चुरेको दोहन नरोकिए तराई–मधेस मरुभूमीकरण हुन्छ : उपेन्द्र यादव
![चुरेको दोहन नरोकिए तराई–मधेस मरुभूमीकरण हुन्छ : उपेन्द्र यादव](https://annapurnapost.prixacdn.net/media/albums/upendra-yadav1_jL1Frj2btl_KHwziTJbYx.jpg)
वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोह देशमा भएका अन्य आन्दोलनभन्दा युगान्तकारी आन्दोलन भएको दाबी गरेका छन्। प्रदेश सरकारको मधेसी सहिद प्रतिष्ठानले शुक्रबार वीरगन्जमा आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा यादवले मधेश आन्दोलन केवल सत्ता प्राप्तिको लागि मात्र नभएको दाबी गरेका हुन्।
उनले भने,‘यो मुलुकमा राणा, राजालाई हटाउनेदेखि गणतन्त्र ल्याउनेसम्मका आन्दोलनहरु भए। तर ती आन्दोलन केवल सत्ता प्राप्तिको लागि मात्र थिए। केहि अधिकार पनि प्राप्त भए। तर मधेस आन्दोलनले सत्ता मात्र होइन राजनीतिक प्रणाली नै परिवर्तन गरिदियो। त्यसकारण मधेस आन्दोलन युगान्तकारी आन्दोलन थियो।’
मधेस आन्दोलनकै कारण मुलुक संघीयता र समावेशीता पाएको जिकिर उनले गरे। मधेसीमाथि भएका विभेद र अपमानित जीवन जिउनु पर्ने विवसताको अन्त्य र बराबरीको हक प्राप्तिका लागि मधेस आन्दोलन भएको उनले बताए।
नेपालमा बहुदल आएदेखि यताको ३४ वर्षमा देशमा भ्रष्टचारतन्त्र, कमिशनतन्त्र र कुशासन चरम सीमामा पुगेको भन्दै यादवले शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारिकण र माफियाकरण गरिएको उनले बताए। देशको कृषि क्षेत्र र उद्योग कारखानापनि धराशायी बनाइएको आरोप लगाउँदै यादवले भने,‘यी सबै सुधार गरिएन भने देश बर्बाद हुने निश्चित छ।’
उनले मधेसमाथि फेरि एउटा ठूलो संकट निम्तिन थालेको पनि यादवले बताए। तराई–मधेसको लाइफलाइन चुरे क्षेत्रको बढ्दो दोहनले तराई–मधेस मरुभूमीमा परिणत हुने खतरा रहेको बताए।
‘चुरेको दोहनले मधेसका भू-जलको सतह झन् झन तल झर्दै गइरहेको छ। पानीका स्रोतहरु सुकिरहेका छन्।’ यादवले भने,‘यदि चुरेको दोहन रोकेर चुरेको संरक्षण नगर्ने हो भने पूरा तराई–मधेस मरुभूमीकरण हुने निश्चित छ।’ चुरेको दोहन नरोकिए मधेसमात्र नभइ देश नै बर्बाद हुने उनको कथन थियो। त्यसका कारण चुरेलाई जोगाउन जसपा संघर्ष गर्न तयार रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)