पनि मुस्ताङमा पर्यटकको संख्या बढेको बताइएको छ।

 दसैं पर्वमा केही सुस्ताएको मुस्ताङको पर्यटन पुनः चलायमान भइरहेको झारकोट स्वास्थ्य चौकीका इन्चार्ज सुवास अधिकारीले जानकारी दिए। दसैं बिदाको मेलो पारेर घुम्न आएका पर्यटक सवारीसाधनले रानीपौवा बसपार्क भरिभराउ भएको उनले बताए। लगातार तीन वर्षसम्म कोभिड महामारीले आक्रान्त बनेका मुस्ताङका पर्यटन व्यवसायी अकल्पनीय रूपमा पर्यटकको घुइँचो बढेपछि निकै उत्साहित बनेको स्वास्थ्य चौकीका इन्चार्ज अधिकारीको भनाइ छ। उनले मुस्ताङमा जाडो बढिसकेको र पर्वतीय उचाइमा आउने पर्यटकले आवश्यक स्वास्थ्य सावधानी अपनाउनसमेत अनुरोध गरे।

अहिले दसैं बिदामा मुस्ताङ भ्रमण गर्न आएका पर्यटकले यहाँका होटल तथा रेस्टुरेन्ट भरिभराउ भएका छन्। मुस्ताङको घाँसादेखि कोरला नाकासम्मका होटल पर्यटकले थेग्नै नसकिने गरी भरिभराउ भएका छन्। दसैं—तिहार पर्वका बेला मुस्ताङ भ्रमण गर्ने अनुकूल मौसम पनि हो। पर्यटक बढेपछि व्यवसायीलाई पाहुना उम्काउन भ्याइनभ्याइ छ भने सडक पेटी तथा यहाँका कोसेली घरमा मुस्ताङमा उत्पादित कृषि उत्पादनले पनि राम्रो बजार पाउन थालेको छ। यहाँको स्याउ, ब्रान्डी, वाइन, जुस र ड्राई एप्पल खरिद गरेर पर्यटकले कोसेलीको रूपमा घरमा लैजाने गर्छन्।

नेपालको भौगोलिक सुन्दरता र पृथक् भूगोलको रूपमा परिचित मुस्ताङको वास्तविक तस्बिरसँग प्रत्यक्ष साक्षात्कार गर्न आफूहरू दसैं बिदाको समयमा मुस्ताङ भ्रमण गर्न आएको काठमाडौं निवासी अस्मिता प्रधानले जानकारी दिइन्। 

उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत २०७४ सालदेखि कोरला सडक आयोजना सुरु भएपछि मुस्ताङ पहुँचमार्ग सडक सहज बन्दै जान थालेको हो। राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक निर्माणाधीन अवस्थामा छ। सडकमार्ग बर्सेनि सुधार हुँदै जान थालेपछि मुस्ताङमा पर्यटक भित्रिने क्रम बढेको हो। मुस्ताङको घाँसादेखि मार्फासम्म कालोपत्रे सडक विस्तार भइसकेको र त्यहाँबाट कोरला सडक ग्राभेल सडक विस्तार भएकाले पनि पर्यटकका लागि मुस्ताङ यात्रा निकै सजिलो बनेको हो।

धार्मिक हिसाबले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथधाम नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै पनि चर्चित छ। उत्तरी कोरला नाका पनि आन्तरिक पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। विशेषत भारतीय नाकाबन्दीपछि निकै चर्चामा रहेको यो नाकालाई सरकारले उच्च प्राथमिकतामा राखेपछि कोरला नाकाको चर्चा झनै चुलिएको हो। विशेषत मुस्ताङ घुम्न आएका अधिकांश आन्तरिक पर्यटक कोरला नाका पुगेर फर्किने गरेका छन्। मुस्ताङमा आउने पर्यटकमध्ये दसैं—तिहार बिदामा विशेष गरी युवायुवतीको संख्या अधिक रहन्छ। 

यस वर्षको दसैं टीकापछि पर्यटक मुस्ताङ आउने क्रम बढेको घाँसा प्रहरी चौकीले जनाएको छ। चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रताप मल्लले दसैं टीकापछि दैनिक १२ सयभन्दा बढी सवारीसाधन मुस्ताङ प्रवेश भइरहेको बताए। उनले मोटरसाइकलको यात्रा गर्दै मुस्ताङ आउने पर्यटकको संख्या बढी रहेको जानकारी दिए।  दसैं बिदामा मुक्तिनाथ दर्शन गर्न आएका अधिकांश पर्यटक उपल्लो मुस्ताङ जाने गरेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.