उत्पादनका आधारमा मात्र कृषि अनुदान
गोरखा : उत्तरी गोरखाको धार्चे गाउँपालिकाले वास्तविक किसान पहिचान गरी अनुदान दिएको छ। गाउँसभाले निर्णय गरेअनुसार सो पालिकाले कृषि तथा मासुजन्य बस्तु उत्पादन गर्नेहरूलाईमात्र अनुदान वितरण गरेको हो।
यस आर्थिक वर्ष पालिकाले कृषि तथा मासुजन्य उत्पादनमा अनुदान दिनका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सोही रकमबाट कृषि तथा पशुपालन व्यवसाय गरिरहेका धार्चेका किसानहरूलाई अनुदान वितरण गरिएको कृषि शाखाका प्रमुख अनिल नेपालीले जानकारी दिए।
कृषितर्फ विनियोजित २० लाख रुपैयाँमध्य १७३ जना किसानलाई १७ लाख रुपैयाँ हस्तान्तरण गरिएको नेपालीले जानकारी दिए।
कृषितर्फको अनुदान सबैभन्दा धेरै चुङकाङ जडीबुटी कृषि तथा पशुपन्छी प्रालिका मनबहादुर गुरुङले रु ४५ हजार १७० रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै पशुतर्फ वडा नं. ५ का गोठ व्यवस्थापन समितिका राममाया गुरुङले रु ५४ हजार प्राप्त गरेकी छिन्।
नक्कली किसानले अनुदान पाउने अवस्था अन्त्यका लागि सो गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि २०८० निर्माण गरी कार्यान्वयन गरेको छ। सोही कार्यविधि अनुसार किसानहरूलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए। यसले किसानलाई आत्मनिर्भर बनाउनुका साथै साना किसानलाई व्यावसायिक बनाउन सहयोग गर्ने गुरुङले बताए। यो कार्यक्रमले एकल तथा दलित महिला र विदेशबाट फर्किएर स्वरोजगार गरेका युवाहरूलाई उत्साहित बनाएको पालिकाको विश्वास छ।
प्रतिक्रिया दिनुहोस !