युद्धरत मुलुकलाई शान्ति मार्गमा लाग्न अपिल

युद्धरत मुलुकलाई शान्ति मार्गमा लाग्न अपिल
लुम्बिनी भ्रमणमा मंगलबार पुगेका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत  ।
सुन्नुहोस्

भैरहवा : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिभूमि बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले मंगलबार उनलाई लुम्बिनीमा स्वागत गरे।

लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरबाट सम्बोधन गर्दै महासचिव गुटेरेसले लुम्बिनी शान्ति र अहिंसाको क्षेत्र भएकाले युद्धरत मुलुकहरूलाई शान्तिको मार्गमा लाग्न अपिल गरे। हाल युक्रेन, रसिया, इजरायल, प्यालेस्टाइन जस्ता विभिन्न मुलुक युद्धमा होमिएका छन्। जसका कारण समग्र विश्व नै पीडित भइरहेकाले युद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि लाग्न पनि उनले आह्वान गरे। 

‘विश्व शान्तिको यो मुहानबाट विश्वभर भइरहेका सबै युद्धहरू अन्त्य हुनुपर्छ भन्ने आग्रह गर्न चाहन्छौं’, उनले भने, ‘युद्धमा होइन, शान्तिको बाटोमा लाग्नुपर्छ र लागौं।’ उनले विश्व शान्तिको मुहान बुद्ध जन्मस्थल लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश प्रवाह गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताए। उनले विश्वभर नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको जनाए। 

यस्तै, महासचिव गुटेरेसले विकासोन्मुख मुलुकहरूले पछिल्लो समय जलवायुमा देखिएको परिवर्तनको प्रभाव भोग्न बाध्य भएको बताए। जलवायु परिवर्तनमा विकसित राष्ट्रहरूले प्रभाव पारिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्न सबै मुलुक लाग्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनी बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मात्र नभई शान्ति र सद्भावको केन्द्र रहेको तथा यसले मानवजातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा प्रेरणा र मार्गदर्शन गरिरहने जनाए। 

संयुक्त राष्ट्र संघ लामो समयदेखि नै लुम्बिनीको विकाससँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको पहलमा नै लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको, विश्वव्यापी मञ्चमा यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई मान्यता दिएको बताए। प्रधानमन्त्री प्रचण्डले महासचिवको लुम्बिनी भ्रमणबाट विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह गरेको भन्दै विश्वव्यापी महत्वको ऐतिहासिक स्थलको भ्रमणका लागि धन्यवाद व्यक्त गरे।

उनले शान्ति र सद्भावको तीर्थ स्थलको प्रमुख केन्द्रमा रहेको लुम्बिनीको विकासका लागि हालसम्म भएका सहयोगप्रति धन्यवाद दिँदै लुम्बिनीलाई विश्व शान्ति र समझदारीको केन्द्रका रूपमा विकास गर्न संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायको अझै पनि सहयोग र समर्थन रहनेमा विश्वास व्यक्त गरे।

भ्रमणको क्रममा महासचिव युटेरेसले मायादेवी मन्दिर, अशोक स्तम्भ, विश्व शान्ति द्वीपलगायतको अवलोकन गरेका थिए। अवलोकनको क्रममा लुम्बिनी विकास कोषले लुम्बिनीबारे जानकारी गराएको थियो। सोही क्रममा उनले र प्रधानमन्त्री दाहालले संयुक्त रूपमा पवित्र उद्यानमा सालको बिरुवा वृक्षरोपणसमेत गरेका थिए। गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्र संघका छैटौं महासचिव हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.