काठमाडौं : नेपालको पहिलो आधुनिक सुरुङमार्गको रूपमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक समुद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ। सोमबार आयोजित एक भव्य समारोहका बीच नेपाल औपचारिक रूपमा ‘सुरुङ युग’मा प्रवेश गरेको हो।
नागढुंगा सुरुङमार्गको उद्घाटनसँगै अब अन्य जलविद्युत्, सिँचाइ तथा सडक पूर्वाधारका सुरुङ परियोजनाहरूले पनि गति लिने अपेक्षा गरिएको छ। हाल सिद्धबाबा सुरुङमार्ग निर्माणको अन्तिम चरणमा छ भने काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा ७ वटा सुरुङ बनिरहेका छन्। साथै, देशका विभिन्न स्थानमा अन्य थुप्रै सुरुङमार्गहरूको अध्ययन भइरहेको छ।
सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानी राजदूत माएदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको र सुरुङमार्ग निर्माणमा संलग्न ६३ वर्षीय पूर्ण जोशीले संयुक्त रूपमा गरेका छन्। जोशीले उद्घाटनको रिबन काटेकी थिइन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिक ४ गते यो सुरुङमार्गको शिलान्यास गरेका थिए। शिलान्यासका क्रममा नै ओलीले विकास निर्माणको नयाँ युग प्रवेश गरेको बताएका थिए। यो मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर रहेको छ।
करिब २४ अर्ब रुपैयाँ कुल लागतमा निर्माण भएको यो सुरुङमार्ग शिलान्यास भएको सात वर्षपछि सञ्चालनमा आएको हो। शिलान्यास हुँदा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि कोभिड–१९ को महामारी, मुआब्जा विवादलगायतका समस्याले समयमै काम सम्पन्न हुन सकेको थिएन। त्यसपछि पटक–पटक म्याद थपिएको थियो। यसअघि २०८० साउन २२ मा सुरुङको आपत्कालीन (रेस्क्यु) टनेलको ‘ब्रेक थ्रु’ गरिएको थियो।
उद्घाटन समारोहमा पूर्वाधार विकासमन्त्री लम्सालले मञ्चबाट भाषण भने गरेनन्।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताए। पूर्वाधार विकास सचिव सिग्देलले राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्य भएमा नेपालले महत्त्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्न सक्ने दाबी गरे।
सचिव सिग्देलले नेपालमा सुरुङ पूर्वाधार विकासको यो सुरुआत मात्र भएको बताउँदै आगामी दिनमा यस्ता परियोजनाहरू थप विस्तार हुने जानकारी दिए। सुरुङ निर्माणमार्फत नेपाली प्राविधिक जनशक्तिले हिमाली भू–भागमा सुरुङ निर्माणसम्बन्धी अनुभव हासिल गरेको र यसले भविष्यमा देशभर सञ्चालन हुने अन्य सुरुङ तथा पूर्वाधार परियोजनामा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।
सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनले सिस्नेखोला–बलम्बुबीचको यात्रा समय अब केही मिनेटमा सीमित गरिदिएको बताए। उनले भने, ‘यसले सिस्नेखोला र बलम्बुबीचको यात्रा समयलाई आधा घण्टाभन्दा बढीबाट घटाएर केही मिनेटमा सीमित गरिदिएको छ। साथै, यसले घुम्तीहरू र पहिरोको जोखिम भएका भित्ताहरूको खतरालाई हटाएको छ, जसका कारण पुस्ताौंदेखि यात्रुहरूले सास्ती सहनुपरेको थियो।’
