स्रोत नखुलेको ३ लाख २० हजार भारतीय रुपैयाँसहित एकजना पक्राउ
झापा : झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत ठानाचौक केबुल टोल बस्ने ६२ वर्षीय जैनुल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार मेचीनगर– ६ स्थित भन्सार गेटबाट पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीमाथि शङ्का लागेर प्रहरीले चेकजाँच गर्दा भारतीय रकम ३ लाख २० हजार रुपैयाँ फेला परेको थियो ।
पक्राउ परेका उनलाई रकमसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको प्रहरीले जनाएको छ ।