उदयपुरमा लागूऔषध छाड्ने युवा बढ्दै
![उदयपुरमा लागूऔषध छाड्ने युवा बढ्दै](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_QN0xOOgJgT_sAV2L1s8h6.jpg)
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाका ४२ युवाले सामूहिक रूपमा लागूऔषध छाड्ने प्रतिवद्धता जनाएका छन्।
बढ्दो लागूऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको मिसन ड्रग्स इन्टरसेप्सन (एमडीआई)अभियानमा उनीहरूले नगर प्रमुख कालुमान लामा, उपप्रमुख मणिकादेवी दुलाल, वडाध्यक्षलाई साक्षी राखेर सामूहिक प्रतिवद्धता जनाएका हुन्।
यसअघि त्रियुगा नगरपालिकामा ५२ जना लागूऔषध सेवनकर्ताले यस्तो प्रतिवद्धता जनाएका थिए । ‘लागूऔषध सेवन नगर्ने मैले दृढता गरेँ' भन्ने विश्वाससहित उनीहरूले नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आफ्ना अभिभावक, जनप्रतिनिधि, प्रशासन, पत्रकार र अभियन्तालाई समेत साक्षी राखेका छन्।
मेयर लामाले लागूऔषधको कुलतमा फसेर अध्ययनलाई निरन्तरता दिन नसकेका सबैलाई नगरकोतर्फबाट पढ्नमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 'कुलतलाई पूर्णरुपले छाडेर भिजनसहितको योजना लिएर आउनुहोस्', मेयर लामाले भने, ‘आवश्यकता र औचित्य पुष्टि गर्ने गरी कार्यक्रम ल्याउनुस् तपाईहरूलाई सहयोग गर्न तयार छौं।'
कार्यक्रममा अभियानका संयोजक तथा प्रहरी प्रमुख एसपी रमेश थापाले अभियान सञ्चालनले धेरै युवा सुधारको बाटोमा हिँडेको बताए। अभियान सुरु गर्नुअघि प्रहरीले लागूऔषध सेवनकर्तालाई उक्त लतबाट छुटाउन थुप्रै कोसिस गरेको सुनाए । एसपी थापाले भने, ‘लागूऔषध नियन्त्रण गर्न छिमेकी जिल्लाका सबै नाकामा कडाइ गरी अभियान सुरु गरिएको छ। यसलाई हामी जिल्लाका आठ वटै पालिकामा लैजाने योजना गरेका छौं', उनले भने, ‘अभियानलाई निरन्तरता दिन आज प्रतिबद्धता जनाएका सबैका घरमा जनप्रतिनिधिसहितको टोली हप्तामा एक पटक जान्छौं र उनीहरूको अवस्था बुझ्छौं, आवश्यकताका आधारमा उनीहरूले फरक क्षेत्रमा व्यस्त बनाउँछौं।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)