सचिव सिग्देलका अनुसार नागढुंगा पास लामो समयदेखि काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारका रूपमा परिचित भए पनि राष्ट्रिय सडक सञ्जालको सबैभन्दा बढी जाम हुने र जोखिमपूर्ण खण्डमध्ये एक हो। सुरुङ निर्माणका क्रममा नेपाली र जापानी इन्जिनियरहरूले भूगर्भीय जटिलता, कोभिड–१९ महामारी तथा हिमाली भू–संरचनासम्बन्धी चुनौतीका बीच संयुक्त रूपमा काम गरेर परियोजना सफलतापूर्वक सम्पन्न गरेको उनले बताए। ‘कठिन भौगोलिक अवस्था हुँदाहुँदै पनि राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भए नेपालले महत्त्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्न सक्छ,’ उनले भने, ‘यो पहिलो सुरुङ हो, तर अन्तिम भने होइन।’
२१.२ अर्ब जापानी सहयोग
उद्घाटन समारोहमा नेपालका लागि जापानी राजदूत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापानमैत्री सम्बन्धको कसिलो कडी भएको बताए। नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठकै वर्ष यो सुरुङमार्गको उद्घाटन हुनुले थप विशेष महत्त्व राखेको उनको भनाइ छ।
माएदा तोरुका अनुसार यो सुरुङमार्ग जापानी विकास सहायता (ओडीए) अन्तर्गत लगभग २२.३ जापानी येन (करिब २१.२ अर्ब नेपाली रुपैयाँ) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको हो। नागढुंगा सुरुङमार्गले नेपालको आर्थिक विकासको प्रवेशद्वारका रूपमा काम गर्ने र भविष्यमा दुई देशबीचको सहकार्य अझ प्रगाढ हुने उनले विश्वास व्यक्त गरे। ‘यो आयोजना दुई देशबीचको प्रगाढ र चिरस्थायी साझेदारीको जीवन्त प्रतीक हो। जापान सरकार तथा जापानी जनताका तर्फबाट म यस ऐतिहासिक दिनमा यस आयोजनामा अतुलनीय योगदान पुर्याउनुहुने सम्पूर्णलाई धन्यवाद दिँदै यस सुरुङमार्गबाट शीघ्र आर्थिक तथा सामाजिक लाभ प्राप्त हुने विश्वास व्यक्त गर्दछु,’ उनले भने।
राजदूत तोरुले यो सुरुङमार्गले नेपालको यातायात क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार काठमाडौंलाई धादिङ र पोखरातर्फ जोड्ने मुख्य नाकामा अवस्थित यो सुरुङमार्गले कठिन भौगोलिक अवस्थाका कारण हुने यातायात अवरोध र समयको बचत गर्दै वस्तु तथा सेवाको ढुवानीलाई सहज बनाउनेछ। उनले हिमालय क्षेत्रको जटिल भूगर्भ र सक्रिय भौगर्भिक अवस्थाका कारण निर्माणका क्रममा विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको पनि अवगत गराए।
वर्षायाममा हुने पहिरो र जमिनको मुभमेन्टका बाबजुद जापानी विज्ञहरूको अनुभव र नेपाली प्राविधिक तथा श्रमिकहरूको अथक परिश्रमले आयोजना सफल भएको उनको भनाइ छ। राजदूत तोरुकाअनुसार जापानले निर्माण गरेका करिब १५ हजारभन्दा बढी सुरुङमार्गहरूको प्राविधिक ज्ञान यस आयोजनामा प्रयोग गरिएको छ। यसबाट नेपाली इन्जिनियरहरूले प्राविधिक सीप र सुरक्षा मापदण्डका विषयमा महत्त्वपूर्ण अनुभव हासिल गरेको विश्वास जापान सरकारले लिएको छ।

सुरुङ खन्ने कार्य सफलतापूर्वक सम्पन्न भएसँगै अब यसको प्रभावकारी सञ्चालन र मर्मतसम्भारको जिम्मेवारी नेपाल सरकारको हातमा आएको छ। राजदूत तोरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस सुरुङमार्गको स्वतन्त्र र दिगो व्यवस्थापनका लागि आफ्नै सञ्चालन क्षमता विकास गर्नेमा जापान सरकार विश्वस्त रहेको बताए। उनले नेपालको स्थिरता र समृद्धिका लागि जापानको निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत जनाए।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले सुरुङमार्ग नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा खण्ड पार गर्न लाग्ने समय अब ५ देखि ७ मिनेटमा सीमित भएको छ। यस पूर्वाधारले सवारी चाप न्यूनीकरण, सडक सुरक्षामा सुधार र यातायात दक्षता अभिवृद्धि गर्दै मुलुकको आर्थिक गतिविधि र नागरिकको दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
