त्रिभुवन विमानस्थल हुँदै रोकिएन सुन तस्करी

त्रिभुवन विमानस्थल हुँदै रोकिएन सुन तस्करी

बरामद भएको १४ किलो सुनको शुद्धता चेकजाँचका लागि भन्सार विभाग पठाइएको छ, घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन भएको छ।

काठमाडौं : तस्करहरूले नेपालमा सुन भित्र्याउन अनेक जुक्ति लगाउँछन् भन्ने उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समय–समयमा पक्राउ परेका घटनाले देखाउँछन्। ग्रामदेखि किलो हुँदै क्विन्टलसम्मका सुन विमानस्थलबाट छिराउने प्रयास गरेका धेरै गिरोह र सुन पक्राउ पनि परे। तर, रोकिएन तस्करी। आखिर किन ? प्रहरी अधिकारी यसको उत्तर पनि समयअनुसार फरक–फरक दिन्छन्।

कुनै समय भन्छन्, ‘अन्य मुलुकमा सुन तस्करी गर्न।’ र, कहिले भन्छन्, ‘नेपालमा महँगो भएर।’ पछिल्लो साता पक्राउ परेको सुन भने नेपालमा विवाहको मौसममा महँगो भएर भन्ने केहीको भनाइ पनि छ। कारण– ‘सुन पसलमा छापा मारेर र व्यापारीकै संलग्नतामा केही किलो भित्र्याएको प्रहरीले फेला पारेको छ।’

बिहीबार राति यूएईबाट आएका एक नेपाली नागरिकको जिउमै १४ किलोग्राम सुन बरामद भयो। तर उनले ल्याएको पहेँलो धातु सुन भए, नभएको परीक्षण हुन बाँकी नै छ। विमानस्थलस्थित भन्सार कार्यालयका अधिकारीहरूले दुबईबाट सुन आउँदै गरेको सुराकीका आधारमा एक दिनअघिबाटै विमानस्थलमा निगरानी गरिएको दाबी गरेका छन्। उनीहरू भन्छन्, ‘हाम्रो प्रयास सफल भयो।’

विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट १० किलो सुन आउँदैछ भन्ने सूचना पाएर निगरानी गर्दा सो परिमाणमा सुन बरामद भएको दाबी गरे। विदेशबाट नेपाल आएका सम्भावित सबै उडान र यात्रुहरूमाथि निगरानी बढाएपछि पाएको नतिजाले सूचना सही भएको पुष्टि भएको उनी बताउँछन्। उनका अनुसार सुन कहिले आउँदै छ भन्ने स्पष्ट सूचना नभए पनि सुन ल्याउने व्यक्तिको हुलिया र सुन आउन लागेको बारे सूचना आएको थियो। सुन निगरानीका लागि विमानस्थल भन्सार प्रमुख पाण्डे आफैं खटिएका थिए। बिहीबार राति ११.४० मा दुबईबाट आएको फ्लाई दुबईको उडान नम्वर ५७३ बाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भयो। दिएको सूचना र हुलिया घलेसँग मिल्यो। पाण्डे भन्छन्, ‘घलेले ज्याकेटको गोजी र जुत्तामा बिस्कुट आकारको सुन लुकाएर ल्याएका थिए। 

गोरखाका घलेलाई नियन्त्रणमा लिएपछि उनले उक्त सुन गोरखाकै मीनबहादुर घलेको हो भनेर बताएका थिए। सोही आधारमा मीनबहादुर घलेलाई समेत पक्राउ गरिएको छ।’ उनका अनुसार मीनबहादुर घले सुनचाँदी खरिद बिक्री गर्ने व्यवसायमा संलग्न व्यक्ति हुन्। विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बरामद भएको १४ किलो सुन लिन चन्द्र घले भिजिट भिसामा दुबई गएको खुलेको छ। 

उनले मीनबहादुरको योजनामा काम गरेको हुन सक्ने प्रहरीको अनुमान छ। डीआईजी चन्द भन्छन्, ‘उनी विमानबाट ओर्लनेबित्तिकै हामीले वाक थ्रुबाट एक्सरेमा ल्याएर चेकजाँच गरेका थियौं। सर्टभित्र ज्याकेटजस्तो झोला बनाएर सात वटा बिस्कुटमा दुई किलोको दरले १४ किलो सुन ल्याएका रहेछन्। केही सुन जुत्तामा पनि लुकाएका थिए। उनीहरूको फोन पनि निगरानीमा लिएर अनुसन्धान भइरहेको छ।’

