प्रहरीले चिया खुवाएर पठाएका 'वृद्ध' फेरि तीनकुने आएपछि पक्राउ


काठमाडौं : सेतो टोपी, पहेँलो रामनामी गलबन्दी, नीलो ज्याकेट लगाएका र खैरो रङका ब्याग बोकेका एक वृद्ध मानिसलाई प्रहरीले पक्राउ गरेर लाँदै गरेको देखिन्छ। दुई घन्टादेखि काम छ भन्दै तीनकुने वरिपरि उनी घुमिरहेका प्रहरी बताउँछन्।

उनलाई पक्राउ गर्दै गर्दा एक प्रहरीले भने, 'ए बुढा मान्छे कति आउँछौ यहाँ? २ घण्टादेखि यहाँ घुमेकाघुमेकै छौं त। अघि भर्खर चिया खुवाएर पठाएको होइन।'

एक प्रहरीलाई सोध्दा अन्नपूर्णकर्मीसँग भने, 'बुढालाई भर्खरै चिया खुवाएर घर जानुस् भनेर पठाएका थियौं। फेरि फर्किएछन्। अनि पक्रिएका हौं।'

 
आज दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन तीनकुने आएका उनका समर्थकमाथि प्रहरीले निगरानी बढाएको छ। तीनकुनेमा ४/५ जनाको समूह बन्ने बित्तेकै तत्काल नियन्त्रणमा लिने प्रहरीले रणनीति बनाएको छ।  

प्रशासनले तीनकुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा नगरे पनि आजको कार्यक्रमका लागी प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाललाई कार्यक्रम गर्न अनुमति प्रदान नगरेको भन्दै प्रहरी सक्रिय भएका हुन्। 

तीनकुने क्षेत्रमा अहिले पैदल यात्रा गरिरहेका सर्वसाधरण नागरिकमाथि पनि प्रहरीले सोधपुछ जारी राखेको छ। आफ्नो गन्तव्यमा हिँडेका सर्वसाधारणसमेत प्रहरीको निशानामा परेका छन्। प्रहरीसँग विवाद गर्‍यो कि उसले भ्यानमा हालिहाल्छ। 
 
अहिले तीनकुने क्षेत्रमा प्रहरीले सर्च अभियानसमेत सञ्चालन गरेको छ।  प्रहरीको कडा सुरक्षा घेरामा रहेका मेडिकल व्यवसायी प्रसाईंले बिहीबारदेखि काठमाडौंमा जारी प्रदर्शन कायम रहने बताउँदै आएका छन्। भक्तपुरको ठिमीस्थित निवासमा शुक्रबार बिहान पत्रकारहरूसँग आफ्नो आन्दोलन नरोकिने पुन दोहोर्याएका थिए।

स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबारदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेला/जम्मा हुन नदिने प्रशासनले जनाएको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबारदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेला/जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ।’ सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता रविन्द्रप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन।’

नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ,‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने ब्यहोरा अवगत गराइन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.