काठमाडौं : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे परेको रिटको सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ। यसअघि तीन दिन लगातार हेर्न नभ्याइने सूचिमा परेको सो रिटमाथि सुनुवाइका लागि आज न्यायाधीश सुवेदीको इजलासमा पेशी तोकिएको हो।
यसअघि मंसिर २४ गते न्यायाधीश कुमार रेग्मी, २५ गते न्यायाधीश विनोश शर्मा, २६ गते न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको थियो। तर, तीनैदिन 'हेर्न नभ्याइने' सूचीमा राखिएको थियो।
प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका थिए। रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरिएको छ।
नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा गरिएको सेयर कारोबारको वैधानिकता उत्प्रेषणको आदेशले बदर गर्न समेत रिटमा माग गरिएको छ।
आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको छ।
एनसेल कम्पनीको सेयरबिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख गर्दै रिटमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको जिकिर गरिएको छ। मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वनजिक भएपछि विवाद सुरू भएको छ।
प्रतिक्रिया दिनुहोस !