हुर्कंदै कोरियाको होलिस्टिन कोरली

हुर्कंदै कोरियाको होलिस्टिन कोरली
सुन्नुहोस्

काठमाडौं : सिन्धुलीमा दैनिक ३२ लिटरसम्म दूध दिने क्षमताका होलिस्टिन कोरली तयार हुँदैछन्। सिन्धुलीको कमलामाई नगरपालिकाका ५१ घरपरिवारले बढी दूध दिने क्षमताका कोरियाका गाईहरू हुर्काउँदै गरेका हुन्। 

हुर्काइरहेका ७४ गाईमध्ये ३७ वटा ब्याउने (गर्भाधान) भएका छन् भने बाँकी प्रक्रियामा छन्। नौ महिना पूरा भएसँगै उक्त गाईले दैनिक औसत ३२ लिटर दूध दिने अनुमान गरिएको छ। अहिले लोकल गाई पालेर दैनिक २–३ लिटर र जर्सीबाट दैनिक ५–६ लिटर दूध प्राप्त गरिरहेका किसानले अब कोरियन गाईबाट धेरै दूध पाउने छन्। यससँगै कोरिया सरकारले सय गाई दिएकोमा पोखराको समेत गरेर ४१ वटा ब्याउने छन्। 

गाई पाल्नमा बढी ध्यान दिनुपरे पनि धेरै दूध दिने भनेपछि स्याहारसुसारमा जाँगर चलेको बताउँछिन् कमलामाई माथिल्लो राजपानीकी विमला घलान। यी गाईको स्याहार गर्दा स्थानीय गाईले पनि पाएपछि दूधसमेत बढेको उनले सुनाइन्। ‘पहिला २ लिटर दूध दिने लोकल गाईले अहिले साढे ३ लिटरसम्म दूध दिन थालेका छन्,’ उनले भनिन्। 

यस्तै, अर्का स्थानीय तिलकबहादुर घलान राम्रो जातको कोरियन गाई पालेपछि आम्दानी बढ्ला भन्नेमा विश्वस्त छन्। उनी दैनिक ३२ लिटर दूध दुहुने पर्खाइमा छन्। यस्तै, गैयाँदेवी महिला उद्यमी स्वावलम्बी समूहकी कोषाध्यक्ष गुणाकुमारी घिमिरे २०७९ पुसमा ११ महिनाको कोरियन हेफर बाच्छी प्राप्त गरेको बताउँछिन्। ‘गत वैशाख २१ गते गाईलाई एआईमार्फत गर्भाधान गरिएकाले अब माघमा ब्याउने भएको छ। यो गाई ल्याइएकामध्येकै पहिलो भएको छ,’ घिमिरेले सुनाइन्। 

गत वर्ष डिसेम्बरमा नेपाल सरकार तथा हेफर इन्टरनेसनल नेपालको माग तथा सक्रियतामा कोरिया सरकारबाट एक सय यस्ता गाई उपहार स्वरूप दिएको थियो। साथै ८ वटा उच्च प्रजननमान भएका होलिस्टिन बहर नेपाललाई उपलब्ध भएको थियो। कोरियाले उक्त गाई सिन्धुलीमा उपयुक्त वातावरण भएकाले स्थान छनोट गरेको थियो। यसअघि जाइकाले बीपी हाइवे बनाउनुअघि गरेको स्थलगत अध्ययनले सिन्धुली पशुपालनका लागि उपयुक्त भएको प्रतिवेदनमा उल्लेख गरेको थियो। सोही अध्ययनलाई आधार मानेर स्थान छनोट गरेको हाइफर इन्टरनेसनल कोरियाकी कार्यकारी निर्देशक हेवन लीले बताइन्।

हाल कमलामाई नगरपालिकाको ४ र ५ वडामा सञ्चालित यो परियोजनाले सिन्धुलीलाई दुग्ध पकेट क्षेत्र बनाउने योजना रहेको मिल्की वे परियोजनाका कार्यक्रम प्रबन्धक डा. नारायणप्रसाद शर्माले जानकारी दिए। डा. शर्मा भन्छन्, ‘अझै देशैभरिका वर्णशंकर होलिस्टिन गाईमा कृत्रिम तथा प्राकृतिक गर्भाधान भई तिनीहरूबाट जन्मने बाच्छीहरू गाईमा परिणत हुँदा देशमा आवश्यक दूध उत्पादन हुने र मुलुक दूधमा आत्मनिर्भर हुनेछ।’ 

गाईलाई म्याट र शुद्ध पानी 

सिन्धुलीको कमलामाई नगरपालिकामा गाईबस्तुका लागि व्यवस्थित आधुनिक गोठ बनाउन थालिएको छ। उक्त नगरपालिकाको ५१ घरपरिवारले आफ्ना बस्तुलाई ढलान गरेको भुइँमा सफा म्याट ओछ्याएका छन्।

उनीहरूले कोरियन गाईसँगै लोकल गाईलाई पनि त्यही सुविधामा राख्न थालेका छन्। गोठमा फोहोर हुन दिइँदैन। गोबरबाट प्राङ्गारिक मल र बायोग्यासको अवधारणा पनि बनाइएको छ। मलमूत्रलाई निकास गरेर बारीमा पोखरी बनाइएको छ। यसलाई जैविक मलका रूपमा प्रयोग गरिन्छ। गोठमा जानुअघि पनि चुना वा फिनेलमा टेकेर मात्रै प्रवेश गर्नुपर्छ। 

गाईलाई मानिसले पिउने पानी जस्तै सफा खुवाउन ट्यांकीबाट सीधै भाँडासम्म धारा जडान गरिएका छन्। पानी, दाना र घाँस राखेर खुवाउने सिमेन्टको लहरै खण्ड बनाइएका छन्। सबै खाना जोखेर आवश्यकताअनुसार मात्रै खुवाइन्छ। घाँस काटेर खुवाउन च्याप कटर मेसिनको प्रयोग गरिन्छ। यो सबै कोरियन सरकारले नेपाल सरकारलाई उपहारस्वरूप दिएको हो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.