आयकर र लाभांश कर : एकोहोरो कि दोहोरो ?
कम्पनीले सेयरधनीलाई बाँड्न मिल्ने रकमलाई नगदको रूपमा वितरण नगरी पुँजीकृत गर्दा पुँजीमा कर लागे झैं भएको छ। बोनस सेयर जारी हुने रकम कुनै पनि तरहले प्राप्त सेयर प्रिमियम हो। सेयर प्रिमियम पुँजीसरहको रकम भएकाले यस्ता रकमबाट पूर्ण चुक्ता मूल्य भएको सेयर जारी हुने हुँदा पुँजीमा कर लागे सरह हुन्छ। यसलाई अविलम्ब रोक्नुपर्छ।
कम्पनीले आयकर तिरेर कमाएको खुद नाफामा लाभांश कर लिनु दोहोरो कर भयो भन्ने आवाज बेलाबेलामा उठ्ने गर्छ। खासगरी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीका सेयरधनीले यस्तो गुनासो गरेको देखिन्छ। कम्पनीमा सेयरधनीले हालेको पैसाबाट कम्पनीले नाफा आर्जन गरी उक्त आर्जनको तोकिएको आयकर तिरेर सेयरधनीलाई नाफाको रूपमा बाँकी रहेको रकम लाभांश वितरण गरेको हुँदा यसमा लाभांश कर लिनुहुन्न भन्ने मत देखिन्छ।
व्यावहारिक रूपभन्दा यस्तो करको सैद्धान्तिक पक्ष बुझ्नुपर्ने हुन्छ। यसलाई बुझ्नको लागि कम्पनी र सेयरधनी तथा आय र लाभांशलाई छुट्टाछुट्टै बुझ्नुपर्ने हुन्छ।
के हुन् कम्पनी र सेयरधनी ?
कम्पनी कानुनद्वारा जन्माइएको व्यक्ति हो। यो अविछिन्न उत्तराधिकारवाला र छुट्टै छाप हुन्छ। व्यक्तिजस्तै यसको स्थायी निवास पनि हुन्छ। यसको स्थायी निवास यसको रजिस्टर्ड कार्यालय रहेको देश हो। व्यक्तिले नागरिकता नं. भए जस्तै कम्पनीको दर्ता नं. हुन्छ। कम्पनीको पुँजी हुन्छ र यस्तो पुँजीलाई विभिन्न अंशमा विभाजन गरिन्छ। विभाजन कतिमा गर्ने भन्ने कुरा कम्पनीको अधिकार हो। नेपालमा भने प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ हुने कानुनी व्यवस्था गरेको छ। भारतमा १ भारुमा समेत गर्न पाइने व्यवस्था छ। त्यस्तो पुँजीलाई सेयर वा अंश भनिन्छ। यस्तो अंश वा सेयर धारण गर्ने व्यक्ति सेयरधनी हुन्छन्।
कम्पनीको पुँजी भनेको सेयरधनीले लिन कबुल गरेको विभाजित अंश हो। सेयरधनीले लिएको रकम कम्पनीले दीर्घकालीन दायित्वको रूपमा लेखांकन गर्छ। कम्पनी एउटा व्यक्ति भएको हुँदा सेयरधनीसँग छुट्टै सम्झौता गर्न सक्छ। कम्पनी एउटा व्यक्ति बनिसकेको हुँदा कम्पनीको आम्दानी एउटा व्यक्तिको आम्दानीसरह हुन्छ। कम्पनीले तोकेको आयकर तिर्छ।
कम्पनी र सेयरधनी फरकफरक अस्तित्वयुक्त व्यक्ति भएको हुँदा कम्पनीले गरेको आर्जनलाई सेयरधनीले गरेको आर्जन मानिँदैन। यसरी कम्पनी एउटा व्यक्तिसरहको हुने कुरालाई आधुनिक विधिशास्त्रले मात्र हैन, शास्त्रीय कालदेखि प्रचलनमा रहेको कुरो नारद स्मृतिबाट बुझिन्छ। शास्त्रीयकालमा अहिलेको कम्पनी स्वरूपको व्यवसायको स्वरूपलाई ‘सम्भुयसमुत्थान’ भनिन्थ्यो।
