अपांगता भएका व्यक्तिलाई घरमै सेवा
![अपांगता भएका व्यक्तिलाई घरमै सेवा](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_Jry8cBqO5I_7vJRAeYoZP.jpg)
भोजपुर : पौवादुङमा गाउँपालिका-१, श्यामशिलाका चन्द्रकुमार राई जन्मजात नै अपांग छन्। उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन्। उनलाई ह्विल चियर वा पिँठ्यूमा बोकेर ल्याउने लैजाने गर्नुपर्छ। शारीरिक अशक्तता र भौगोलिक विकटताका कारण उनी राज्यको सुविधादेखि बञ्चित थिए।
अपांगता परिचय पत्र नभएको कारण उनले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता र नियमित स्वास्थ्य उपचारबाट टाढा थिए। तर गाउँपालिकाले ल्याएको अपांगता परिचय पत्र वितरण तथा निःशुल्क स्वास्थ्य शिविरबाट उनले दुवै सुविधाको अनुभव गर्न पाएका छन्। दुवै सुविधा एकैपटक आफ्नै गाउँमा पाएपछि चन्द्रकुमार दंग छन्। उनलाई ढुंगा खोज्दा देउता जुरे जस्तो भएको छ। 'शारीरिक कारण न उपचार पाएको थिएँ न त राज्यको सेवासुविधा पाएको थिएँ, आज गाउँपालिकाले आँगनमै यो दुवै आवश्यकता पूरा गरेको छ,' उनले भने।
भोजपुरको पौवादुङमा गाउँपालिकाले गाउँपालिका छेत्रभित्रका अपांगता भएका नागरिकलाई लक्षित गर्दै सहज सेवा प्रवाह गर्ने लक्ष्यले टोलटोलमा अपांगता परिचय पत्र वितरण तथा स्वास्थ्य शिविर चलाएको छ। विभिन्न स्वास्थ्य संस्था र प्रशासनिक सेवा कार्यालयको सहकार्यमा गाउँपालिकाले चलाएको उक्त शिविरबाट गाउँपालिकाका ६ वटै वडाका अपांगता भएका नागरिकले परिचय पत्र पाएका छन्।
सबै वडाहरूमा अभियान सञ्चालन गरेर शिविरमा मार्फत सेवा प्रवाह भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए। गाउँपालिकाका नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यले वडास्तरबाटै अपांगता परिचय पत्र वितरणसँगै स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले बताइन्। ‘यो अभियानबाट असक्त नागरिकलाई सबै वडाबाट अपांगता परिचय पत्र वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौँ’ उपाध्यक्ष राईले भने, ‘अभियानलाई सहज रूपमा चलाउन गाउँपालिकाको सेवा जनस्तरसम्म पुर्याउने उद्देश्यले सेवा दिएका हौँ।’ शिविरमार्फत प्रवाह गरिएको सेवाले शारीरिक रूपमा अशक्त नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनले बताइन्।
गाउँपालिकाका नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने लक्ष्यले शिविरको अवधारणा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। गाउँपालिकाको सेवालाई सहज र सरल तरिकाले ग्रामीण क्षेत्रका हरेक जनस्तरसम्म पुर्याउने लक्ष्यका साथ काम बढाइएको अध्यक्ष राईको भनाइ छ। उक्त शिविर आगामी माघ २ सम्म चल्ने प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)