सुखद पनि हुन्छन् खबर
के अब हामीले राम्रो अनि खुसीको खबर कहिल्यै सुन्न, पढ्न नपाइने भो ?
मैरिल्यान्डको सानो ग्रामीण सहरमा साढे दुई महिना बसेपछि मलाई त्यहाँ गाह्रो हुन थाल्यो। सानो ठाउँ, कम भीडभाड अनि शून्य शून्य लाग्ने माहोल। काठमाडौं उपत्यकाको भीडभाडमा हुर्केबढेको मान्छेलाई ग्रामीण अमेरिकी ठाउँको जीवनशैली पाच्य भएन। त्यहाँबाट फुत्कन हतारो भइरहेको थियो। न्युयोर्कमा बस्ने एकजना साथीलाई घुम्ने प्रबन्ध मिलाउन अनुरोध गरें। सेप्टेम्बर १५, २००८ को साइत जुर्यो, न्युयोर्क जाने। वासिङ्टन डीसीस्थित ग्रेहाउन्ड बस टर्मिनलमा बिहान ८ बजेको बस चढेर लागें न्युयोर्कतिर। करिब चार घण्टाको सफर थियो त्यो। सडक यात्राको एउटा फाइदा के भने बाटोमा पर्ने धेरै ठाउँहरूको सयर गर्न पाइने।
वासिङ्टन डीसीबाट न्युयोर्क पुग्न पूर्वी तटीय तीन राज्यहरू मेरिल्यान्ड, पेन्सिल्भेनिया र न्युजर्सी छिचोल्नु पर्ने। अमेरिकी राजमार्गहरू व्यवस्थित हुनाका कारण रमाइलैसँग कट्यो चार घण्टा। साथीले न्युयोर्कको ग्रेहाउन्ड स्टेसनमा लिन आइरहेको थियो। त्यो स्टेसन टाइम स्क्वायरको छेवैमा थियो त्यसकारण उसले मलाई न्युयोर्कको पहिलो दर्शन नै टाइम स्क्वायरबाट गराउने निधो गरेको रहेछ। म पछि लागेँ। टाइम स्क्वायरको सबवे स्टेसनबाट निस्कनेबित्तिकै केही अगाडि ठूलो अग्लो भवनको मूलगेट छेउमा प्रतिष्ठित अमेरिकी टीभी च्यानलहरूका क्यामरा र सञ्चारकर्मीहरूको भीड लागेको थियो। के भएको होला ? जिज्ञासा पलायो।
पछि बुझ्दै जाँदा थाहा पाइयो, त्यो भवन अमेरिकाको ठूलोमध्येको एक इन्भेस्टमेन्ट बैंक–लेहम्यान ब्रदर्सको मुख्यालय रहेछ। सञ्चार संस्थाको भीड लाग्नुको कारण चाहिँ त्यो दिन उक्त विशाल बैंक धराशायी भई टाट पल्टिएको। विश्व अर्थतन्त्रको केन्द्र न्युयोर्कमा रहेको एक महत्त्वपूर्ण र ठूलो बैंक धराशायी हुनु विश्व अर्थतन्त्रको लागि नै ठूलो धक्का थियो । नभन्दै त्यसको प्रभाव विश्व अर्थतन्त्रमा लामो समयको लागि पर्यो।
सञ्चार माध्यमहरूमा सुखद अनि सकारात्मक समाचार होस् । खबर पढेर सबलाई आनन्द मिलोस् ।
दुई महिनापछि नोभेम्बर ८ का दिन अमेरिकी राष्ट्रपतिको निर्वाचन थियो। उक्त निर्वाचनमा ऐतिहासिक रूपमा अमेरिकी राष्ट्रपतिका लागि एक अश्वेत उम्मेदवार बराक ओबामा डेमोक्रेटिक पार्टीको तर्फबाट निर्वाचित भए। उनको सामु चुनौतीहरूका पहाडै थिए– इराक युद्ध, अफगानिस्तान युद्ध, आतंकवाद, धराशायी बन्दै गएको विश्व अर्थतन्त्र, अमेरिकी बेरोजगारी समस्या र विश्व राजनैतिक मञ्चमा खस्कँदो अमेरिकी प्रभाव आदि। आर्थिक संकटको प्रभाव बाटोबाटोमा देख्न थालिएको थियो। न्युयोर्कको गल्लीहरूमा जागिर गुमाएका युवायुवतीहरू आफ्ना पोकापन्तराहरू बोक्दै आँसु झार्दै हिँडिरहेको दृश्य निरन्तर बढिरहेका थिए। विश्वका सबैभन्दा धनी र शक्तिशाली मूलुकका नागरिकहरूको अवस्था यस्तो हुुँदो हो त हामीजस्ता गरिब मुलुकका नागरिकको अवस्था के हुने होला भन्ने सोचेरै आङ सिरिङ हुन्थ्यो मेरो।
नोभेम्बर दोस्रो हप्ताको एक चिसो बिहान म लोअर म्यानहाटनको वालस्ट्रिट छेवैमा टहलिरहेको थिएँ बाटोमा एउटा केटोले मेरो हातमा निःशुल्क ‘द न्युयोर्क टाइम्स’ थमाई दिए। आश्चर्य लाग्यो, न्युयोर्क टाइम्सजस्तो प्रतिष्ठित पत्रिका पनि फ्रिमा पाउनु ! त्यसमाथि छापिएका समाचार र हेडलाइनहरू अझ आश्चर्यलाग्दो थियो। इराक युद्ध चरम अवस्थामा रहेको बेला पनि पत्याउनै नसकिने हेडलाइन थियो ‘इराक युद्ध समाप्त’ ! त्यस्तै अन्य समाचारहरू पनि अपत्यारिलो, सकारात्मक र खुसीका खबरहरू नै थिए प्रायः सबै, पढुँपढुँ लाग्ने।
२००१ मा अमेरिकामा भएको आतंककारी हमलाहरू विशेषतः ट्विनटावरमा गराइएको हवाईजहाज बिस्फोट र त्यसले छोडेका छापहरू, इराकी र अफगानी युद्धहरूमा ज्यान गुमाएका अमेरिकीहरूको परिवारको वेदना, अमेरिकी आर्थिक संकट र त्यसका सम्भावित दुष्परिणामहरूको कहालिलाग्दो समाचारले निराश अमेरिकीहरूका लागि सुखद खबर बोकेर आएको थियो त्यो न्युयोर्क टाइम्सको संस्करणले। पछि हेर्दै जाँदा चाल पाइयो कि २००८ को नोभेम्बरमा वितरण गर्दै गरेको पत्रिकाको मिति जुलाई ४, २००९ थियो। अनि मनमा शंका लाग्यो र यो त नक्कली र जाली खबर रहेछ भन्ने लागेपछि त्यो पत्रिका मैले त्यतै कतै छोडेर हिँडे। पछि पो थाहा भयो त्यो त अमेरिकी पत्रकार, लेखक सामाजिक अभियन्ताहरूको समूहले निराश अमेरिकी पाठकहरूमा सकारात्मक आशाको सञ्चार गर्ने उद्देश्यले लामो र कठिन परिश्रमपश्चात् सार्थक रूप दिएको एक अभियानको नतिजाको रूपमा ‘द न्युयोर्क टाइम्स’ नाम दिई प्रकाशन गरिएको प्रतिरूप संस्करण पो रहेछ।
निरन्तरको निराशाजनक, कहालिलाग्दो दुःखद् समाचार पढिरहेका अमेरिकी पाठकहरूको लागि एक सुखद क्षण थियो त्यो एकहदसम्म। त्यसले आशाको किरण जगाइदिएको थियो आम जनमानसमा। साँच्चै यस्तै भइदिए हुन्थ्यो भन्ने इच्छा, चाहना र आशा जगाएको थियो। उक्त पत्रिकाको सबैभन्दा माथि एक कुनामा लेखिएको थियो— ‘सम्पूर्ण खबरहरू हामीले छाप्ने आशा गरेका।’ अर्को अर्थमा ती अभियन्ताहरूको समूहको उद्देश्य नवनिर्वाचित राष्ट्रपति बाराक ओबामालाई युद्धको अन्त्य गर्न, आर्थिक सबलीकरणको योजना लागू गर्न अप्रत्यक्ष दबाब पनि थियो, सम्भावित सकारात्मक समाचारहरूको माध्यमबाट।
त्यो १५ वर्ष पुरानो कुरा आज आएर सम्झनुको पछाडि एउटा कारण छ। हामी नेपालीहरू पनि अहिले त्यही अवस्था भोगिरहेका छौं। केही समय भयो हामीले दैनिक रूपमा पढ्ने समाचारहरूमा राम्रा अनि खुसीका खबरहरू विरलै पाइन्छन्। अर्को शब्दमा भन्ने हो भने पाइनै छाड्यो। जता हेर्यो, जुन पत्रिका पढ्यो, टीभीका समाचार उस्तै, सबैतिर निराशा, पीडा, दुःख, समस्या, उत्पीडन, भ्रष्टाचार, बेथिति, अन्याय–अत्याचार, हत्या–हिंसा, दुर्घटना यस्तैयस्तै मात्र। के अब हामीले राम्रो अनि खुसीको खबर कहिल्यै सुन्न, पढ्न नपाइने भो ? स्थायी रूपमा नैराश्यता नै भोगाइ हुने भयो हाम्रो ? दोषी को ? नेपाली जनता ? नेपाली पाठकहरू ? नेपाली जनमानसमा निराशा, मनोबलमा ह्रास, विरक्तिपन, आत्महत्याको प्रवृत्ति आदि समस्या टड्कारो रूपमा देखिन थालेका छन्। यस्ता समस्याहरूको समाधान दैनिक पढ्ने सकारात्मक खबर पनि हुन सक्दछ। सञ्चार माध्यमहरूमा सुखद अनि सकारात्मक समाचार होस्। खबर जति सबै सुखद होस् उत्साहजनक होस्। खबर पढेर सबलाई आनन्द मिलोस्। सबैको जय होस्।