केपी ओली कप क्रिकेट : मधेस च्याम्पियन
पोखरा : मधेस प्रदेश पोखरामा सम्पन्न प्रथम केपी ओली टीट्वेन्टी कप क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेसले उपाधि जितेको हो।
मधेसले दिएको एक सय ३६ रनको लक्ष्य पछ्याएको विभागीय टोली आर्मीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय २४ रन मात्रै बनाउन सक्यो। राष्ट्रिय टोलीका खेलाडीको बर्चश्व रहेको आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए। यस्तै विवेक यादवले अविजित २५, भीम सार्कीले २२, सन्तोष कार्की र सोमपाल कामीले समान १६ रन बनाए। मधेसका हरिशंकर साहले चार विकेट लिए। प्रदीप पासवानले दुई तथा प्रतिक यादवले एक विकेट हात पारे।
पोखरा रंगशालामा पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनको योगफल खडा गरेको थियो। मधेसका विशाल पटेलले अविजित ४९ रनको योगदान दिए। यस्तै कप्तान हरिशंकर साहले २७, हिमांशु दत्तले १४ र विशाल सुस्लिङले १० रन बनाए।
आर्मीका विवेक यादव र साहब आलमले तीन÷तीन विकेट लिए। यस्तै सोमपाल कामी र बसिर अहमदले एक÷एक विकेट हात पारे। फाइनल खेलमा चार विकेट लिएका मधेस प्रदेशका कप्तान हरिशंकर साह म्यान अफ दी म्याच घोषित भए। प्रतियोगिताको प्लेयर अफ दी सिरिज कप्तान हरिशंकर साह नै बने। यसैगरी बेस्ट ब्याटर बागमती प्रदेशका रिद गौतम बने। उनले प्रतियोगिताभर एक सय ७० रन बनाएका थिए। बेस्ट बलर बागमती प्रदेशकै सन्दीप लामिछाने भए। उनले प्रतियोगताभर १० विकेट लिएका थिए। उपाधिसँगै मधेसले पाँच लाख रुपैयाँ पुरस्कार पायो। उपविजेता आर्मीले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।
यो सबै प्रदेशको जित हो : साह
मधेस प्रदेशका कप्तान हरिशंकर साहले मधेसको जितलाई सबै प्रदेशको जितका रुपमा लिनुपर्ने बताए। च्याम्पियन बनेर प्रदेशले विभागीय टोलीलाई पनि जित्न सक्छ भन्ने सन्देश दिएको उनले बताए। ‘यो जित सबै प्रदेशको जित हो। अबका प्रतियोगितामा अरु प्रदेशले पनि यस्तै जित निकाल्न थप हौसला मिलेको छ’, कप्तान साहले भने ।