पर्सा ११ विरुद्ध आर्मीको सानदार जित
![पर्सा ११ विरुद्ध आर्मीको सानदार जित](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_JXeV3FBSpY_kqSGEhO8OI.jpg)
वीरगन्ज : कुशल मल्लको सानदार अर्धशतकको मदतमा नेपाल आर्मी क्लबले प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेटमा पर्सा ११ लाई ६६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
वीरगन्जको नारायणी रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको आइतबार भएको खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको पर्सा ११ लाई आर्मीले ६६ रनले हराएको हो।
१५९ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पर्सा ११ ले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९३ रनमात्र बनाएपछि जीत आर्मीको पोल्टामा गएको हो। पर्सा ११ का लागि कप्तान लामिछानेले ३५ बलमा ३२ रन बनाए पनि आफ्नो टिमको हार टार्न सकेनन्। यस्तै इमरान शेखले २३ बलमा १८ रन,रुपेश सिंहले ८ बलमा १४ रन र हासिम अन्सारीले ११ बलमा १३ रन बनाए।
बलिङतर्फ आर्मीका साहब आलम र बसिर आलमले समान तीन तीन तीन विकेट लिए। साहबले चार ओभरमा १६ रन खर्चिए भने बसिरले चार ओभरमा ११ रनमात्र दिए। कुशल मल्लले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो। आर्मीका लागि कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ६३ रन बनाए। विनोद भण्डारीले १६ बलमा २६ रन र विवेक यादवले ७ बलमा ११ रन बनाए।
पर्सा ११ का तर्फबाट कप्तान सन्दीप लामिछानेले चार ओभरमा २५ रन दिएर एक विकेट लिए भने रुपेश सिंहले तीन ओभरमा २४ रन दिएर १ विकेट लिए। रन्जित कुमारले दुई ओभरमा २४ रन दिदै १ विकेट र पवन सरार्फले चार ओभरमा १७ दिएर १ विकेट लिए।उक्त खेलको म्यान अफ दी म्याच आर्मीका कुशल मल्ल घोषित भए।
जारी प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जीत हो भने पर्सा ११ को पहिलो हार हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)