दुई वर्षअघि भएको कीर्तिमानी वर्षा र त्यसले निम्त्याएको अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको थियो। निर्माणकै चरणमा रहे पनि विपद्को समयमा यस करिडोरले वैकल्पिक मार्गका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। यसले संकटका समयमा आपत्कालीन सेवा र अत्यावश्यक वस्तुहरूको ढुवानीका लागि लचिलो एवं भरपर्दो पूर्वाधारको महत्त्वलाई पुनः स्थापित गरेको उनको भनाइ छ।
अध्यक्ष अकिहिकोका अनुसार हिमालय क्षेत्रको कठिन भू–गर्भीय बनावटका कारण उत्खननका क्रममा पटक–पटक भएको पहिरो, चट्टानको विरूपण र जमिनको तीव्र दबाब जस्ता समस्याहरूलाई जापानी प्रविधि र नेपाली जनशक्तिको साझा प्रयासबाट समाधान गरिएको थियो। यस आयोजनामा ९८ प्रतिशत जनशक्ति नेपाली इन्जिनियर र कामदारहरू रहेका थिए, जसले जापानी विज्ञहरूसँगको सहकार्यमा प्रविधि र सीप हस्तान्तरणको उदाहरणीय कार्य गरेका छन्। यसै सफलतालाई जग मानेर आगामी दिनमा सुरुङमार्गको योजना, निर्माण, सञ्चालन र मर्मतसम्भारमा नेपालको क्षमता अभिवृद्धि गर्न दुई देशबीच नयाँ प्राविधिक सहयोग कार्यक्रमसमेत सुरु हुने भएको छ। जाइकाले नेपालको दिगो विकासका लागि एक भरपर्दो साझेदारका रूपमा आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरे।
सुरुङमार्गमा शिलान्यासको शिलालेख गायब
नागढुंगा सुरुङमार्गमा शिलान्यासको शिलालेख गायब भएको छ। कतिपयले वर्तमान सरकार निकट व्यक्तिहरूले नै हटाएको दाबी गरेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गरेको शिलालेख हराएको हो।
नेकपा (एमाले) चन्द्रागिरी नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यासका क्रममा राखिएको शिलालेख नियतवश हटाइएको दाबी गर्दै यसलाई ‘इतिहास मेटाउने प्रयास’ भनेका छन्। इतिहास मेटाउने कुनै पनि प्रयास स्वीकार्य नहुने उनले बताए।
तर, सरकारले यो शिलालेख नियतवश नहटाएको दाबी गरेको छ। पूर्वाधार विकासमन्त्री लम्सालले शिलान्यासको शिलालेख पुनः स्थापना गर्ने बताए। लम्सालले पत्रकारहरूसँग भने, ‘हामीले भूतकाललाई एकदमै इज्जत गर्नुपर्छ। केही कुरा मिडियामा आएको थियो, तर त्यस्तो होइन। यो टनेल बनाउने बेलामा शिलालेख राखिएको ठाउँमा संरचना निर्माण गर्नुपर्ने भएकाले त्यसलाई सुरक्षित रूपमा सडक विभागमा राखिएको रहेछ। पछि जेन–जी आन्दोलनका क्रममा उक्त भवनमा आगो लागेपछि हराएको रहेछ।’ उनले आफूहरूले विगतलाई सम्मान गर्ने प्रस्ट पार्दै शिलान्यासको शिलालेख पुनः स्थापना गरिने आश्वासन दिए।
कस्तो छ सुरुङमार्ग ?
नागढुंगा सुरुङमार्ग त्रिभुवन राजपथको काठमाडौं जिल्लास्थित चन्द्रागिरी नगरपालिकाअन्तर्गत किसिपिडीबाट सुरु भई धादिङ जिल्लाको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा समाप्त हुन्छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार यो सुरुङमार्गले नागढुंगा क्षेत्रमा रहेको घुमाउरो, उकालो तथा अत्यधिक सवारी चाप हुने सडकखण्डको विकल्पका रूपमा सुरक्षित, छिटो र भरपर्दो आवागमन सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।
मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ। यो सुरुङ दुई लेन (दुवैतर्फ सवारी सञ्चालन हुने) को छ। आयोजनाका अनुसार सुरुङको कुल चौडाइ ११ मिटर (९.५ मिटर क्यारिज वे), उचाइ ८.१५ मिटर तथा सडकको ग्रेड ३.५ प्रतिशत रहेको छ। मुख्य सुरुङसँगै २.५५७ किलोमिटर लामो अर्को छुट्टै आपत्कालीन सुरुङ निर्माण गरिएको छ। यो ५.१ मिटर चौडा र ४ मिटर अग्लो छ।
नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको छ। यसले सिस्नेखोला र बलम्बुबीचको यात्रा समयलाई आधा घण्टाभन्दा बढीबाट घटाएर केही मिनेटमा सीमित गरिदिएको छ। जटिल भूगर्भीय चुनौतीका बाबजुद राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्य भए नेपालले यस्ता महत्त्वाकांक्षी पूर्वाधार परियोजना सफलतापूर्वक निर्माण गर्न सक्छ भन्ने यो ज्वलन्त उदाहरण हो। यो हाम्रो पहिलो आधुनिक सुरुङमार्ग हो, तर अन्तिम भने होइन।
गोपालप्रसाद सिग्देल - सचिव, पूर्वाधार विकास मन्त्रालयसुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा खण्ड पार गर्न लाग्ने समय अब ५ देखि ७ मिनेटमा सीमित भएको छ। ९८ प्रतिशत नेपाली जनशक्तिले जापानी विज्ञहरूसँग सहकार्य गरेर प्रविधि हस्तान्तरणको उदाहरणीय काम गरेका छन्। दुई वर्षअघिको कीर्तिमानी वर्षा र विपद्का बेला पनि यस करिडोरले आपत्कालीन सेवा र सामग्री ढुवानीमा वैकल्पिक मार्गको रूपमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। यसै सफलतालाई जग मानेर आगामी दिनमा पनि जाइकाले नेपालको दिगो विकासमा निरन्तर सहयोग जारी राख्नेछ।
डा. तानाका अकिहिको - अध्यक्ष, जाइकानेपालको पूर्वाधार विकासको इतिहासमा यो एक ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडी हो। दुई देशबीचको दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठकै वर्ष यो सुरुङमार्ग उद्घाटन हुनुले विशेष महत्त्व राख्छ। जापानमा निर्माण गरिएका १५ हजारभन्दा बढी सुरुङमार्गको प्राविधिक ज्ञान यस आयोजनामा प्रयोग गरिएको छ। कठिन भौगोलिक अवस्थाका बाबजुद जापानी विज्ञ र नेपाली प्राविधिकको अथक परिश्रमले सफल भएको यो आयोजना दुई देशबीचको चिरस्थायी साझेदारीको जीवन्त प्रतीक हो।
माएदा तोरु, नेपालका लागि जापानी राजदूत
१५ दिनदेखि १ महिनासम्म परीक्षणकाल
सोमबारदेखि करिब एक महिनासम्म परीक्षण सञ्चालन अवधि रहनेछ। सुरुमा सुरुङमार्गबाट आपत्कालीन सेवाका सवारीसाधनहरूको नियन्त्रित आवागमन प्रारम्भ गरिने आयोजनाका निर्देशक नेपालले जानकारी दिए।
परीक्षण अवधिमा अन्य सवारीसाधनलाई समेत क्रमशः चरणबद्ध रूपमा प्रवेश गराई सुरुङको सुरक्षा प्रणाली, सञ्चालन व्यवस्था तथा आपत्कालीन प्रतिकार्य प्रणालीको परीक्षण गरिनेछ। सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी प्रविधिमा आधारित स्टिकरका रूपमा एन–ट्यागको व्यवस्था गरिएको छ। सडक बोर्ड नेपालबाट स्वीकृत आरएफआईडी पास तोकिएका बैंकमार्फत उपलब्ध छन् भने अन्य अधिकृत बैंकहरू पनि उक्त प्रणालीमा आबद्ध हुने कार्य अन्तिम चरणमा पुगेको छ।

निर्देशक नेपालका अनुसार परीक्षण सञ्चालन अवधिभर सुरुङ प्रयोग गरेबापत कुनै टोल दस्तुर लिइने छैन। परीक्षण सफलतापूर्वक सम्पन्न भई सुरुङमार्ग नियमित रूपमा सञ्चालनमा आएपछि स्वीकृत दरअनुसार टोल दस्तुर संकलन सुरु गरिनेछ। नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापतको शुल्क सवारी साधनको प्रकारअनुसार फरक–फरक छ। काठमाडौं भित्रने र बाहिरिने शुल्कसमेत फरक तोकिएको छ।
