अझै खुलेनन् हिमाली भेगका विद्यालय
![अझै खुलेनन् हिमाली भेगका विद्यालय](https://annapurnapost.prixacdn.net/media/albums/dhawa-dolma-2-1_jc8YwA9gdu_gSg0qNMcog.jpg)
गोरखा :
‘धावा डोल्मा।’
‘१० वर्ष।’
‘कति कक्षामा पढ्छौ ?’
‘दुई कक्षामा।’
‘स्कुल कहिलेबाट खुल्छ ?’
‘खै थाहा छैन।’
‘बिदा हुने दिनमा कहिलेबाट स्कुल आऊ भनेको थियो ?’
‘खै थाहा छैन।’
‘कहिलेबाट जान्छौ त स्कुल ?’
‘थाहा छैन।’
चुमनुब्री ६ चुम्लिङकी धावा डोल्मा पढ्ने सिद्धगणेश आवासीय आधारभूत विद्यालयजस्ता दसैंंअघि विदा भएका हिमाली भेगका विद्यालय अझै खुलेका छैनन्। विद्यालय नखुल्दा विद्यार्थी गोठ तथा मेलापातका काममा व्यस्त रहेका छन्।
करिब ४० जना विद्यार्थी पढ्ने सिद्धगणेश आवासीय आधारभूत विद्यालय अब खोल्ने तयारी गरेको प्रधानाध्यापक विपिन नेपालीले जानकारी दिए। ‘म पनि जाँदै छु।बाटोमै छु। एक दुई दिनमा पुग्नेछु। अरु सरहरू पनि भोलि पर्सि निस्कने तयारीमा हुनुहुन्छ’, प्रअ नेपालीले भने, ‘छिट्टै खुल्नेछ।’ सोही वडाको सिप्चेत आधारभूत विद्यालय पनि अहिलेसम्म खुलेको छैन। छठ मनाएर भर्खर सकिएकाले आफू पनि विद्यालय जाने तयारीमा रहेको प्रधानाध्यापक उमेश यादवको भनाइ छ।
‘म र एक जना ईसीडीको मिस छौ। म पनि अब हिँड्ने तयारीमा छु। ईसीडीको मिसले स्कूल खोल्नुहुनेछ’, धनुषा घर भएका प्रअ यादवले भने। भर्ना रजिस्टरमा करिब २० जना रहे पनि दैनिक ५÷६ जना विद्यार्थी हाजिर हुने
उनले बताए।
चुम्लिङ आधारभूत विद्यालय चुम्चेत पनि अहिलेसम्म खुलेको छैन। केही दिनमा विद्यालय खुल्ने प्रधानाध्यापक काजीमान आलेले बताए। ‘काम परेकाले म अहिले घरमै छु। म छिट्टै घरबाट निस्कन्छु। ईसीडीको मिसलार्ई स्कुल खोल्न भन्छु’, लम्जुङ घर भएका उनले भने, ‘भर्ना संख्या त ११ जना छन्, तर हाजिर हुने त चार, पाँच जना नै हो।’ टोल धेरै टाढा–टाढा भएकाले एक गैरसरकारी संस्थाले यार्चोकमा अर्को कक्षा सञ्चालन गरेको उनले बताए।
गाउँको विद्यालयमा पठनपाठन नियमित नभएको भन्दै अधिकांश अभिभावकले आफ्ना छोराछोरीलार्ई वुद्ध मावि, नुब्री आधारभूत, स्याला मावि तथा काठमाडौंं र गोरखा सदरमुकामका विद्यालयमा पठाउने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)