विपन्न दलित परिवारलाई बाख्रा वितरण
![विपन्न दलित परिवारलाई बाख्रा वितरण](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_dGvOUSz7xF_QhX7ddNKHz.jpg)
सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–२ कि मिठू विक उमेरले ६२ पुगिसकिन्। एकल जीवन बिताइरहेकी उनको आम्दानीको स्रोत केही छैन। आम्दानीको स्रोत नभएर कष्टकर जीवन बिताइरहेको उनलाई शनिबार वडा कार्यालयले उन्नत जातको बाख्रा दिएको छ। ‘आम्दानी केही छैन, म एक्ली बुढीले कसरी जीवन गुजार्नु भन्ने भएको थियो। अहिले वडाले बाख्रा दिएको छ, धेरै खुशी भएकी छु’, वडाले दिएको बाख्रा लिँदै उनले भनिन्– ‘यसैलाई पालेर घरखर्च टार्छु भन्ने सोचेकी छु।’
बाख्राले जन्माएको पाठापाठीको आम्दानीबाट घरखर्च चलाउने सोच बनाएकी उनले आफूजस्तो कोही नभएको गरिबलाई वडा कार्यालयले गरेको सहयोग बाँच्ने साहारा बनेको बताइन्। उनीजस्तै चौतारा साँगाचोकगढी नगरपालिका-२ का दलित समुदायका २० विपन्न परिवारले उन्नत जातको बाख्रा पाएका छन्। वडा कार्यालयले दलित विपन्न परिवार पहिचान गरी आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले बाख्रा वितरण गरेको वडाध्यक्ष सुदीप श्रेष्ठले बताए।
‘वडा कार्यालयले यो वडाका विपन्न दलित समुदायको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले बाख्रा वितरण गरेको हो’, उनले भने– ‘बाख्रा पालनका लागि यो क्षेत्र उपयुक्त पनि छ, जसले गर्दा वितरण गरिएको बाख्रा पालेर आम्दानीको स्रोत जुटाउन सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौं।’
२ लाख बराबरको उन्नत जातको बयर बाख्रा वितरण गरिएको वडा कार्यालयले जनाएको छ। वडा कार्यालयले वितरण गरेको बाख्राको बीमा गर्न पनि सहयोग गरेको छ। ५० प्रतिशत वडाले सहयोग गर्ने र ५० प्रतिशत कृषकले बेहोर्ने गरी बिमा गरिएको वडा सदस्य लक्ष्मी नेपालीले बताइन्। चौतारा साँगाचोकगढी नगरपालिका पशु शाखाको समन्वयमा बाख्राको बीमा गरिएको थियो।
कृषि तथा पशु सेवा अनुदान अन्तर्गत दलित समुदायका विपन्न परिवारलाई बाख्रा वितरण गर्न उपभोक्ता समूह निर्माण गरिएको थियो। ‘हामीले वितरण गरिएको बाख्राको अवस्था कस्तो छ, सही सदुपयोग भएको छ कि छैनौं समेत निगरानी गछौं’, उपभोक्ता समितिका अध्यक्ष केशरबहादुर विकले भने- ‘वितरण गरिएको बाख्राबाट विपन्न समुदायको आयआर्जनमा टेवा पुगोस् भन्ने नै हाम्रो मुख्य लक्ष्य हो।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)