हेलिबाट गाउँ झारियो डोजर
![हेलिबाट गाउँ झारियो डोजर](https://annapurnapost.prixacdn.net/media/albums/Dozar-in-Heli-1_BTchAy4m9C_4QBnVgq1I2.jpg)
गोरखा : सडक सञ्जालले नजोडेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–२ स्यालामा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको छ। ल्हो माध्यमिक विद्यालयको मैदान निर्माणका लागि लामा गुरु सोनाम दोर्जे रिम्पोछेको सहयोगमा हेलिमार्फत डोजर लगिएको चुमनुब्री गाउँपालिका–२ का वडाअध्यक्ष मिङग्युर दोर्जे लामाले बताए।
गुरु रिम्पोछेबाट सहयोग स्वरूप प्राप्त डोजर सांसद राजेन्द्र बजगार्ईंको समन्वयमा हेलिकप्टरबाट ढुवानी गरिएको उनले बताए। स्याला लैजान बिगत तीन वर्षदेखि सल्यानटारमा राखिएको उक्त डोजर सांसद बजगाईंको समन्वयमा स्याला पु¥याइएको उनले सुनाए। ‘ल्हो मावि लामा गुरु सोनाम दोर्जे रिम्पोछेको सहयोगमा निर्माण भएको हो। अहिले गुरु रिम्पोछेले विद्यालयको खेलमैदान निर्माणका लागि डोजर लैजानुभएको हो’, वडाअध्यक्ष लामाले भने, ‘प्रक्रिया पूरा गर्न नसक्दा तीन वर्षदेखि सल्यानटारमै थन्किएर बसेको थियो। अहिले माननीय राजेन्द्र बजगाईंको पहलमा बल्लतल्ल गाउँमा पु¥याउन सफल भइयो।’ सिँगै डोजर एकैपटकमा बोकेर लान नसकेपछि पाटपुर्जा खोलेर पटक–पटक गरी ढुवानी गरिएको उनले बताए।
डोजर गाउँमा पुगेपछि अब विद्यालयको मैदान मात्र नभई अरू संरचना निर्माण गर्न पनि सहज हुने गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाइ छ। ‘गुरु रिम्पोछे सोनाम दोर्जेले गाउँमा धेरै ठूलो काम गरिरहनु भएको छ। अहिले डोजर लैजानुभयो’, अध्यक्ष लामाले भने, ‘डोजर गाउँमा पुगिसकेपछि त्यहाँको अरू भौतिक संरचना बनाउन पनि पक्कै सहज हुने विश्वास लिएका छौं। हामी पनि रिम्पोछेको साथमै छौँ।’ गाउँपालिका हातेमालो गरेर अघि बढ्न तयार रहेको उनले बताए।
डोजर गाउँमा पुगेपछि स्थानीयवासी धेरै खुसी भएको वडाअध्यक्ष मिङग्युर दोर्जे लामाको भनाइ छ। ‘गुरु रिम्पोछेले गाउँमा डोजर पु¥याउनु भएकोमा स्थानीयवासी धेरै खुसी छन्’, उनले भने, ‘अब डोजर आयो, गाउँमा विकास निर्माणका कामहरू पनि सजिलै गर्न सकिन्छ।’ डोजरका पाटपुर्जा जडान गर्ने र चलाउन जान्ने जनशक्तिसहित डोजर ल्होमा पुगेको लामाले बताए। डोजर गत शुक्रबार नेपाली सेनाको हेलीमार्फत ५६ लाख रुपैयाँ लागतमा ल्हो पु¥याइएको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)