काठमाडौं : आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले खराब सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानलाई चौथो सफलता मिलेको हो।
९ ओभरको अन्तिम बलमा कुशल मल्ल आउट भएसँग नेपालले चौथो विकेट गुमाएको हो। मल्ल अकिब इलियासको बलमा आउट भएका हुन्। उनले ९ बलमा ३ रन मात्र बनाउन सके।
यस अगाडि ७.१ ओभरको खेलमा कुशल भुर्तेल आउट भएका हुन्। अकिब इलियासको बलमा मेहरान खानले उनलाई क्याच आउट बनाएका हुन्। भुर्तेलले २२ बलमा ३१ रन बनाएको हो। उनले २ छक्का र ३ चौका प्रहार गरे।
त्यसैगरी ६.१ ओभरको खेलमा नेपालका सन्दीप जोरालाई जिशान मकसूदले बोल्ड आउट गराएका हुन्। उनले १३ बलमा १० रन बनाएर आउट भए।
२.४ ओभरको खेलमा बिलाल खानको बलमा काश्यप प्रजापतिले नेपालका ओपनर आशिफ शेखलाई क्याच आउट गराएका हुन्। शेख ६ बलमा ६ रन बनाएर आउट भए। उनले एक छक्का हानेका थिए।
अहिले नेपाल १२ ओभरको समाप्तिसँग ४ विकेटको क्षतिमा ६६ रन बनाएर खेलिरहेको छ। टस जितेसँगै नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल र ओमान दुवै समूह ‘ए’मा थिए। समूह चरणमा ओमानले शतप्रतिशत जित निकाल्दा समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो। नेपालका लागि घरेलु दर्शकअघि ओमानविरुद्ध समूह चरणको हारको बदला लिँदै च्याम्पियन बन्ने मौका रहेको छ।
कीर्तिपुर र मूलपानी मैदानमा सञ्चालन भएको प्रतियोगिताको समूह ‘ए’मा नेपालसँगै ओमान, सिंगापुर र मलेसिया थिए। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत थिए।
नेपालको टीम : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने।
प्रतिक्रिया दिनुहोस !