एक्सरे मेसिनमा चेकजाँच गर्दा जसरी पनि सुन डिटेक्ट हुने नै थियो। तर, यदि उनले अरूसँग भेट्ने वा केही समय बिताउन पाएको भए सुन हराउने सम्भावना पनि भएको भन्सार प्रमुख पाण्डे बताउँछन्। उनका अनुसार अघिल्लो दिन पनि दुबईबाट आएको केही विमान र यात्रुको अनुसन्धान गरिएको थियो।

६ सदस्यीय छानबिन समिति गठन

बरामद भएको १४ किलो सुनको शुद्धता चेकजाँचका लागि भन्सार विभाग पठाइएको छ। यो घटनाको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन भएको छ। छानबिन समितिको संयोजकमा भन्सार कार्यालयका अधिकृत मनिराम पौडेल, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेका छन्। उनीहरूले घटनाको छानबिन गरेर पाँच दिनभित्र प्रतिवेदन बुझाउनेछन्। 

नेपालमा राष्ट्र बैंकले तोकेका वाणिज्य बैंकहरूले सरकारले निर्धारण गरेको कोटाअनुसारको परिमाणमा मात्रै सुन आयात गर्न पाउँछन्। त्यसका लागि पनि दैनिक १० किलोग्रामको सीमा तोकिएको छ। यसै कारणले पनि नेपालमा सुनको तस्करी बढेको केहीले बताउँछन्। दुबईमा सुनको मूल्य प्रतितोला नेपालको भन्दा १७ हजार रुपैयाँ सस्तो छ। 

सुनको मूल्य उच्च भइरहँदा र छिमेकी देश भारतमा यसको माग धेरै भएका कारण पनि नेपालमा तस्करी भएर आउने सुन खुला सिमाना भएको भारततर्फ लगिँदै आएको छ। गत साउनमा मोटरसाइकलको उपकरणका नाममा हङकङबाट भित्र्याइएको ६० किलो सुन बरामद भएको थियो। त्यसअघि पनि भेपमा राखेर ल्याइएको ठूलो मात्रामा सुन बरामद भएको थियो।

दुई किलो सुन बरामद

यस्तै, बिहीबार राति साढे ९ बजे काठमाडौंको नागढुंगा नाकाबाट पनि दुई किलो सुन बरामद भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार रसुवाबाट काठमाडौं आउँदै गरेको स्कार्पियो गाडीमा उक्त सुन भेटिएको थियो। चन्द्रागिरि–२ नागढुंगा चेकपोस्टमा सुरक्षा चेकजाँच गर्दा रसुवाको केरुङ नाका हुँदै भन्सार छली गरेको अवैध सुन बरामद भएको हो। 

सुनसँगै पक्राउ पर्नेमा रसुवाका विरु तामाङ, ग्यालछिरिङ तामाङ, र सुनील भुजेल रहेका छन्। उनीहरूलाई संगठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ। प्रवक्ता रेग्मी भन्छन्, ‘रसुवाबाट भन्सार छलीको सुन आउँदैछ भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो। उक्त गाडीलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा, गियर बक्समा सुनको बिस्कुट भेटिएको थियो। 

पाण्डे पनि पक्राउ

गत मंगलबार न्युरोडमा सञ्चालित ‘ओम पर्ल गोल्ड प्रालि’ र  ‘कैलाश ज्वेलर्स प्रालि’ का सञ्चालक पदमप्रसाद पाण्डे पनि पक्राउ परेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका–७ का पदमप्रसाद पाण्डेलाई अवैध सुन तथा हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

उनको साथबाट प्रहरीले ७.८ किलो अवैध सुन र ४१ सय डलर पनि बरामद गरेको छ। उनलाई नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा म्याद थप गरी जिल्ला प्रहरी परिसर टेकुमा अनुसन्धान भइरहेको छ। उनले दुबई र चीनबाट भन्सार छलेर सुन ल्याएको आरोप छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.