नागढुंगा सुरुङ मार्ग आज उद्घाटन, मन्त्री लम्सालले भने : हराएको शिलालेख पुनर्स्थापना गर्छौं
काठमाडौं : नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्साल र जाइकाका अध्यक्ष डा. तानाका अकिहिले संयुक्त रूपमा आज उद्घाटन गरेका हुन्।
२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। यद्यपी शिल्यान्याश गर्नेक्रममा ओलीको नाम लेखिएको शिलालेख हटाइएको भन्दै आलोचना भएको छ। सोही विषयलाई लिएर उद्घाटन कार्यक्रममा पूर्वाधार विकासमन्त्री लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनर्स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री लम्सालले भने ‘हराएको शिलालेख खोजेर पुनर्स्थापना गर्छौं।’ उद्घाटनपछि सुरुङमा मन्त्री लम्सालले गाडी चलाएका छन्।
जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताए । उनले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गरे।प्रारम्भिक सम्झौताअनुसार ४२ महिनामा निर्माण सम्पन्न हुनुपर्ने भएपनि कोभिड–१९, मुआब्जा विवादलगायतका कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो।
सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण र सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ। सुरुङमार्ग निर्माणमा जापान सरकारको रु २१ अर्बबराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु छ अर्ब बराबरको लगानी रहेको छ।
सुरुङमा पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई प्रवेश गर्न दिइने छ। यो सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल र डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीसाधन भने गुड्न नदिने भएको छ। सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ।
आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङमार्ग छन्। मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धारकार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ। सुरुङमार्गको निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो।
प्रतिक्रिया दिनुहोस !