सुनका असर्फी र चाँदीका सिक्काको माग अत्याधिक बढ्यो

४५ हजार थान बिक्री

सुनका असर्फी र चाँदीका सिक्काको माग अत्याधिक बढ्यो
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : तीहारमा सुनका असर्फी तथा चाँदीका सिक्का किन्ने प्रचलन बढेसँगै नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा हजारौंको भिड लाग्यो। बिहान ११ बजेदेखि बिक्री खुला गरेर ३ बजे बन्द हुनुपर्नेमा अत्याधिक ग्राहक भएकाले सेवा दिन सकस हुँदा बेलुकी ७ बजेसम्म सयौंको लाइन थियो। 

कर्मचारीलाई भ्याइनभ्याइ भयो। तीहार लक्षित गरेर गत १९ देखि २४ गतेसम्म आम सर्वसाधारणका लागि सुन चाँदीका सिक्का बिक्री खुला गरिएको थियो। यसअवधिमा सुनका असर्फी तथा चाँदीका सिक्का करीब ४५ हजार थान (सेट) हाराहारीमा बिक्री भएको टक्सार महाशाखाले जानकारी दिएको छ। 

आम सर्वसाधारणलाई प्रतिव्यक्ति बढीमा सुनका असर्फी १ सेट (१० ग्राम + ५ ग्राम + २.५ ग्राम) र चाँदीका सिक्का (मेडालियन) १ सेट (गाईअङ्गित २५ ग्राम + गाईअंकित १० ग्राम + लक्ष्मी अङ्कित १० ग्राम + गणेश अङ्कित १० ग्राम + गजलक्ष्मी अङ्कित १० ग्राम) खरीद गर्न सक्ने वयवस्था गरिएको थियो। 

सुनको असर्फी अधिकतम पुरै एक सेट पनि किन्न सकिन्थ्यो वा यसबाहेक तोकिएको आवश्यक अनुसारको न्यूनतम २.५ ग्राम पनि खरिद गर्न सकिन्थ्यो।

राष्ट्र बैंकले सूचना जारी गरेर बिक्री खुलाएको ६ दिन अवधिभर करिब ४४–४५ हजार थान हाराहारीमा बिक्री भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए। अझ एकिन तथ्यांक भने राती मात्रै आउने तर विदा भएकाले अहिले ठ्याक्कै भन्न नसकिने उनले बताए। ‘बहुमुल्य धातुको कारोबार भएकाले यसको हिसावकितामा समय लाग्छ,’ उनले अन्नपूर्णसँग भने, पछिल्लो समय आकर्षण बढ्दो छ। सुनलाई लगानीको रुपमा पनि लिन थालेकाले माग बढेको देखिन्छ। २–४ वर्ष यता सुन जोडेर सम्पत्ति बढाउने प्रवृत्ति बढेको छ। यो विश्वव्यापी रुपमा पनि बढ्दो छ।’ 

यता टक्सार महाशाखाका निर्देशक थानेश्वर सुनका असर्फी र चाँदीका सिक्काको माग गत वर्षभन्दा दोब्बर भएकोले बिक्री अत्याधिक बढेको बताउँछन्। उनका अनुसार विगतका वर्षमा सामान्यतया यसको आधा कम मात्रै बिक्री हुन्थ्यो। गत वर्षको तिहारमा मात्रै सुनको असर्फी १० र ५ ग्रामको  २५ सय –२५ सय पिस र २.५ ग्रामको अधिकतम ४ हजार पिस बिक्री भएको थियो। अहिले भने १० र ५ ग्रामको  सुनका असर्फी ४ –५ हजार थानभन्दा बढी बिक्री गएको छ। साथै २.५ ग्रामका सुनको असर्फी ५ हजार थान बराबर बिक्री भएको छ। 

यसबाहेक चाँदीको सिक्का गत वर्ष तिहारमा प्रति मेडालियन ३ हजार पिस हाराहारीमा बिक्री भएकोमा अहिले माग ह्वात्तै बढेर ७ हजार पिससम्म बिक्री भएको छ। चाँदीको सिक्का विभिन्न ४ मेडालियनमा छन्।  यसअनुसार १० ग्रामको विभिन्न चाँदीको सिक्का गाई, लक्ष्मी, गज लक्ष्मी र गणेश अंकित करिब २८ हजार पीस र २५ ग्रामको गाई अंकित चाँदीको सिक्का ३ हजार सेट बिक्री भएको छ।  

