रिगल प्रहरी नियन्त्रणमा

रिगल प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

नेपालगन्ज : गुण्डा नाइके योगराज ढकाल ‘रिगल’ रिहाइ उन्मादले पुनः जेल गएका छन्। बिहीबार अपराह्न ४ः३० बजेतिर नेपालगन्जको न्युरोडस्थित सेतु विक चोकनजिक ससुराली घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी सुवास चन्द्र बोहोराले बताए। यद्यपि प्रहरी नियन्त्रण अघि उनले फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीलार्ई दिएको छोटो अन्तर्वार्तामा आत्मसमर्पण गर्न लागेको बताएका थिए। 

‘सम्मानित अदालतले गरेको निर्णयप्रति म सम्मान गर्दै, कानुनमाथि फेरि पनि विश्वास राख्दै, म भोलि फेरि न्याय पाउनेछु भन्ने विश्वास राख्दै म आफूलाई कानुन समक्ष आत्मसमर्पण गर्न जाँदैछु। मलाई लागेको दोषहरूपछि के हुन्छ कसो हुन्छ ? त्यो फेरि छानबिन होला ?’, उनले भिडियोमा भनेका छन्, ‘२०७२ सालमा मलाई दोष लागेर हिजो दिनमा पनि मैले आत्मसमर्र्पण गरेर कानुनप्रति विश्वास राखेर जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेको थिएँ। त्यही तरिकाले म आज फेरि आत्मसमर्पण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेमा जाँदैछु।’ 

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा चेक सर्ट लगाएका एक युवाले बायाँहात समातेर उनी सडकमा हिँड्दै गरेको र केही पर जिप्रका बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगी, वरिष्ठ सई माधव रिजालसहितका प्रहरी रहेको गाडी रिगललाई कुरेर बसेकोे र उनी गाडीनजिक नियन्त्रणमा लिएर पिकअप गाडीमा चढाएको देखिन्छ। 

 जप्रका प्रमुख एसपी बोहोरा भने कोठाभित्र अन्तर्वार्ता दिए पनि प्रहरीले रिगललाई पक्राउ गरेको दाबी गर्दै भन्छन्, ‘आत्मसमर्पण गरेको होइन। न्युरोडमा लुकेको अवस्थामा हामीले नियन्त्रणमा लिएका हौं।’   

गत ३ असोजमा संविधान दिवसको दिन राष्ट्रपतिबाट आममाफी पाएर दाङको घोराही कारागारबाट रिहा हुँदा विजयोत्सव शैलीमा ठूलो संख्यामा गाडीको लस्करसहित बाँकेमा पुग्नु र युद्ध जितेको सिपाहीले झैं फूलमालाले भव्य स्वागत गरेको ‘रिहाइ उन्माद’ नै रिगललाई पुनः जेल पठाउने कारण बनेको हो। उनको रिहाइको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। जसमा आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निकै आलोचना भएको थियो। रिहाइपछि रिगलले राष्ट्रिय टेलिभिजनमा दिएका अन्तर्वार्तामा पनि ‘रिहाइ उन्माद’ देखिन्छ। उनी पुनः जेल जानुमा अर्को ठूलो कारण बन्यो, मृतक चेतन मानन्धरकी पत्नी भारतीले काठमाडौंमा अनशन बस्नु, अनशनमा जनसमर्थन पाउनु र सर्वोच्च अदालतले आममाफीको निर्णय बदर गर्नु। ‘रिहाइ उन्माद पनि पक्कै पनि एउटा कारण हो’, बाँके प्रहरी प्रमुख बोहोरा भन्छन्, ‘पीडित परिवारले न्यायका लागि गरेको संघर्ष पनि अर्को कारण हो।

८ असार २०७२ मा रिगलको समूहले मानन्धरलाई दिउँसै लखेटी–लखेटी खुँडा प्रहार गरेर हत्या गरेको थियो। खुँडा प्रहारले हात काटिएका मानन्धरको अत्यधिक रक्तश्राव भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा निधन भएको थियो। हत्याविरुद्ध किशोरकुमार मानन्धरले घटनामा १५ जना संलग्न भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएका थिए। जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले ११ वैशाख २०७५ मा चेतन मानन्धरको हत्यामा रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। सुरुमा फरार रहेका ढकालले आफैं अदालतमा आत्मसमर्पण गरेका थिए। 
अदालतले प्रशान्त गौतम भन्ने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्का चार जनालाई जन्मकैदको फैसला गरेको थियो। सोहनसिंह ढकाललाई भने १० वर्ष र दीपेन्द्रसिंह भन्‍ने दीपेन्द्र मल्ललाई ५ वर्षको सजाय फैसला भएको थियो। माधव नेपाली, विवाद पाठक, हरि वली, प्रितम थापा, मनिष चौलागाईं, यमबहादुर बुढामगर र केशवबहादुर रोकाय गरी सात जनालाई तीन-तीन वर्षको सजाय तोकिएको थियो। रिगललाई भगाउन सहयोग गरेको भनिएका दीपक केसीले भने सफाइ पाएका थिए। २८ फागुन २०७६ मा उच्च अदालत तुलसीपुर नेपालगन्जले पनि जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.