दुई गैंडा मारिए, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

दुई गैंडा मारिए, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?
सुन्नुहोस्

चितवन : तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जका दुइटा गैंडा मारेर खाग लगेका छन्। दसैं र तिहारको मौका छोपेर उनीहरूले गैंडा मारेका हुन्। सेनाको गस्ती टोलीले गत बिहीबार मात्रै खाल्डोको धराप बनाएर गैंडा मारिएको जानकारी पाएको हो। 

निकुञ्जको सौराहा सेक्टरअन्तर्गत सेनाको खगेन्द्रमल्ली पोस्टबाट साढे तीन किलोमिटर दक्षिणपूर्व चपरचुली क्षेत्रमा तस्करले गैंडा मार्न चारवटा खाल्डो खनेका थिए। दुइटा खाल्डोमा परेका गैंडा मारेर तस्कहरूले खाग लगेका छन्। मारिएका दुवै पोथी हुन्। जबकी एउटा १० दिनअघि र अर्को तीन दिनअघि मारिएको थाहा भएको हो। 

पछिल्लो १० महिनामा चितवन राष्ट्रिय निकुञ्जमा चारवटा गंैडा मारिएका छन्। गत वर्ष पनि तस्करले माघ ६ गते नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नारायणी किनारमा करेन्ट लगाएर मारेका थिए। २०७७/०७८ मा चारवटा गैंडाको चोरी शिकारीका कारण मृत्यु भएको थियो।  यसपटक तस्कहरूले दसैं लगत्तै खाल्डो खनेर गैंडा मार्ने योजना बनाएको सरोकारहरूको भनाइ छ।  उनीहरूले गैंडा मार्न चारवटा खाडल बनाएका थिए। दुइटा खाडलको धरापमा गैंडा पारेर खाग काटेर लग्दासमेत निकुञ्ज प्रशासन र सुरक्षा संयन्त्रले पत्तो पाएन। चारवटा खाडल खन्न आवश्यक मान्छे, बन्दोबस्तीसहित तस्करले धेरै दिनको तयारी गरेको थियो। विगतमा तस्करले गोली हानेर गैंडा मार्थे। पछिल्ला वर्ष खाडल खनेर तथा करेन्ट लगाएर गैंडा मार्न थालेका हुन्। 

निकुञ्जले सुरक्षा गस्ती भइरहेको भनेर दाबी गर्ने ठाउँ वरपर नै गैंडा मारिएका छन्। झाँडी ठूलो भएको कारण पत्ता लगाउन कठिन भएको निकुञ्ज प्रशासनले जनाएको छ। करिब सय मिटरको फरकमा तस्करले खाल्डो खनेका छन्। खाल्डोनजिकै पानीको घोल छ। गैंडाको पानी खान जाने बाटो पत्ता लगाएर खाल्डो खनिएको आशंका छ। गैंडाले खाल्डो थाहा पाउँछ भनेर खाल्डो खन्दा निस्किएको माटो पर लगेर फालिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गम्भीर घटना भएको बताउँदै सुरक्षा चुनौती बढेको बताए। ‘दुःखद घटना हो, अरू घटना हुन दिन लागी लागेका छौं। विभिन्न प्रमाण संकलन गरेर अनुसन्धानमा लागेका छौं’, उनले भने, ‘चुनौती थपिएको छ। घटना भएपछि चारैतर्फ सतर्कता बढाएका छौं।’

घटनास्थल बस्तीबाट पाँच किलोमिटरभित्र पर्छ। खाडल खन्नका लागि करिब एक साताभन्दा बढी समय लाग्छ। खाडल खन्ने, धराप बनाउने र चोरी शिकारीका लागि तस्करहरू बन्दोबस्तीसहित गएका देखिन्छन्। तयारीसहितको अवधिलाई हेर्दा निकुञ्जमा तस्कर लामो समय बसेका देखिन्छ। 

संरक्षणकर्मीहरू गैंडा मारिएको घटनाले तस्करहरू सल्बलाएको बताउँछन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वप्रमुख रामकुमार अर्यालले चोरी शिकारी नियन्त्रणको संयन्त्रलाई सक्रिय बनाउनुपर्ने बताए। ‘निकुञ्जको कोर एरियामा दुइटा खाल्डो खनेर गैंडा मारिएको घटना गम्भीर हो। यसले संरक्षणलाई ठूलो धक्का मात्रै हानेको होइन तस्करले हाम्रो सुरक्षा अवस्थालाई चुनौती दिएको छ,’ उनले भने, ‘यो ठूलो क्षति भएको छ। यो घटनाले निकुञ्जको गस्ति राम्रो भएको देखिएन।’ 

गैंडा संरक्षणको विश्वव्यापी चुनौती नै चोरी शिकारी हो। निकुञ्जको घना क्षेत्रमा गैंडा मारिनुलाई सुरक्षा रणनीति अगाडि बढाउन नसक्दा तस्करले फाइदा उठाएको संरक्षणविद्ले बताएका छन्। गैंडा विशेषज्ञ डा. नरेश सुवेदीले सरकारी संयन्त्र सुस्ताएको कारण घटना भएको बताउँछन्। 
‘चाडबाडको बेलाका कमीकमजोरीबाट तस्करले फाइदा लिएको देखिन्छ। सुरक्षा संयन्त्र टाठो नहुँदा घटना भएको देखिन्छ ’, उनले भने, ‘यत्रो तयारी र तस्करी कसरी भयो भन्ने हो। यस्तो घट्ना कुनै पनि बेला हुनसक्छ। संरक्षणको रणनीतिलाई परिमार्जन गरेर अघि बढ्नुपर्छ।’ 

गैंडाको चोरी शिकारी नियन्त्रणका लागि सरकारी संयन्त्र परिचालनमा कमजोर भएको देखिन्छ। संरक्षणका लागि एउटा नियमित र अर्को घटनापछिको सुराकी परिचालन गरिन्छ। 

संरक्षणका सुरक्षा संयन्त्र, संरक्षणका साझेदार निकायमा समन्वय हुन नसकेको कारण घटना भएको संरक्षण अधिकारीहरू बताउँछन्। ‘दुई चार दिनसम्म निकुञ्जभित्रै बसेर चारवटा खाल्डो खन्दासम्म अत्तोपत्तो नहुने भन्ने कुरा अचम्मको भयो। ढुक्क भएपछि यस्तो घटना भएको देखिन्छ’, ती अधिकारीले भने। 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष  प्रकाश ढुंगानाले निकुञ्जको कोर इलाकामा खाल्डोमा पारेर गैंडा मारिनुले सुरक्षामा थप चुनौती थपिएको बताए। ‘निकुञ्ज प्रशासन र नेपाली सेनाको तर्फबाट पनि कमीकमजोरी भएका छन्,’ उनले भने, ‘मानवीय त्रुटिहरू भएका छन् भने गम्भीर समीक्षा गरौं।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.