म्याग्दीको रघुगंगा र धवलागिरीमा राष्ट्रपति रनिङ शिल्ड
बेनी : म्याग्दीको दुईवटा स्थानीय तहमा सोमबारदेखि अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।
रघुगंगा गाउँपालिका–५ झिँ र धवलागिरी गाउँपालिका–७ शिवाङमा सुरु भएको प्रतियोगिताको फरक फरक समारोहका बीच प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गरे।
तीन दिनसम्म सञ्चालन हुने दुवै ठाउँको प्रतियोगितामा ११/११ वटा विद्यालयले सहभागिता जनाएका छन्। भलिबल र एथलेटिक्स विधाका १३/१३ वटा खेलमा विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुनेछ।
विजेता विद्यालयलाई राष्ट्रपति रनिङ शिल्डसहित ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए। दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद ३० हजार र २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले प्रतियोगितामा प्रथम हुने विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड, मेडल र प्रमाणपत्र सहित ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए। द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।
छात्र र छात्रा भलिबलमा विजयी हुनेलाई ५/५ हजार रुपैयाँ र मार्च पासमा उत्कृष्ट हुनेलाई १० हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ। सहभागी विद्यालयलाई सहभागी खेल र संख्याका आधारमा यातायात र सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।