राष्ट्रिय बीमा संस्थान बन्यो ‘कम्पनी’
![राष्ट्रिय बीमा संस्थान बन्यो ‘कम्पनी’](https://annapurnapost.prixacdn.net/media/albums/bima-5ab08332021591.47413993_XRKmC4A4lZ_XVpRHMBY9b.jpg)
काठमाडौं : राष्ट्रिय बीमा संस्थान कम्पनीमा रूपान्तरण हुने भएको छ। नेपाल बीमा प्राधिकरणले संस्थानलाई कम्पनीमा रूपान्तरण हुन स्वीकृति दिएको छ।
यसका लागि प्राधिकरणले ६ वटा सर्त राखेको छ। २०७९ असोज २३ देखि बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७९ कार्यान्वयन आएसँगै बीमा संस्थान अनिवार्य रूपमा कम्पनीमा जानुपर्ने बाध्यता सिर्जना भएको थियो।
नयाँ कानुनले राष्ट्रिय बीमा संस्थान ऐन खारेज गरेर राष्ट्रिय बीमा संस्थानलाई एक वर्षभित्र कम्पनीमा रूपान्तरण गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गरेको थियो। कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले संस्थानलाई कम्पनीमा रूपान्तरण गर्ने निर्णय गरेअनुसार प्राधिकरणले १८ गते कम्पनीमा परिणत गर्ने पूर्वस्वीकृति दिएको छ।
त्यसकै आधारमा राष्ट्रिय बीमा संस्थान कम्पनी रजिस्ट्रारको कार्यालयबाट बुधबार कम्पनीमा रूपान्तरण हुँदैछ। संस्थानको नाम ‘राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड’ हुनेछ। प्राधिकरणले कम्पनीमा दर्ता भएर जीवन बीमकका रूपमा दर्ता गरी प्रमाणपत्र पाउँ भनी प्राधिकरणमा निवेदन दिएका आधारमा संस्थानलाई जीवन बीमा कम्पनीको प्रमाणपत्र दिइएको हो।
प्राधिकरणको सर्तअनुसार रूपान्तरित कम्पनीले १ वर्षभित्र चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्नेछ भने यसअघिको सम्पत्ति दायित्वको बिमांकी मूल्यांकन गराइ ६ महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ। यता संस्थानका आर्थिक वर्ष २०६८/६९ पछिको लेखापरीक्षण स्वीकृत हुन बाँकी छ।
प्राधिकरणले नयाँ कम्पनीलाई कम्पनीमा रूपान्तरण हुन अगाडिको आर्थिक वर्षको वित्तीय विवरणको लेखापरीक्षण गराई त्यसको प्रतिवेदन ६ महिनाभित्र बीमा प्राधिकरणमा पेश गर्न पनि निर्देशन दिएको छ।
‘प्राधिकरणबाट अनुमति प्राप्त गरेको मितिले १ वर्ष भित्र बीमा ऐन, २०७९ को दफा ३६ तथा बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ को खण्ड (क) बमोजिम निर्धारण गरेको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ तथा ऐनको दफा ४४ बमोजिमको सेयर संरचना कायम गरी सोको विवरण प्राधिकरणमा पेश गर्ने,’ प्राधिकरणले तोकेको शर्तमा भनिएको छ।
ऐनको दफा ४४ मा बीमकले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्याउनुपर्ने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)