आममाफी दिएको ५ महिनामै अर्को अपराध
गणतन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रामचन्द्र थापाले माग गरेबमोजिम रकम नदिए अपहरण र गोली प्रहार गर्ने धम्की दिएका हुन्।
चितवन : गणतन्त्र दिवसमा ५० प्रतिशत कैद छुट पाएर कैदमुक्त भएको ५ महिना नबित्दै एक व्यक्ति पुनः पक्राउ परेका छन्। माग गरेबमोजिम रकम नदिए अपहरण र गोली प्रहार गर्ने धम्की दिएको आरोपमा ५५ वर्षीय रामचन्द्र थापालाई चितवन प्रहरीले पक्राउ गरेको हो।
थापा गत जेठ १५ गते गणतन्त्र दिवसमा ५० प्रतिशत कैद छुट पाएर मुक्त भएका थिए। असल चालचलन भएको भन्दै सरकारको सिफारिसमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ स्थायी ठेगाना भई भरतपुर महानगरपालिका–९ मा बस्दै आएका थापा यसअघि पनि विभन्न अपराधमा पटक–पटक समातिएका व्यक्ति हुन्। पछिल्लो समय डाँका मुद्दामा पक्राउ परेर ९ वर्ष कैद सजाय पाएका उनी आममाफीमा छुटेका थिए।
थापाले भरतपुर महानगरपालिका–१ पुल्चोकमा औषधि पसल चलाउँदै आएका सोमराज सुवेदीलाई धम्काउँदै रकम माग गरेको चितवन प्रहरीको दाबी छ। ‘सुवेदीसँग कात्तिक ८ गते बुधबार थापाले रकम माग्न सुरु गरेका थिए। त्यसपछि प्रहरीको निगरानीमा रहेका थापा सोमबार पक्राउ परेका हुन्’, चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले भने।
जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार पत्रकार सम्मेलन गरी भरतपुर–१० मालपोत चोकनजिकबाट रकम माग्दै गर्दा थापालाई पक्राउ परेको जानकारी दिएको छ। थापाले सुवेदीसँग सुरुमा २५ लाख रुपैयाँ माग गरेको डीएसपी पण्डितले बताए। कात्तिक ८ गते साँझपख करिब पौने ६ बजे फोनमा हिन्दीमा बोल्दै आफूसँग २५ लाख रुपैयाँ माग गरेको सोमराज सुवेदीले बताए।
‘पैसा नदिए अपहरण गर्ने र मलाई र छोरालाई समेत मार्ने धम्की दिए। भोलिपल्ट २० लाख रुपैयाँसम्म दिए मान्ने कुरा उनले गरे’, उनले भने, ‘मैले प्रहरीलाई खबर गरेपछि प्रहरीको अनुसन्धानले पक्राउ गर्न सफल भएको हो।’
पैसा बुझाउन मंगलबारलाई दिन तोकेपछि थापा पैसा बुझ्न आएका थिए। पैसा बुझ्न आएका थापा पाँचौंपटक प्रहरी नियन्त्रणमा आएको डीएसपी पण्डितले बताए। उनका अनुसार थापाविरुद्ध पहिलोपटक २०६६ सालको जेठ २७ मा चितवन प्रहरीले चोरी मुद्दा दर्ता गरेको थियो। ६६ सालकै असार ३ मा अवैध हातहतियार देखाएर डाँका गरेको अभियोग, २०७३ सालको वैशाख २२ मा ललितपुर सातदोबाटो प्रहरी वृत्तले लागुऔषध अपराधमा मुद्दा दर्ता गरेको प्रहरी विवरण छ।
२०७५ सालको मंसिर १३ मा चितवन प्रहरीले डाँकासम्बन्धी कसुरमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो। चितवन जिल्ला अदालतले ९ वर्ष कैद सुनाएकोेमा २०८० को गणतन्त्र दिवसमा सरकारले आधा कैद मिनाह गरेपछि थापा छुटेका थिए।