कम्पनी र सेयरधनी अलगअलग हुन् भन्ने कुरा आधुनिक विधिशास्त्रमा मात्र हैन शास्त्रीय विधिशास्त्रमा पनि भेटिन्छ। कम्पनी स्वरूपको व्यवसाय ढाँचाको परिकल्पना देवर्षी नारदले गरेको शास्त्रीय प्रमाण भेटिन्छ। देवर्षी नारदले नारदस्मृतिमा ‘वणिकप्रभृतयो यत्र कर्म सम्भूय कुर्वते। ततसम्भुयसमुत्थानं व्यवहारपदं स्मृतम्।।’ अर्थात् व्यक्तिहरू एकसाथ मिलेर व्यापार, व्यवसाय गर्छन् भने यस्तो व्यावसायिक गतिविधिलाई ‘सम्भुयसमुत्थान’ भनिन्छ। यसको अर्थ सहकारिता वा साझेदारी हो। कम्पनीमा पनि साझेदारी वा सहकारिताकै स्वरूप हुन्छ। फरक–फरक पृष्ठभूमिका व्यक्तिले कम्पनीको विभाजित अंश सेयरमा आ–आफ्नो गच्छेअनुसारको रकम लगानी गरेर एक प्रकारको सहकारिता र साझेदारी गर्छन्। यसको मूल उद्देश्य ‘फलाहेतोरूपायन कर्म सम्भुय कुर्वताम्’ अर्थात् लाभ आर्जन हो। कसले कति लाभ पाउँछन् भन्ने विषयमा ‘आधारभूतः प्रक्षेपस्तेनोत्तिष्ठेयुरंशतः’ अर्थात् जसको जति लगानी छ सोही आधार हुन्छ।
कम्पनीको लेखामा पुँजी, सञ्चिति, प्रिमियम र विभिन्न नामका जगेडा आदिलाई सम्पत्ति वा दायित्वको रूपमा नदेखाई इक्विटी अर्थात् सेयरधनीको कोषको रूपमा देखाइन्छ। यस्ता रकम कम्पनीको दायित्व भए पनि यसलाई दायित्वअन्तर्गत लेखांकन गरिन्न। यसो गर्नुको कारण यस्ता दायित्व दीर्घकालीन प्रकृतिको भएको र कम्पनी स्वेच्छिक वा अनिवार्य खारेजीमा गएमा कम्पनीको दायित्व फस्र्योट गरेर बाँकी रहेमा सेयरधनीले धारण गरेको अंशको अनुपातमा फिर्ता हुन्छ। दायित्व भुक्तान गर्दा कम्पनीको सम्पत्तिले नपुगेमा सेयरधनीसँग नपुग रकम माग गरिन्न यिसलाई सेयरधनीको सीमित दायित्व भनिन्छ। कम्पनीको स्वतन्त्र अस्तित्व र सेयरधनीको सीमित दायित्वसम्बन्धी सिद्धान्तको प्रतिपादन सालोमनविरुद्ध सालोमन एन्ड कम्पनी लिमिटेडको मुद्दाबाट स्थापित भएको हो।
आय र लाभांश कर
कम्पनी पनि व्यक्ति भएकोले यसले पनि आम्दानी गर्छ। व्यक्ति र कम्पनी दुवैले राज्यले निर्धारण गरेको विभिन्न कर तिर्नुपर्छ। कम्पनी र व्यक्तिको दुवैको आ–आफ्नो कर दर्ता प्रमाणपत्र हुन्छ। प्राइभेट फर्म हेर्दा संस्था जस्तो देखिए पनि फर्मको कर दर्ता नं. हुन्न। व्यक्तिकै कर दर्ताबाट चल्छ। व्यक्तिले गर्ने आम्दानीअनुसार आयकर तिर्नुपर्छ। कम्पनीले आफ्नो प्रबन्धपत्रमा लेखिएबमोजिमको उद्देश्यअनुसारको कार्य गरी जति पनि नाफा आर्जन गर्न सक्छ।
यसरी आर्जित नाफामा राज्यले तोकेको आयकर तिर्नुपर्छ। अगाडि नै भनियो कम्पनी पनि एक व्यक्ति हो। व्यक्ति भए पनि यसको ज्ञानेन्द्रिय र कर्मेन्द्रिय नहुने हुँदा यसले आर्जित नाफा रकम व्यक्तिले जस्तो आफ्ना दैनिक उपभोग्य वा विलासिताको सरसामान किन्नमा खर्च गर्दैन। कम्पनीले गरेको नाफामा सेयरधनीको हक लाग्ने गर्छ। सेयरधनी कम्पनीभन्दा अलग्गै हुन् भन्ने कुरा पनि बुझियो। यसो हुँदा सेयरधनीले कम्पनीको आयकर तिरेर बाँकी रहेको वितरणयोग्य नाफा रकम सबै वा आंशिक आफ्नो लगानी हिस्साअनुसार समानुपातिक रूपमा बाँडेर लिन्छन्। यसलाई लाभांश भनिन्छ।
कम्पनीले आर्जेको वितरणयोग्य नाफा सेयरधनीलाई हरेक वर्ष बाँड्नैपर्छ भन्ने पनि छैन। बाँडे पनि सबै बाँड्नैपर्छ भन्ने पनि छैन। सेयरधनीले कम्पनीले आर्जन गरेको नाफा रकम बाँड्दा प्रचलित कानुनले तोकेको ५ प्रतिशत लाभांश कर तिर्नुपर्छ। कम्पनी र व्यक्ति दुवैले आम्दानी र लाभांश प्राप्त गर्छन्। दुवैले प्राप्त गर्ने आम्दानीमा आयकर र लाभांशमा लाभांश कर तिर्छन्। सुन्दा र पढ्दा दुवै उस्तै उस्तै छ तर, प्राप्त गर्ने तरिका भने फरक छ। समग्रमा आय र लाभांश दुवै आम्दानी हो। व्यक्तिको हकमा आयको सीमा हुन्छ। तर, सबैको हकमा यस्तो हुँदैन। सीमाभन्दा बढी आय वा आम्दानी गरेमा थप आयकर लाग्छ। आम्दानीभित्र लाभांश पर्छ। आयमा लाभांश रकम कटाएर आयकर तिर्नुपर्छ। यसो हुनुको कारण लाभांश कर अन्तिम हुनु हो।
