म्याग्दीमा ६ वटा मोटरेबल पुल निर्माण
![म्याग्दीमा ६ वटा मोटरेबल पुल निर्माण](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_xGO4XJdC0d_LiUeyKFViZ.jpg)
बेनी : म्याग्दीमा आठ महिनाको अवधिमा ६ वटा नयाँ सडक पुल निर्माण भएको छ। थप एक वटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ। ग्रामिण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि साधन आवतजावतमा सहज भएको छ। संघीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीनवटा पुल निर्माण भएका हुन्।
यस वर्ष दुईवटा मोटरेबल पुल निर्माण सुरु गरेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले थप दुईवटा पुलको ठेक्का लगाउने तयारी गरेको छ।
सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ र ६ को सिमाना घारखोलामा २५ मिटर लामो मोटर चल्ने पुल निर्माण भएको छ।
पोखरेबगरदेखि नेपाने हुदै पाउद्वार जोड्ने सडक अन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि फेवा–बिएम जेभी पोखरासँग २०७६ माघ १७ गते भ्याटसहित दुई करोड ८१ लाख ७८ हजार ६४६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
सडक विभागको पुल महाशाखाले राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत रघुगंगा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम पुल निर्माण गरेको छ।
बिओकेआई/हिमालयन जेभीले भ्याट सहित आठ करोड ३० लाख ६८ लाख ४७३ मा २०७८ असार २९ गते सम्झौता गरेको यो पुल लक्ष्यभन्दा छ महिना अघिनै सम्पन्न भएको छ।
सडक डिभिजन कार्यालय बाग्लुङले बेनी नगरपालिका–४ फापरखेत र मंगला गाउँपालिका–३ बरंजाको पखेर जोड्ने ११७ मिटर र मंगला गाउँपालिका–२ माटेबगर र वडा नं. ५ पोक जोड्ने ८० मिटर लामो दुई वटा मोटरेबल पुल बनाएको छ।
म्याग्दी नदीमाथि बनेका दुई वटै पुल निर्माणका लागि २०७५ पुषमा लुम्विनी–प्राकृतिक जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच २२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पुल बनेपछि जिल्लाको मुख्य बेनी–दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरंजा र अर्मन सिधा सडक सञ्जालमा जोडिएका मङ्गला गाउँपालिकाका–३ का वडा अध्यक्ष याम रोकाले बताए।
पूर्वाधार विकास कार्यालय मार्फत मालिका गाउँपालिका–१ र ६ को सिमानास्थित छ्यारछ्यारेको म्याग्दी नदीमा ४० मिटर लामो स्टिल ट्रस्ट प्रविधिको मोटरेबल पुल निर्माण भएको छ। सो पुल निर्माणका लागि प्रदीप जुम्ली जेभीसँग २०७७ साउन ४ गते चार करोड ४५ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
मालिका र धवलागिरी गाउँपालिकाको सिमाना अर्गलास्थित मराङ खोलामा २५ मिटर लामो पक्कि मोटरेबल पुल निर्माण भएको छ। पुल निर्माणका लागि २०७६ फागुन २९ गते फेवा सावित्री जेभी पोखराले दुई करोड ७२ लाख ९४ हजार ५६९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–७ भारवाङघाट स्थित म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ। यो पुल निर्माणका लागि २०७६ असारमा देव एण्ड सायर बिएन जेभीले ६ करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो।
मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारास्थित रितुङ खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण सुरु भएको छ। असोज अन्तिम साता चार करोड १० लाख ८३ हजारमा ठेक्का सम्झौता गरेको बिएम कोण्डा जेभीले पुलको फाउण्डेशन खन्न सुरु गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए।
उनका अनुसार मंगला गाउँपालिका–३ र बेनी नगरपालिका–४ को सिमाना अर्चेखोलामा २५ मिटर लामो मोटरेबल पुल बनाउन असोज अन्तिम साता तीन करोड ४१ लाख १६ हजारमा ठेक्का सम्झौता गरेको प्रमान सारस जेभी कार्यस्थलमा परिचालन हुने तयारीमा छ।
धवलागिरी गाउँपालिका–२ को दरखोला र मालिका गाउँपालिका–७ शिवरात्री खोलामा पनि मोटरेबल पुल निर्माणको तयारी भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)