चिसो बढेसँगै उपल्लो मुस्ताङका विद्यालयलाई बेसीमा स्थान्तरण

चिसो बढेसँगै उपल्लो मुस्ताङका विद्यालयलाई बेसीमा स्थान्तरण
सुन्नुहोस्

जोमसोम : उपल्लो मुस्ताङमा कार्तिक महिना लागेसँगै चिसो ह्वात्तै बढेको छ। हिउँद याममा चिसो र हिमपात हुने भएकाले उपल्लो मुस्ताङको जनजिवन निकै कष्ठकर हुने गर्छ। यसैका कारण उपल्लो मुस्ताङका अधिकांश नागरिक चिसो छल्न घरमा ताल्चा मारेर बेसीमा झर्ने सदिंयौंको पूर्ख्यौली परम्परा हो।

उपल्लो मुस्ताङमा चिसो बढेपछि बालबालिकाहरुलाई सुरक्षित स्थानमा राखेर पठन/पाठन गर्न आवश्यक देखिन्छ। चिसोका कारण बालबालिकाहरुलाई रुखाघोकी लाग्ने र निमोनिया हुने सम्भावना उक्तिकै हुन्छ। उसो त स्कुल बालबालिकाका हिमपात हुँदा विद्यालयसम्म पुग्न समेत निकै कठिन पर्छ। हिउँद यामको जाडो मौसममा हुने यीनै चुनौतीहरुलाई मध्यनजर गर्दै
उपल्लो मुस्ताङमा सञ्चालित शैक्षिक संस्थाहरु घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका हुन्।

हिउँदयामको चिसो बढेसँगै यसवर्ष पनि उपल्लो मुस्ताङका सामुदायिक तथा गुम्बा स्कुलहरुलाई बेसीमा स्थान्तरण गरिएको छ । उपल्लो मुस्ताङको  लोमान्थाङ गाउँपालिकाका-३ वटा सामुदायिक स्कुल र ४ वटा बुद्धिस गुम्बा स्कुललाई पोखराका विभिन्न स्थानमा स्थान्तरण गरिएको लोमान्थाङ गाउँपालिकाका शिक्षा शाखा हेर्दै आइरहेको प्रशासन शाखाका अधिकृत विकास केशीले जानकारी दिए। उनीहरुलाई दशै—तिहारको बीचमा बेसी झारिएको उनले बताए। लोमान्थाङ गाउँपालिका अन्तर्गतको दिव्यदीप माध्यमिक विद्यालय ,झिन्झु आधारभुत विद्यालय र राष्ट्रिय आधारभुत विद्यालयका बालवालिकालाई पोखरामा स्थान्तरण गरिएको प्रशासन प्रमुख केशीको भनाई छ। यस्तै, लोमान्थाङ पालिकामा रहेका मञ्जुश्री गुम्बा, निफुक नाम्डोल गुम्बा, पाल नाम्ग्याल गुम्बा र महाकरुणा शाक्यापा गुम्बा गरी ४ वटा गुम्बा स्कुल पनि घुम्ती कक्षाका लागि तिहार अघिनै बेसी झरेका हुन्।

यसैगरी उपल्लो मुस्ताङकै अर्को लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका ८ सामुदायिक स्कुलमध्ये ७ वटा स्कुललाई पोखरामा स्थान्तरण गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। अत्यधिक चिसो बढेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका चराङ आवि चराङ, मराङ आवि मराङ, ढाक्मर आवि ढाक्मर, शालिग्राम आवि ताङ्ग्या, यारा आवि यारा , घारा आवि घारा र  जनज्योति आधारभुत विद्यालय घिलिङ गरी ७ वटा सामुदायिक विद्यालय घुम्ती कक्षा सञ्चालन गर्न बालवालिकाहरुलाई पोखरामा  झारिएको गाउँपालिकाका अध्यक्ष बिष्टले उल्लेख गरे।

मुस्ताङका घुम्ती कक्षा सञ्चालन गर्ने स्कुललाई स्थानीय तहले समेत आवश्यक रकम छुट्याउने गरेको छ। नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका गुम्बा स्कुललाई सरकारले अनुदानबापत बर्सेनि बजेट विनियोजन गर्ने गरेको छ। हिमाली छात्रवास सुविधा प्राप्त गरेका विद्यालयलाई आवासीय सुविधाका लागि बजेट प्राप्त हुने गर्छ। कक्षा १ देखि ३ सम्मका बालबालिकालाई आवासीय सुविधाका लागि स्थानीय तहले नै बजेट छुट्याउने गरेको छ। यसै सुविधाका आधारमा घुम्ती कक्षाका लागि बेसी झरेका विद्यालयले बालबालिकाको शैक्षिक पठन/पाठन र आवासीय सुविधा प्रदान गर्ने गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।

बुद्धिस गुम्बा स्कुललाई पाठ्यपुस्तक खरिद तथा शिक्षक व्यवस्थापन गराउन सरकारले रकम उपलब्ध गर्ने गरेको छ। मुस्ताङमा कुल ८ गुम्बा स्कुलले सरकारी मान्यता प्राप्त गरेका छन्। यी स्कुलले सरकारले निर्धारण गरेको ५ वटा पाठ्यक्रम समावेश गर्नुपर्ने मापदण्ड तोकिएको छ।

मुस्ताङमा ३ दर्जन बढी सामुदायिक स्कुल छन्। जसमा हिउँदयामको जाडो छल्न उपल्लो मुस्ताङका शैक्षिक संस्था बेसी झरे पनि तल्लो क्षेत्रका विद्यालयहरु पुसदेखि माघ मसान्तसम्म बन्द हुन्छन्। थासाङ र घरपझोङ गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई हिउँदे बिदा दिने गरिएको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतको जननर्मल माध्यमिक विद्यालय छुसाङ र मुक्तिनाथ आधारभुत विद्यालय झारकोट बेसी स्थान्तरण गरिएपनि अन्य विद्यालयहरुलाई पुस र माघ  हिउँदे २ महिना जाडो बिदा दिने गरिएको छ।

सरकारले देशैभरी नयाँ शैक्षिक सत्र कायम गर्न परिपत्र गरेसंगै मुस्ताङमा वार्षिक परीक्षा रोकिने निश्चित भएको छ। विगत वर्षहरुमा शैक्षिक सत्र सकेर फागुनमा नयाँ शैक्षिक सत्रको पठन/पाठन सुरु गरिन्थ्यो। अब हिमाली जिल्लाहरुमा पनि बेसीमा जस्तै चैत्र महिनामा शैक्षिक सत्र सकेर बैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुने शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले बताएको छ। यसले बेसी स्थान्तरण गरिएका बालवालिकाबाहेक तल्लो क्षेत्रका विद्यालयमा पठन/पाठन गर्ने बालबालिकाका वार्षिक परीक्षा दिन अप्ठ्यारो हुने सरोकारवालाहरुको भनाई छ।

चिसोका कारण बेसी झरेका उपल्लो मुस्ताङका  शैक्षिक संस्थाहरु चिसो घटेपछि बैशाखमा साविककै स्थानमा पठन/पाठन गरिने गरिन्छ। घुम्ती कक्षाका लागि उपल्लो मुस्ताङका कतिपय विद्यालयले पोखरामा आफ्नै शैक्षिक भवन समेत बनाइसकेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.