राम–सीताको भव्य विवाह

राम–सीताको भव्य विवाह

त्रेतायुगमा रामसीताको स्वयम्बर हुँदा देवी देउताले स्वर्गबाट पुष्पवृष्टि गरेको सम्झनालाई साकार रुप दिन स्वयम्बरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो।

जनकपुरधाम : राम र सीताबीचको अटुट प्रेम र आदर्श विवाहलाई मिथिला नगरी जनकपुरधाममा फेरि एक पटक जीवन्त पारिएको छ। आदर्श जोडीको वैवाहिक सम्बन्धले नेपाल र भारतबीच सांस्कृतिक तथा धार्मिक सम्बन्ध प्रगाढ बनाउने मात्र नभई आदर्श विवाहको महŒवलाई पनि उजागर गर्छ। जसको साक्षी लाखौं श्रद्धालु भक्तजन बन्ने गरेका छन्। जानकी मन्दिरमा राजा जनकको भूमिकामा रहेका महन्थ रामतपेश्वर दासले छोरी सीताको कन्यादान गरेका थिए भने भगवान् रामलाई ज्वाइँ पाएपछि सिंगो मिथिला नगरी धन्य भएको थियो। 

विवाहपूर्व ऐतिहासिक रंगभूमि (बाह्रबिघा) मैदानमा राम–सीताबीच स्वयम्बर समारोह चलिरहँदा हेलिकोप्टरबाट पुष्पवर्षा गराइएको थियो। त्रेतायुगमा रामसीताको स्वयम्बर हुँदा देवीदेवताले स्वर्गबाट पुष्पवृष्टि गरेका थिए। सोही सम्झनालाई साकार रूप दिन स्वयम्बर कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिँदै आएको छ। विगत पाँच सय वर्षपहिले गाँसिएको राम–सीताबीचको सम्बन्ध अहिलेका पुस्ताका लागि पनि आदर्श बनेको छ। 

‘यस कार्यक्रमले वैवाहिक मर्यादा सिकाउँछ। विवाहपश्चात् पति–पत्नीबीच हुने समर्पण र आदर्शको पाठ सिकाउँछ र यसले मानव कल्याणको बाटो देखाउँछ’, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल भन्छन्, ‘वर्तमान युगमा जहाँ विवाहको परम्परामा विभिन्न किसिमका विकृतिहरूले प्रवेश गरेका छन्। एकअर्काप्रतिको सम्मानमा कमी आउँदा दाम्पत्य जीवन धराशायी हुने गरेको छ। तर, राम–सीताबीचको अगाध प्रेमले जीवनमा जस्तोसुकै समस्या आए पनि त्यसमा निदानको बाटो देखाउँछ।’

मिथिलामा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवका विधि विधानहरूले वैवाहिक मौलिकतालाई जीवन्तता दिने गरेको मधेस प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. रामभरोष कापडी ‘भ्रमर’ बताउँछन्। ‘विवाह कुनै दुई व्यक्तिबीच मात्र नभई दुई परिवार र दुई कुलबीच गाँसिने सम्बन्ध हो। रामसीता विवाह पञ्चमीमा गरिने वैवाहिक विधिविधानहरूले यसलाई प्रस्ट गर्छ’, भ्रमर भन्छन्, ‘यस विवाहमा गाइने लोकगीत र खानपानले मैथिली सभ्यतालाई उजागर गरेको हुन्छ।’ सीताको विवाहका लागि जानकी मन्दिरमा एक साता अघिदेखि नै उत्सव सुरु हुन्छ। हरेक विधिका आफ्नै लोकगीतहरू हुन्छन्।  

छोरी वैवाहिक बन्धनमा बाँधिनुअघि लोकगीत ‘सम्मर’ गाउने गरिन्छ। यस गीतमा छोरीको लालनपालन र उसको सुखद वैवाहिक जीवनको कामना गरिन्छ। विवाहको दिन भगवान् रामको जन्ती जनक दरबार आउँदा मिथिलानीहरूले ‘परिछन’ गीत गाउँछन्। 
परिछन चलियौ सखी
सुन्दर जमैया हे सोहावन लागे, 
वर छथी लक्ष्मण, राम हे सोहावन लागे !