एकोहोरो कि दोहोरो
सतही रूपमा हेर्दा आय र लाभांश कर लिनु दोहोरो हो जस्तो लाग्छ। तर, यसको सैद्धान्तिक पृष्ठभूमिबाट हेर्दा भने यो अलग–अलग हो। राज्यको आयको अन्य स्रोत प्रशस्त छ भने लाभांश कर नलिन पनि सक्छ। सुरुको ‘कम्पनी र सेयरधनी’ भन्ने उपशीर्षकबाट कम्पनी र सेयरधनीको अस्तित्व अलग–अलग हुन्छ भन्ने कुरालाई स्थापित गरिएको हुँदा यो दोहोरो कर हैन, एकोहोरो हो भन्ने बुझ्न सकिन्छ। यसले आय र लाभांश करलाई एकोहोरो कर हो भन्ने निष्कर्षमा पु¥याउँछ। बरु कम्पनीले जारी गर्ने बोनस सेयरमा लाभांश कर लिनु न्यायोचित छैन।
कम्पनीले सेयरधनीलाई बाँड्न मिल्ने रकमलाई नगदको रूपमा वितरण नगरी पुँजीकृत गर्दा पुँजीमा कर लागे झैं भएको छ। यस्तो कार्यको बारेमा खासै कुरो उठेको पाइन्न। त्यस्तै बोनस सेयर जारी हुने रकम कुनै पनि तरहले प्राप्त सेयर प्रिमियम हो। सेयर प्रिमियम पुँजीसरहको रकम हो। यस्ता रकमबाट पूर्ण चुक्ता मूल्य भएको सेयर जारी हुने हुँदा पुँजीमा कर लागे सरह हो। यसलाई भने अविलम्ब रोक्नुपर्छ।
आय र लाभांश दोहोरो कर भनिरहँदा कम्पनीकै कारण दोहोरो कर तिरिएको पाटो भने ओझेलमा परिरहेको छ। कम्पनीले कम्पनीमा लगानी गर्न सक्छन् र गरिरहेका छन्। यस्ता लगानी गरिएका कम्पनीबाट लगानी गर्ने कम्पनीले पाएको लाभांशमा लाभांश कर तिरिसकिएको हुन्छ। यस्तो अवस्थामा लगानी गर्ने कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांशमा पुनः ५ प्रतिशत लाभांश कर लिइरहेका छन्। यो चाहिँ दोहोरो कर हो। यस्तो दोहोरो कर कानुन वा सरकारको कारण नभएर कम्पनीकै कारण दोहोरो कर बनिरहेको छ।
सजिलोसँग उदाहरणसहित बुझ्नको लागि मानौं ‘क’ कम्पनीले ‘ख’ कम्पनीमा लगानी गरेको छ र ‘ख’ कम्पनीले वितरण गर्ने लाभांशमा लाग्ने ५ प्रतिशत लाभांश कर कटाएर ‘क’ कम्पनीलाई उपलब्ध गराउँछ। यसरी ‘क’ कम्पनीले प्राप्त गरेको लाभांशलाई ‘क’ कम्पनीले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्दा पुनः ५ प्रतिशत लाभांश कर लाग्दैन। ‘क’ कम्पनीको वितरणयोग्य नाफा रकम उसको चुक्ता पुँजीको ५ प्रतिशत रहेछ र ‘ख’ कम्पनीबाट आएको लाभांश रकमबाट ५ प्रतिशतबराबर रहेछ भने अब ‘क’ कम्पनीले वितरण गर्न लागेको कुल लाभांश १० प्रतिशतमा सबैमा ५ प्रतिशत लाभांश कर लाग्दैन।
लाभांश प्राप्त गर्दा तिरिसकिएको रकममा लाभांश कर नलिई बाँकी रकममा मात्र ५ प्रतिशत लाभांश कर लिनुपर्छ। तर, यस्तो अवस्थामा पनि कम्पनीले पूरै लाभांश कर लिने गरेका छन्। यसो हुनुको कारण चाहिँ कम्पनीले लेखांकनमा अल्छी गर्नु हो। यसलाई कम्पनीले मनन् गरी दोहोरो कर लाग्नबाट रोक्नुपर्छ।
(दाहाल, कर्पोरेट र धितोपत्र कानुनका अध्येता-अधिवक्ता हुन्।)