झ्याउ बहुमूल्य, गरियो अवमूल्यन

झ्याउ बहुमूल्य, गरियो अवमूल्यन
सुन्नुहोस्

पृथ्वीको सतहको पहिलो वनस्पति मानिन्छ झ्याउ । झ्याउ रुखहरूलगायत वनस्पतिमा लाग्छ । ओसिलो ठाउँमा पनि लाग्छ । अरू वनस्पतिभन्दा यो किन भिन्न हुन्छ भने यसमा बाहिरी तह हुँदैन, जस्तो कि रुखमा बोक्रा हुन्छ, मानिसलगायत जीवजन्तुमा छाला । प्रतिकूल वातावरणलाई थेग्ने क्षमता झ्याउमा हुँदैन र मरिहाल्छ । अचेल वातावरण प्रदूषित हुँदै जाँदा झ्याउ पनि लोप हुँदैछ । वातावरणीय हिसाबमा यसको विशेष महŒव छ । कहाँको वातावरण कत्तिको प्रदूषित छ भनेर नांगो आँखाले पनि थाहा पाउने एउटा उपाय झ्याउ हो । जहाँका रुखपातमा झ्याउ छैन, त्यहाँका हावा दूषित छ भन्ने सजिलै भेउ पाउन सकिन्छ । गाउँबस्तीमा पनि अचेल मोटरगाडीको विकास पुगेको छ, त्यहाँका रुखबिरुवा पनि झ्याउ हराउन थाल्नु भनेको विकासले लगेको प्रदूषण नै हो ।

झ्याउ फूल नफुल्ने र बिउ उत्पादन नगर्ने वर्गको वनस्पति हो । मरुभूमिदेखि हिमाली भेगसम्म पाइने अचम्मको यो वनस्पति जहाँ पनि सजिलै उम्रिदिन्छ, जस्तो कि घर, भवनका भित्ता र छानाहरू, ढुंगा, माटो जहाँ पनि । झ्याउ चराचुरुंगी र कीटपतंगको आहारा र बासस्थानमात्रै नभई नेपालकै कतिपय जनजातिको पनि खाद्यवस्तु हो । कार्बोहाइड्रेट, प्रोटिन, एमिनो एसिडलगायत औषधीय गुणको परीक्षण हाम्रा पुर्खाले उबेलै थाहा पाएरै यसलाई खाद्यवस्तु बनाएको हुनुपर्छ । चाडपर्वमा झ्याउ मिसाएको खानेकुरा खाने पूर्वी नेपालका जनजातिमा अद्यापि जीवित परम्परा छ ।

एकताका झ्याउ नेपालबाट निर्यात पनि हुन्थ्यो र त्यसबाट राजस्व पनि संकलन हुन्थ्यो । सन् २००० देखि २०२१ को २० वर्षमा झ्याउ निर्यातबाट २५ करोड रुपैयाँ राजस्व संकलन भएको वन विभागका दस्तावेजहरूले देखाउँछन् । यसबाटै थाहा हुन्छ कि यो कति मूल्यवान् वनस्पति हो र विश्व बजारमा यसको माग र मूल्य कति छ । अहिले पनि नेपालले झ्याउ निर्यातमा प्रतिबन्ध लगाएको छ । सन् २०२१ को जनवरीदेखि झ्याउमा प्रतिबन्ध लागेयता नै नेपाल प्रहरीले टनका टन झ्याउ बरामद गरिरहेको छ । कहिले प्रतिबन्ध त कहिले फुकुवाको चक्र चलिरहन्छ । खासमा कुन प्रजातिको झ्याउ प्रतिबन्ध र कुन फुकुवा भन्ने प्रष्ट गरी लोपोन्मुखको संरक्षण र प्रशस्त उत्पादन हुनेलाई निर्यात गरी देशले राजस्व आम्दानी गर्नुपर्ने हो । नियमन फितलो भएकैले सबैलाई एकैघानमा हालेर प्रतिबन्ध लगाउने प्रवृत्ति नियमनको जिम्मेवारीमा रहेकाहरूले सजिलोसँग जागिर खाने काइदामात्रै हो । होइन भने झ्याउ उपभोगमात्रै होइन, निर्यातमा पनि राज्यले सहजीकरणै गर्नुपर्छ । बहुमूल्य वनस्पतिलाई त्यसै खेर जान दिनु हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.