जहाँ अभिभावकले अनुगमन गर्छन्

जहाँ अभिभावकले अनुगमन गर्छन्
सुन्नुहोस्

धनकुटा : सामान्यतया छोराछोरीलाई आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापन गरेर समयमै विद्यालय पठाउनुलाई अभिभावकले आफ्नो कर्तव्य पूरा भएको ठान्छन्। तर, धनकुटाको साँगुरीगढीका अभिभावक भने यतिमै सीमित छैनन्। उनीहरूले विद्यालय शिक्षा र विद्यार्थीको उज्ज्वल भविष्यका लागि आफंै विद्यालयमा खट्न थालेका छन्। विद्यालय खुल्ने दिन १० बजेदेखि ४ बजेसम्म विद्यालयमै बसेर अनुगमन गर्छन्। विद्यार्थीको शैक्षिकस्तर सुधार्न धनकुटाको साँगुरीगढी–२ बुढिमोरङस्थित श्री रामनवमी माध्यमिक विद्यालयका अभिभावकहरूले दैनिक तालिका नै बनाएर नियमित अनुगमन गरिरहेका छन्। 

शैक्षिक सुधारका लागि गरिएको यो अभ्यासले सकारात्मक परिवर्तन ल्याउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रम्हध्वज लिम्बूले बताए। उनका अनुसार हरेक दिन एकजना अभिभावक विद्यालय अवधिभर बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्यालयमा बस्ने गरेका छन्। नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन हुने उक्त विद्यालयमा ३ सयभन्दा बढी विद्यार्थी छन्। विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको अगुवाईमा सुरु भएको अनुगमनका लागि कार्यतालिका समेत बनाइएको छ। 

कुन दिन को अभिभावक आउने भनेर कार्यतालिका बनाइएको छ। उक्त कार्यतालिका अनुसार अभिभावकहरू खट्ने गरेका छन्। जिम्मेवारी तोकिएको अभिभावक आफ्नो छोराछोरीसँगै विद्यालय पुग्छन्। विद्यालय प्रवेश गर्नेबित्तिकै छोराछोरी कक्षा कोठा छिर्छन् भने अभिभावक समितिले दिएको जिम्मेवारीअनुसार खटिन्छन्। 

अनुगमनमा खटिने अभिभावकले विद्यालय समयभित्र शिक्षक तथा विद्यार्थी आएका छन् कि छैनन् भनेर हाजिरी पुस्तिका हेर्छन्। त्यसपछि शिक्षक ताथ विद्यार्थीले विद्यालय पोसाक लगाएका छन् कि छैनन् ? कति विद्यार्थी अनुपस्थित छन् ? अनुपस्थित हुनुको कारण के हो भनेर बुझने, कक्षा सञ्चालन भइरहेको छ कि छैन ? कक्षा कोठाभित्रका समस्या के–के हुन भनेर टिपोट गर्ने गर्छन्। अनुपस्थित हुने शिक्षकलाई फोन गर्ने काम पनि अभिभावकले गर्छन्। यस्तै कुनै विद्यार्थी अनुपस्थित छन् भने अभिभावकलाई फोन गरेर विद्यालय के कारणले नपाएको हो ? भनी चासो राख्छन्। विद्यार्थी र शिक्षकका समस्या सुनेर हरेक महिना बस्ने समितिको बैठकमा प्रतिवेदन पेस गर्ने गरिएको अभिभावक शनिता राईले बताइन्। यो कार्य गर्दा आफ्नो छोराछोरीको हेरचाहसहित उनीहरूको पढाइमा समेत सुधार भएको उनी बताउँछन्। 

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका २६ जना अभिभावकले हरेक दिन तालिका बनाएर अनुगमन गरिरहेका छन्। समितिमा नरहेका अभिभावकले पनि चासो दिएर अनुगमनमा खट्न थालेको विद्यालय व्यवस्थापन समितिका सदस्य रमेश इवाहाङले बताए। विद्यालयमा शैक्षिक सामग्री छ कि छैन ? विद्यालयले खुवाउने दिवा खाजा गुणस्तरीय छ कि छैन ? भनेर पनि अभिभावकले जानकारी लिने गरेका छन। यस्तै अनुपस्थित भएका विद्यार्थीको बारेमा जानकारी लिँदै घरसम्म पुग्ने गरिएको पनि इवाहाङले बताए।  

गत चैतमा गठन भएका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको नयाँ नेतृत्वको पहिलो वैठकले नै विद्यालयको शैक्षिकस्तर अपेक्षाकृत नभएको निष्कर्ष निकाल्दै शैक्षिक सुधारलाई मूल एजेन्डा बनाएको इवाहाङले बताए। अनुगमनमा आउने अभिभावकको लागि विद्यालय व्यवस्थापन समितिको कार्यालयमा वस्ने व्यवस्था गरिएको छ। अभिभावकको अनुगमनका कारण पहिलो त्रैमासिक परीक्षाको नजिता सुधार भएको उनको भनाइ छ।  

अभिभावकको अनुगमनपछि विद्यार्थीको उपस्थिति पनि बढेको छ। विद्यार्थी पनि अनुशासित बन्दै गएका छन्। समयमै उपस्थिति हुने, र कक्षाकोठा भरिभराउ हुन थालेका छन। कमजोर विद्यार्थीलाई कोचिङ कक्षाको व्यवस्था पनि गरिएको छ। 

हरेक दिन अभिभावक आएर विद्यालयमा बस्दा खुसी लागेको कक्षा १० मा अध्ययनरत विद्यार्थी अमन राईले बताए। शिक्षकलाई सुनाउन अप्ठ्यारो लाग्ने कतिपय समस्या अभिभावकलाई सुनाउन सहज भएको पनि उनले बताए। कोचिङ कक्षा, कक्षाकोठाको भौतिक संरचना लगायत समस्या सुनाउँदा समाधान भएको उनी बताउँछन्। पहिले पहिले कुनै ‘पिरियड’ खाली भए विद्यार्थीहरू विद्यालय प्राङ्गणभन्दा बाहिर गएर बस्थे भने हाल कक्षा कोठाभित्र पढेर बस्न थालेका छन्। अभिभावकले प्राङ्गणभन्दा बाहिर जान नदिने उनको भनाइ छ। 

अभिभावकहरूले गरेको शैक्षिक सुधारको अभियानलाई शिक्षकहरूले पनि सहयोग गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक गीता चेम्जोङले बताइन्। उनका अनुसार शिक्षकको कतिपय समस्या अभिभावकहरूले समितिमार्फत पूरा गरिदिएका छन्। अभिभावक विद्यालयमा आउनुनै ठूलो उपलब्धि हो तर विद्यालय अवधिभर नै बसेर छोराछोरीको पढाइप्रति चासो राख्नुले शैक्षिक गुणस्तर सुधारका लागि धेरै प्रभाव पर्ने उनको भनाइ छ। यो अभियानले शिक्षकलाई समेत उत्प्रेरित गराएको उनको भनाइ छ। साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई रामनवमी विद्यालयमा भइरहेको अभ्यास अनुकरणीय भएको बताउँछन्। उनी भन्छन्, ‘विव्यस समितिको यो अभ्यासले शैक्षिक सुधार हुने विश्वास छ। यहाँ सफल भएको खण्डमा पालिकाका अन्य विद्यालयमा पनि अभियान चलाउन सहयोग गर्ने उनी बताउँछन्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.