ठेकेदारको लापरवाहीले योजना अधुरै ,नौ वर्षसम्म बनेन पुल
![ठेकेदारको लापरवाहीले योजना अधुरै ,नौ वर्षसम्म बनेन पुल](https://annapurnapost.prixacdn.net/media/albums/pool_ZcFlkaIoDv_Y3JPaMJpmg.jpg)
समयमै पुल निर्माण नहुँदा पुलका खम्बा चर्किसकेका छन् । बनाइएका संरचनाहरु पनि सुनकोशी खोलाले कटान गरी क्षति पुर्याएको छ । पुलका खम्बा चर्किसकेको र त्यसलाई पुनर्निर्माण गरी काम अगाडि बढाउन ठेकेदार पक्षलाई पटकपटक निर्देशन गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने सुनकोशी खोलाको पक्की पुल ठेकेदारका लापरवाहीका कारण अधुरै रहेको छ । ९ वर्षअघि ठेक्का भएर काम सुरु भएको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरिएको थियो ।
निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि छ वर्षअघि बन्नुपर्ने सुनकोशी पुल नौ वर्ष वितिसक्दासमेत सम्पन्न नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका स्थानीयले पटक पटक विरोध गर्दै आएको बाह्रबिसे धुस्कुन पिस्कर सुनकोशी पुल निर्माण सरोकार समितिका संयोजक माधव भण्डारीले बताए ।
पुल निर्माणको ढिलाइले त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गतका स्थानीय बासिन्दा हिउँद र वर्षायाममा आवतजावतमा अवरोध खेप्नु परिरहेको उनको भनाइ छ ।
समय सीमामा पुल निर्माण नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका स्थानीयले २०७७ फागुन ९ गते पुलमा धर्ना दिइ विरोध जनाएका थिए । सो समयमा प्रभावित क्षेत्रका सयौं स्थानीयले पुलमा भेला भएर ठेकेदार निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पुल निर्माण गर्नका लागि दबाब दिएका थिए ।
पुल निर्माणको काममा सरकारका तर्फबाट र ठेकेदार पक्षबाट भएको लापरबाही, स्थानीय तहको उदासीनताबिरुद्ध स्थानीयले विरोध गरिरहेको भण्डारीले बताए । पुल निर्माणको ढिलाइले त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गतका स्थानीय बासिन्दा हिउँद र वर्षायाममा आवतजावतमा अवरोध खेप्नु परिरहेको उनको भनाइ छ । ‘हामीले स्थानीय सरकार, सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीलाई थुप्रैपटक ध्यानाकर्षण गराइसकेका छौं’, भण्डारीले भने, ‘तर पनि पुल बन्न सकेको छैन ।’
निर्माण सम्पन्न गर्ने अन्तिम समयसीमाको ६ महिना अवधि सकिदासम्म पनि पुल निर्माण सुरु हुन सकेको छैन ।
सो पुलको २०७२ सालबाट निर्माण सुरु भएको थियो । पुल २०७५ मा नै तयार हुनुपर्ने सम्झौता थियो तर, ठेकेदारले निर्माण कार्यमा ढिलाइ र लापरवाही गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका थिए । विसं २०६९ मा तत्कालीन सरकारले रातो किताबमा सुनकोशीमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा बताउँछन् । स्थानीयले तुरुन्तै योजना सक्नुपर्नेमा जोड दिँदै आएका छन् । तर पनि पुल निर्माण कार्यले भने गति लिन सकेको छैन ।
पुल निर्माण सुचारु गर्न २०८० जेठ ३ गते प्रतिनिधि सभा सदस्य माधव सापकोटा, त्रिपूरा सुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा, सडक डिभिजन कार्यालयल चरिकोटका डिभिजन प्रमुख अर्जुन सुवाल, इन्जिनियर सुभाष कुमार दत्त र ठेकेदार कम्पनीका पञ्चराम तामाङ र स्थानीयसहितको छलफलले असार मसान्तसम्म पुल निर्माण सक्ने निर्णय गरेको थियो ।
दोस्रो पटक पुनः निर्माण भएको पुल हालको काममा पनि गुणस्तरहीन र कमसल भएको स्थानीयको गुनासो छ।
छलफलमा ठेकेदार कम्पनीको बील भरपाई बमोजिम ४० प्रतिशत भुक्तानी भएको र थप २० प्रतिशत रकम अविलम्ब भुक्तानी गरी असार मसान्तसम्म पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने निर्णय भएको थियो । निर्माण सम्पन्न गर्ने अन्तिम समयसीमाको ६ महिना अवधि सकिदासम्म पनि पुल निर्माण सुरु हुन सकेको छैन ।
यता ठेकेदार कम्पनीले स्थानीय सरकारले सहजिकरण नगर्दा पुल सम्पन्न गर्न नसकिएको जनाएको छ । ‘स्ल्याप ढलान हाल्न मात्र बाँकी छ । अरु काम सम्पन्न भईसकेको छ तर स्थानीय सरकारले पुल निर्माणमा सहजिकरण नगरेका कारण सम्पन्न हुन सकेको छैन’,ठेकेदार कम्पनी हिम्दुङ एण्ड थोकर लामा जेभीका पञ्चराम तामाङले भने, ‘स्थानीय अवरोधकै कारण पुल निर्माण अगाढी बढ्न सकेको छैन । स्थानीय सरकारले सहजिकरण गर्न हामीले भनिरहेका छौं ।’ काम सुचारु हुन सके एक महिना भित्रै पुल निर्माण सम्पन्न भइसक्ने उनले जनाए ।
समयमै पुल निर्माण नहुँदा पुलका खम्बा चर्किसकेका छन् । बनाइएका संरचनाहरु पनि सुनकोशी खोलाले कटान गरी क्षति पुर्याएको छ । पुलका खम्बा चर्किसकेको र त्यसलाई पुनर्निर्माण गरी काम अगाडि बढाउन ठेकेदार पक्षलाई पटकपटक निर्देशन गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
यो पुलसँगै निर्माण सुरु गरिएका अरू पुल निर्माण सम्पन्न भएर यातायातका साधन सञ्चालनमा आइसकेका छन् तर सो पुल निर्माण काम आधा पनि सकिएको छैन । दोस्रो पटक पुनः निर्माण भएको पुल हालको काममा पनि गुणस्तरहीन र कमसल भएको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)