बुक बिल्डिङ अभ्यास सफल हुँदै
दोस्रो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले आईपीओ पुस २५ देखि आवेदन दिन पाउने
काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओमा पुस २५ देखि आवेदन दिन पाइने भएको छ। बुक बिल्डिङमार्फत जारी भएको आईपीओमा हालका लागि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउने भएका हुन्।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा जानेका लागि २ लाख ६७ हजार छुट्ट्याएको छ। आईपीओमा प्रतिकित्ता २ सय ६० रुपैयाँ ९० पैसाका दरले न्यूनतम ५० कित्ता सेयर माग गर्नुपर्नेछ। यसअघि योग्य संस्थागत लगानीकर्ताले दिएको आवेदनका आधारमा उनीहरूका लागि कट अफ मूल्य ४ सय १ रुपैयाँ कायम भएको थियो। सो मूल्यको १० प्रतिशत कम मूल्यमा सर्वसाधारणले आवेदन दिन पाउने भएका हुन्।
स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई आईपीओ जारी गरिसकेपछि सर्वसाधारणका लागि खुला हुनेछ। कम्पनीका अनुसार कम्पनीको उद्योग प्रभावित क्षेत्र भन्नाले नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ हुन्। ती वडाका स्थानीय बासिन्दाले आईपीओ आवेदन दिन सक्नेछन्। यसैगरी रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने पनि स्थानीय बासिन्दा हुन्।
आईपीओमा अधिकतम १० हजार कित्तासम्म सेयर माग गर्न पाइनेछ। उद्योग प्रभावित क्षेत्रका स्थानीयवासीले माघ १० गतेसम्म आवेदन दिन पाउनेछन् जुन अवधिमा सबै सेयर सब्स्क्राइब नभएको स्थितिमा आवेदन अवधि माघ २५ गतेसम्म लम्ब्याइनेछ। यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १० गतेभित्र आवेदन दिनु पर्नेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल हो भने सह–निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल र प्रभु क्यापिटल हुन्।
उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सन्राइज बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै, खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दाले पाल्पाको ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सन्राइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिने बताइएको छ।
सर्वोत्तमलाई इक्रा नेपालले वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउने ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले समयमा नै सुरक्षित रूपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझाउँछ। सर्वोत्तमको नवलपरासी सुनवलमा अवस्थित उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ। उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ। उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ।
बुक बिल्डिङमार्फत जारी भएको पहिलो आईपीओ खरिद गर्न सर्वसाधारणले कम्तीमा १८ हजार रुपैयाँ जोहो गर्नु पर्नेछ। १ हजार रुपैयाँमा १० कित्ता पाउने गरेकामा यो विशेष प्रक्रियामार्फत जारी सर्वोत्तमको आईपीओका लागि १८ गुणा बढी रकम चाहिने भएको हो। कानुनी व्यवस्थाअनुसार आईपीओ खुल्दा अहिले सर्वसाधारणले न्यूनतम १० कित्ता सेयर माग गर्न पाउँछन्। तर, बुक बिल्डिङमार्फत जारी हुने आईपीओमा भने कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्छ।
पहिलो बुक बिल्डिङको आईपीओमा योग्य संस्थागत लगानीकर्ताका लागि ‘कट अफ प्राइस’ प्रतिकित्ता ४ सय १ रुपैयाँ तय भएपछि सर्वसाधारणले आईपीओ किन्न १० प्रतिशत कम अर्थात् ३ सय ६० रुपैयाँ ९० पैसा तिर्नुपर्ने भएको हो। यसको अर्थ आईपीओ पर्ने सर्वसाधारणले १८ हजार ४५ रुपैयाँ तिर्नुपर्ने हुन्छ। आवेदन दिने अवधिमा यति ब्यालेन्स कायम नभए आवेदन रद्द हुनेछ। यति ब्यालेन्स भए बाँडफाँट गर्ने अवधिसम्म रकम रोक्का हुनेछ।
यसअघि इतिहासकै पहिलो बुक बिल्डिङमार्फत जारी गरिएको प्रारम्भिक सार्वजनिक निष्कासनमा ४१ योग्य आवेदकले ३६ लाख कित्ता सेयर माग गरेका थिए। कम्पनीले योग्य संस्थागत आवेदकका लागि २४ लाख कित्ता सेयर निष्कासन गरेकामा ४१ कम्पनीले ३६ लाख १९ हजार १ सय ९० कित्ता सेयर माग गरेका छन्। योग्य संस्थागत लगानीकर्ताका लागि ४ सय १ रुपैयाँदेखि ६ सय १ रुपैयाँ ५० पैसाको रेन्ज दिएको थियो।
सर्वोत्तमले बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न गत वर्षको असार २८ गते बोर्डमा निवेदन दिएको थियो। सर्वाेत्तम सिमेन्टले सुरुमा प्रतिकित्ता ५ सय १ देखि ७ सय ५१ रुपैयाँ १० पैसासम्ममा बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने अनुमति मागेकोमा पछि संशोधन भएर प्रतिकित्ता ४ सय १ देखि ६ सय १ रुपैयाँ ५० पैसाको रेन्ज पाएको थियो।
योग्य संस्थागत लगानीकर्तार्ला मंसिर ६ देखि १० गतेसम्म बोलकबोल पेस गरेका थिए। सर्वोत्तमले जारी गर्ने ६० लाख कित्ता आईपीओमध्ये ४० प्रतिशतका लागि योग्य संस्थागत आवेदकले प्रतिस्पर्धा गरेका हुन् भने बाँकी ६० प्रतिशत सर्वसाधारणलाई छुट्ट्याइएको छ। सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको १२.९०३ प्रतिशत ६० करोड रुपैयाँबराबर आईपीओ जारी गर्दै छ। स्थानीयवासी, वैदेशिक रोजगारीमा जाने र कर्मचारीलाई बिक्री गरिसकेपछि बाँकी रहेको सेयर र २५ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
प्रतिक्रिया दिनुहोस !