ग्राहकहरुले भने लक्ष्मी अंकित चाँदीको सिक्का टक्सारमा नभएर किन्न नपाएको गुनासो गरेका छन्। ‘४ वटा लक्ष्मी अंकित सिक्का मागेको दिनभर घण्टौं लाइन बस्दा मुस्किलले २ ओटा पाइयो। आफूसँगै आफन्तले पनि ल्याउन भनेका थिए। सबैलाई पुगेन।  तिहारको बेला विशेष लक्ष्मी अंकित सिक्का पो पूजा गर्ने होत,’ टक्सार पुगेका एक ग्राहकले भने,‘ तर यहाँ लक्ष्मीको सकियो सत्यमोहन जोशी अंकित चाँदीको सिक्का लाने भए छ भनेर प्रतिउत्तर दिए।’ 

यही गुनासोलाई लिएर टक्सार महाशाखाका निर्देशकलाई मागअनुसार पर्याप्त व्यवस्था किन भएन भन्ने अन्नपूर्णको प्रश्नमा निर्देशक आचार्यले भने, ‘ग्राहकहरुलाई पर्याप्त होस् भनेरै शुक्रबार बिहानसम्म पनि लक्ष्मी अंकित चाँदीको सिक्का प्रिन्टिङ गरेको हो। अरु भेराइटिको सिक्का जत्ति पनि छ तर लक्ष्मी, गणेश अंकित चाँदीका सिक्का भने थोरै कम भएकै हो।’ 

मागअनुसारको सिक्काको अभाव भएको स्विकार गर्दै उनले अब तिहारपछि लगत्तै छाप्ने भएकाले सर्टेज नहुने बताए। यसपाली अधिक माग भएको तर यत्तिको अनुमान नभएकाले पनि ग्राहकले चाहेअनुसार अन्तिममा नपुगेको उनको तर्क छ। 

हिन्दु धर्माबलम्बीहरुमा धनतेरसको दिन केही न  केही बहुमुल्य धातु किन्नुपर्छ प्रचलन भएकाले टक्सारमा ग्राहकहरको भिड अन्य दिनको भन्दा शुक्रबार दोब्बर देखिएको हो। यसलाई पनि ध्यानमा राखेर नेपाली संस्कृतिलाई प्रमोट गर्ने उद्देश्यले राष्ट्र बैंकले जोड दिएको हो। 

बिक्री खुला गरेको ५ दिनसम्म दैनिक करिब ५ सय ग्राहकले खरिद गरेका थिए भने शुक्रबार १ हजार भन्दा बढीको खरदिका लागि सहभागी भएको टक्सार महाशाखाका निर्देशक आचार्यले जानकारी दिए। 

ग्राहकको अधिक भीड भएकाले एउटै व्यक्तिलाई २–३ घण्टासम्म लाइन लाग्नु पर्‍यो। तर नगद ल्याउन भने धेरै समय लागेको र क्यूआर कोडबाट भुक्तानी गर्नेहरुलाई अलि छिटो भएको टक्सार महाशाखाले बताएको छ।  यद्यपी अरुबेला पनि यस्ता असर्फी र सिक्का टक्सारमा उपलब्ध हुने भएकाले कार्यालय समयमा खरिद गर्न पाइन्छ। अन्य समयमा भने यस्तो भीड हुँदैन।  

सुनको असर्फी पुरै १ सेट खरिद गर्दा करिब २ लाख रुपैयाँ हाराहारीमा पर्न जान्छ। यससँगै चाँदीको सिक्का खरीद गर्दा भने निश्चित मुल्य तोकिएको छ। चाँदीको पुरै एक सेट खरिद गर्न चाहनेलाई करिब १० हजार ४ सय रुपैयाँ हाराहारी पर्न जान्छ। यसपटक खरिद गर्दा नगद वा क्यूआर (क्विक रेस्पोन्स)कोड मार्फत पनि भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.