घुँडामुनि सुन्निएर अस्पताल भर्ना भएकी महिलाको मृत्यु, मनमोहनमा तनावग्रस्त
![घुँडामुनि सुन्निएर अस्पताल भर्ना भएकी महिलाको मृत्यु, मनमोहनमा तनावग्रस्त](https://annapurnapost.prixacdn.net/media/albums/hospital_CjqTm8ozfx_h2HTbYoYHP.jpg)
झापा : झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल परिसर तनावग्रस्त बनेको छ । उपचाररत एक महिला बिरामीको मृत्यु भएपछि बिरामी पक्षका आफन्तहरूले सोमबार साँझदेखि नै अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।
उनीहरूले उपचारका संलग्न चिकित्सकमाथि कारबाहीको माग गरिरहेका छन् । अस्पताल हुने सम्भावित तोडफोडको घटनालाई लक्षित गरी ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
अस्पतालको लापरबाहीले बिर्तामोड नगरपालिका– ९ निवासी अन्दाजी ३४ वर्षीया नर्वदा बाँस्कोटाको मृत्यु भएको परिवारजनको आरोप लगाएका छन्। घुँडामुनि सुन्निएर नर्वदालाई सोमबार बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बेलुका साढे ५ बजे मृत्यु भएको थियो ।
बिरामीको मृत्युको कारण अस्पताल प्रशासनले सार्वजनिक गरेको छैन । लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए । मनमोहनले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँदा अन्यत्र लैजान नसकेको उनको आरोप छ ।
अहिले अस्पतालको घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनिमा दुवै पक्षबीच छलफल चलिरहेको मृतकका मामा ओझाले बताए । मृतकका श्रीमान्, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)