विवाह गर्न आएको केटा शारीरिक र मानसिक रूपमा ठीक छ छैन, त्यसको परीक्षण परिवारका महिलाले गर्छन्। त्यसैलाई जनबोलीमा ‘परिछन’ भनिन्छ। त्यसपछि ‘ओठंगर’को गीत गाइन्छ।  ‘बटगवनी’, ‘चुमान’, ‘तिरहुत’ र ‘डहकन’जस्ता लोकगीतहरूले वैवाहिक उत्सवको माहोललाई थप रौनकता प्रदान गर्छ।

विवाह सम्पन्न भएपछि अन्तिम दिन सौजन विधि गरिन्छ। यसलाई साधुसन्तहरूले ‘रामकलेवा’ विधि पनि भन्छन्। यस विधिमा अयोध्याबाट जन्ती बनेर आएका साधुसन्तहरूलाई जानकी मन्दिरमा ‘छपन्न व्यञ्जन’ खुवाएर कोसेली दिई बिदा गरिन्छ। भोजका परिकारहरू विशेष हुन्छन्। मैथिली परम्परागत खानपान यस भोजमा भेटिन्छ। बासमती चामलको भात, रहरको दाल, शुद्ध घिउ, थरीथरीका तरकारी, तरुवा, कढिबरीले थाल भरिभराउ हुन्छन्। जन्तीलाई खुवाउने अवसर पनि निकै विशेष हुन्छ। मिथिलानीहरूले यस अवसरमा डहकन र जेवनार गाएर जन्तीहरूको मनोरञ्जन गर्छन्। 

‘हामी प्रत्येक वर्ष यी परम्परा र विधिविधानलाई दोहोर्‍याउने गर्छौं । यसले आम जनसमुदायलाई परम्परा संरक्षणको सन्देश पनि दिन्छ’, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास वैष्णव भन्छन्, ‘जस्तोसुकै आधुनिकता आए पनि विवाहको मौलिकतालाई यस उत्सवले बचाएर राखेको छ।’ 
आजु जनकपुर मंगल हे, चारु दिस मंगल हे !
जानकीके होइछैं विवाह, जनकपुर मंगल हे !!

मैथिली परम्परानुसार हुने विवाहमा गाइने गीत हो यो। यो गीत रामजानकी विवाहपञ्चमीमा जनकपुरधाममा गुञ्जिरहेको छ। सप्ताहव्यापी विवाहपञ्चमीले सम्पूर्ण नेपालको परिचय बोक्छ। यसले नेपाल–भारत सम्बन्धको सेतुको प्रतीकका रूपमा चिनाउँछ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा यतिखेर स्वागत र मंगल गानसहितका गीतहरू अहिले घरघरमा गुञ्जिइरहेका छन्। 

मिथिला संस्कृतिको प्रमुख पर्व मानिने यो उत्सवमा सहभागी हुन प्रत्येक वर्ष नेपाल र भारतका हजारौं भक्तजन र तीर्थालुहरू जनकपुरधाम आउँछन्। राजा जनकद्वारा धनुष भाँच्ने प्रस्ताव राख्नु, धनुष भाँच्नेसँग सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा सीतासँग स्वयम्वर गर्नु आदि स्मृतिमा सीताराम विवाह महोत्सव मनाइने चलन परापूर्वकालदेखि नै जनकपुरधाममा चलिआएको छ। सीतालाई छोरी र बहिनीका रूपमा मान्ने मिथिलावासी उत्सवमा अनिवार्य सहभागी हुन्छन्।null

विवाह पञ्चमीमा देवीदेवताको उपस्थिति हुने विश्वासका साथ उत्सवमा उपस्थित भएकाहरू जन्तीको आगमनदेखि विवाह नटुंगिएसम्म नै सामेल हुन्छन्। महोत्सवमा मिथिला संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयम्बर आदि गरिने चलन रहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताए।  

विवाहपञ्चमी महोत्सव फूलबारी प्रसंगबाट सुरु भई, स्वयम्बरसम्मको आयोजनापछि देवीविवाह महोत्सवका रूपमा रूपान्तरण  हुंँदै आएको छ। विवाह महोत्सवका अवसरमा जानकी मन्दिर, राममन्दिर, अग्निकुण्ड, बिहारकुण्डलगायतका दर्जनौं मठ मन्दिरहरूबाट निस्कने डोला शोभायात्रामा देशका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय गाउँबाट आएका श्रद्धालुहरू पनि सहभागी भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.