आयोजना निर्देशक नेपालका अनुसार प्रस्तावित शुल्क दर सवारी सञ्चालन खर्चमा हुने बचत र यात्रा समय छोटिनेबाट हुने अनुमानित कुल बचतलाई आधार मानेर तय गरिएको हो। काठमाडौंतर्फ जाने सवारीका लागि कुल बचतको करिब ३० प्रतिशत र धादिङतर्फ जाने सवारीका लागि करिब ३६ प्रतिशत बराबरको शुल्क प्रस्ताव गरिएको छ।
आधुनिक सुरक्षा र प्रविधि
नागढुंगा सुरुङमार्गमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका आधुनिक सुरक्षा तथा सञ्चालन प्रणालीहरू जडान गरिएका छन्। सुरुङभित्र चौबीसै घण्टा निरन्तर विद्युत् आपूर्ति र आधुनिक प्रकाश व्यवस्थाका साथै स्वच्छ हावाका लागि भेन्टिलेसन प्रणाली मिलाइएको छ। त्यसैगरी, सम्भावित जोखिमलाई ध्यानमा राख्दै आगलागी पहिचान, सचेतना र अग्नि नियन्त्रण संयन्त्र, सीसीटीभी निगरानी तथा रिमोट मोनिटररिङ, आन्तरिक सञ्चार प्रणाली र आपत्कालीन टेलिफोन बुथको सुविधासमेत थपिएको छ। सवारीसाधनको सहज आवागमनका लागि सुरुङका दुवै प्रवेशद्वारमा आरएफआईडी प्रविधिमा आधारित स्वचालित शुल्क संकलन प्रणाली राखिएको छ।
सुरुङमार्ग जापानी निर्माण कम्पनी हाजामा एन्डो कर्पोरेसनले निर्माण गरेको हो। सन् २०१९ सेप्टेम्बर २३ मा भएको ठेक्का सम्झौताअनुसार प्रारम्भिक ठेक्का अवधि ४२ महिना र रकम भ्याटबाहेक करिब १३.६ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। तर, पछि संशोधित भ्याटबाहेक ठेक्का रकम करिब १५.४ अर्ब रुपैयाँ पुगेको हो भने मुआब्जासहित आयोजनाको कुल निर्माण लागत करिब २४ अर्ब रुपैयाँ कायम भएको छ। संशोधित निर्माण सम्पन्न मिति सन् २०२६ अप्रिल २५ सम्म तोकिएको थियो।
सुरुङमार्गको नियमित सञ्चालन, ट्राफिक व्यवस्थापन, सुरक्षा, विद्युतीय तथा यान्त्रिक प्रणालीको मर्मत, सिभिल संरचनाको संरक्षण, आपत्कालीन उद्धार र टोल शुल्क संकलनका लागि ५ वर्षको सञ्चालन तथा मर्मत–सम्भार सेवा सम्झौता युक्सिन एआरटी जेभीसँग १.१० अर्ब रुपैयाँमा गरिएको छ।
सुरुङको २४ सै घण्टा प्रभावकारी सञ्चालनका लागि ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रण, सुविधा मर्मत–सम्भार, सिभिल संरचना मर्मत–सम्भार, सुरक्षा व्यवस्थापन र टोल संकलन गरी पाँचवटा प्रमुख एकाइहरू गठन गरेर एकीकृत रूपमा व्यवस्थापन गरिनेछ।
नेपालमा सुरुङको इतिहास
नेपालमा पौराणिककालदेखि नै सुरुङबाट मानिस आवतजावत गर्ने गरेको कथन पाइन्छ। मुस्ताङमा करिब २ हजार वर्ष पुराना भूमिगत गुफा/सुरुङहरू भेटिएका छन्। पाल्पाको अर्गेलीमा करिब ४ सय वर्षअघि सिँचाइका लागि सुरुङ निर्माण गरिएको इतिहास छ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा वि.सं. १९७५ मा मकवानपुरको चुरियामाईमा करिब ५०० देखि ६०० मिटर लामो सुरुङमार्ग निर्माण गरिएको थियो, जहाँबाट साना चारपांग्रे सवारीसाधनहरूसमेत आवतजावत गर्थे।
पछिल्लो समय आधुनिक नागढुंगा सुरुङमार्ग सञ्चालनमा आइसकेको छ भने सिद्धबाबा सुरुङमार्ग निर्माणको अन्तिम चरणमा छ। काठमाडौं–तराई–मधेस द्रुतमार्गमा ७ वटा सुरुङहरू निर्माणधीन छन्।
यसैगरी छोरेपाटन–गुडीखोला, बागलुङ–नरेठाँटी, कुशेपाटन–इमिचला (जुम्ला), सुनमाई–राजदूबोल (इलाम), बेंसीसहर–नाल्म, जाजरकोट–ब्याउलीढुंगा–टोप्ला, टोखा–छहरे, दुम्कीबास–बर्दघाट, हेम्जा–नयाँपुल, मझिमटार–शक्तिखोर, नयाँ बानेश्वर अन्डरपास, प्रवास–जोर्ते (पाल्पा), बबई–छिन्चु, ताथली–रविओपी, विपिनगर–खुटिया र गोदावरी–मानचौर सुरुङमार्गहरू हाल अध्ययनको चरणमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !