कांग्रेसमा एकताको महसुस हुन आवश्यक छ : कोइराला

कांग्रेसमा एकताको महसुस हुन आवश्यक छ : कोइराला
मोरङको सुन्दरहरैँचामा आयोजित नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलनमा सहभागी नेताहरु। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा एकताको महसुस हुन आवश्यक रहेको बताएका छन्। पार्टीमा एकताको महसुस हुन र एक ढिका भएर अघि बढ्न आवश्यक देखिएको उनको भनाइ छ। 

मोरङको सुन्दरहरैँचामा नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलनलाई बुधबार उद्घाटन गर्दै कोइरालाले सबै एक ढिका हुन सकेमा आगामी निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नसक्ने क्षमता राख्ने बताए। उनले आगामी निर्वाचनमा कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्ने क्षमताको विकास गर्न जरुरी रहेको उल्लेख गरे। ‘सबै एक भएर पार्टीलाई अघि बढाउनुपर्छ। पार्टीभित्र एकताको महसुस हुन आवश्यक छ,’ उनले भने, ‘त्यति नभए पार्टीलाई एक्लै निर्वाचनमा जान गाह्रो हुन्छ। एक ढिका भएर चुनाव लड्दा जितलाई कसैले पनि छेक्न सक्दैन।’ 

कोइरालाले निर्वाचन लक्षित भएर गतिविधि सञ्चालन गर्न कार्यकर्ता र समर्थकलाई आग्रह गरे। अहिलेबाटै वडादेखि प्रदेश र केन्द्रसम्म एक्लै चुनाव लड्ने गरी अघि बढ्न उनको सुझाव छ। राजनीतिक दलहरुले गणतन्त्रको सबल पक्षलाई आत्मसात गर्न नसकेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे। 

सरकारले सुशासन कायम राख्न नसक्दा परिस्थिति जटिल बन्दै गएको उनको भनाइ छ। ‘हामीले जनतालाई सुशासन दिन्छौं भन्यौं। भ्रष्टाचारमुक्त समाज बनाउँछौं भन्यौं। दण्डहिनताको अन्त्य गर्छौं भन्यौं। जनताप्रति जवाफदेही र उत्तरदायी हुन्छौं भन्यौं,’ कोइरालाले भने, ‘नेपाली जनताले गणतन्त्र ल्याए। तर, केही व्यक्ति अहिलेको व्यवस्था ठीक छैन भन्दै हिँडिरहेका छन्। गणतन्त्र के का लागि ल्यायौं भन्ने कुरा जनतालाई बुझाउन सकेनौं। न त जनतासँगका प्रतिबद्धता पूरा गर्न नै गर्न सक्यौं।’ 

भ्रष्टाचारमुक्त समाज निर्माण र दण्डहिनताको अन्त्य गर्न सकेमा कांग्रेस निराश हुन नपर्ने उनको तर्क छ। काठमाडौंमा बिहीबार राखिएको विरोध कार्यक्रमलाई लिएर चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनले बताए। ‘मुलुकमा शान्तिपूर्ण आन्दोलन गर्न पाइन्छ। शान्तिपूर्ण आन्दोलन गर्ने भनेर घोषणा गरिएको छ। पक्कै पनि आन्दोलन शान्तिपूर्ण हुन्छ भन्ने विश्वास छ,’ नेता कोइरालाले भने, ‘त्यही भएकाले चिन्ता लिनुपर्ने अवस्था छैन। नैतिक शक्ति र आत्मविश्वास गुमाइसकेपछि निराशातर्फ अघि बढिन्छ। हामीले अहिल्यै निराश हुनुपर्ने अवस्था छैन।’ 

उनले पार्टीको आगामी महाधिवेशन ४ वर्षभित्र हुन आवश्यक रहेकामा जोड दिएका छन्। ‘पार्टीको १५ औं महाधिवेशन ४ वर्षभित्रमा गर्नुपर्छ। समयमा महाधिवेशन गर्ने कुरामा अटेर गर्न हुँदैन,’ कोइरालाले भने, ‘विगतमा भएका कमीकमजोरीलाई सच्याउनुपर्छ। सबै एकतावद्ध भएर निर्धारित समयभित्रै महाधिवेशन गर्नतर्फ लाग्नुपर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.