गुप्सीपाखा ढपक्कै

गुप्सीपाखा ढपक्कै
सुन्नुहोस्

गोरखा : धार्चे गाउँपालिका–४ गुप्सीपाखाको एकीकृत नमुनाबस्ती यतिबेला हिउँले ढपक्कै ढाकिएको छ। एउटै थुम्कामा एकै किसिमका ६ सय १५ वटा घरहरू हिउँले ढाकिएपछि मनमोहक देखिएको छ।

समुद्री सतहदेखि २ हजार ७ सय ५० मिटर उचाइमा अवस्थित गुप्सीपाखामा दिउँसो साढे दुई बजेदेखिको हिमपातले बस्ती सेताम्मे भएको हो। यसवर्षको पहिलो पटक हिउँ परेपछि सो बस्तीका बासिन्दा खुसी छन्। ‘पोहोरसाल पनि हिउँ परेन। ढिलै भएपनि यस पटक चाहिँ पर्‍यो भनेर स्थानीयवासी खुसी भएका छन्’, स्थानीय तुले गुरुङले भने, ‘अझै ठूलो हिउँ परे बारीमा भर्खर उम्रिएको गहुँ, जौ सप्रिन्थ्यो भन्ने चाहना थियो, तर चाहे जति हिउँ अझै परेको छैन।’ उनका अनुसार अहिले गुप्सीबस्तीमा करिब दुई इन्चजति हिउँ जमेको छ।

गुप्सीमा हिउँ परेपछि त्यस भेगका बारीहरूमा पानी बर्सने गथ्र्यो। तर अहिले हिउँ परे पनि पानी भने अझै परेको छैन। ‘गहुँ, जौ सुकिसकेका थिए’, वडाध्यक्ष किसान गुरुङले भने, ‘अल्लि ठूलो हिउँ परेको भए एकदम राम्रो हुने थियो। अझै पर्छ कि ?’ एकीकृत नमुना बस्तीमा हिउँ परेपछि दृश्यावलोकन गर्न विभिन्न ठाउँबाट मान्छे आएका उनले बताए। ‘पहिल्यै आएका विदेशी पर्यटकहरू हिउँ परेपछि बिछट्टै रमाएका छन्। वरिपरिका गाउँहरूबाट पनि हिमपात हेर्न आइपुगेका छन्’, वडाध्यक्ष गुरुङले भने, ‘यहाँ लामो समयसम्म हिउँ रहने हुँदा पहिले–पहिले पनि धेरै ठाउँबाट आन्तरिक पर्यटकहरू आउने गर्थे, यसपटक पनि पक्कै आउँलान्।’

२०७२ सालको भूकम्पले धार्चे-४ लाप्राकका सबै घरहरू क्षतिग्रस्त भएपछि एनआरएनएले यहाँ एकीकृत नमुना बस्ती निर्माण गरेको थियो। 
बुधबार दिउँसोदेखि उत्तरी गोरखाको साम्दो, सामागाउँ, ल्हो, स्याला, चुम्चेत, छेकम्पारका गाउँबस्तीहरूमा पनि हिउँ पर्न थालेको छ। ‘तीन हजार मिटर उचाइमा रहेको हाम्रो छुले गाउँमा साँझतिरबाट हिउँ पर्न सुरु गरेको छ’, स्थानीय भू छेदेनले भने, ‘लामो समय भएको थियो, हिउँ नपरेको, अब राम्ररी पर्छ कि भन्ने आशा छ।’ हिमपात धेरै दृष्टिकोणले राम्रो हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.