कपिलवस्तुबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
कपिलवस्तु : लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन्। वाणगंगा नगरपालिका- २ गोवडिहवाको एक घरबाट ६ जनालाई ७ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका इन्चार्ज प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।
यसरी पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका - २ का २३ वर्षीय मुक्तिप्रसाद खनाल, कपिलवस्तुकै बुद्धभूमि नगरपालिका - २ का २६ वर्षीय विवेक थापा मगर, रुपन्देहीका सैनामैना नगरपालिका - ९ का १८ वर्षीय मनोज दर्जी, सोही स्थानका १८ वर्षीय समीर परियार रहेका छन् ।
यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका-२ बस्ने २८ वर्षीय विनोद परियार र सोही स्थानका ३३ वर्षीय विष्णु श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये केही लागुऔषध कारोवारी, केही सेवनकर्ता र केही विभिन्न स्थानमा चोरी डकैती गर्ने गिरोहमा संलग्न हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।
पक्राउ परेकालाई जिल्ला अदालतको आदेशमा प्रहरीले ५ दिन थुनामा राखी थप अनुसन्धान सुरु गरेको छ । उनीहरुको साथबाट बरामद भएको दुईवटा मोटरसाइकल, ३ लाख ४९ हजार २ सय ५५ रुपैयाँ नगद, सुन जस्तो देखिने धातुका गरगहनालगायतका सामग्री बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस !