शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिटमाथि सुनुवाइ जारी
काठमाडौं : नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासमा बहस हुँदैछ। तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २०६९ साउन २२ गते मन्त्रिपरिषद् बैठकबाट हटाउन लगाएर लागू गराएका थिए।
सरकारको सो निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल, टपेन्द्र बहादुर कार्कीलगायतले २०७३ भदौ २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
अहिले रिट निवेदका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्। अधिवक्ता नेपालले रिटमाथि आफ्नो बहस सकिएको र बाँकी अधिवक्ताहरूको बहस जारी रहेको जानकारी दिए।
विदेशी प्रभावमा परी नेपाली,भाषा, संस्कृति र परम्पराको अन्त्य गर्ने उद्देश्य राखि ॐ शब्दलाई शब्दकोशबाट झिकिएको भन्दै उनीहरुले रिट दिएका थिए।
यसअघि रिटमाथि सुनुवाइ गर्न सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले 'एमीकस क्युरी' मगाउन आदेश दिएको थियो। भाषा र कानुन दक्षताको भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन नेपाल बारको नाममा आदेश भएको थियो।
निवेदकले पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको सम्पादन खारेज गर्नुपर्ने माग गरेका छन्।
२०७५ सालमा प्रकाशित १० औं संस्करणको बृहत्त नेपाली शब्दकोषबाट ॐ शब्द हटाइएको हो।
प्रतिक्रिया दिनुहोस !