तेली खोज्दै छत्तीसगढ पुग्दा
भगवानसँग जोडिएको राजीव तेलिन हाम्रो तेली समुदायको रहेको सुनेर हामी जीवनमा एकपटक पुग्नै पर्ने स्थलमा पुगेको महसुस भयो।
भारतको छत्तीसगढ (रायपुर) मा हुने अखिल भारतीय तैलिक साहु महासभाको राष्ट्रिय अधिवेशनको अवसरमा नेपालमा रहेको तेली कल्याण समाज नेपालमार्फत पुग्ने अवसर प्राप्त भयो। नेपालबाट केन्द्रीय अध्यक्षसहित ११ सदस्य टोली सहभागी थियौं। जसमा समाजको मोरङ अध्यक्षको हैसियतले पंक्तिकार, विराटनगर महानगरका अध्यक्ष सञ्जयकुमार साह, महानगर सचिव जगतलाल साहु समावेश हुन पायौं।
भारतको दिल्ली, मुम्बई, कलकत्ताजस्ता सहर र नेपालसँग नजिकका दार्जिलिङ, पटना, गोरखपुरजस्ता ठाउँ पुगे पनि रायपुर भ्रमण मेरो पहिलो थियो। त्यसैले अधिवेशनको निर्धारित मितिभन्दा दुई दिनअगाडि नै रायपुर घुम्न भनी पुग्यौं। २ करोड ९४ लाख कुल जनसंख्या रहेको छत्तीसगढ राज्यमा ३० लाखभन्दा बढी तेलीको जनसंख्या छ। नेपालजस्तै कृषि मुख्य पेसा रहेको यस राज्यमा खनिज, कलकारखाना (मुख्य फलाम र कोल) तथा कृषि उत्पादन र बजार नै प्रमुख रहेछन्।
धार्मिक पक्ष पनि नेपालसँग मिल्दो हिन्दुहरूको बाहुल्य र शाकाहारी भोजन नै यहाँ मन पराउने रहेछन्। छत्तीसगढको राजधानी रायपुरको प्रसिद्ध राममन्दिर, कौशल्या माताको जन्मभूमि तथा स्थानीय बजार घुमे पनि तेलीको ऐतिहासिक स्थल (राजीवलोचन मन्दिर) पुग्न चोथौ दिन अर्थात् अधिवेशनको दिनमात्र जाने अवसर मिल्यो।
नेपालबाट आएका बाँकी सदस्यलाई छाडेर विराटनगरका हामी ८ बजे निस्कियौं। छत्तीसगढ प्रदेश साहु संघका संयोजक इन्जिनियर यशवन्त साहुजी गाडी लिएर आउनु भयो। बसेको स्थलबाट करिब ४० किलोमिटर टाढा रहेको चम्पारण र राजीवलोचन मन्दिर जाने भयौं। राजीव छत्तीसगढमा महानदीको किनारस्थित एक प्रसिद्ध तीर्थस्थल हो। यसलाई छत्तीसगढको ‘प्रयाग’ पनि भनिन्छ। यहाँको प्रसिद्ध राजीवलोचन मन्दिरमा भगवान् विष्णु विराजमान रहेछ।
सृष्टिको प्रारम्भमा भगवान् विष्णुको नाभीबाट निस्किएको कमल यहीँ रहेको र यहाँबाट ब्रह्माले ब्रह्माण्डको सृष्टि गरेको विश्वास गरिन्छ। यसै ठाउँमा महानदी, परी नदी र सोन्धुर नदीको संगमको कारणले यस ठाउँलाई छत्तीसगढको त्रिवेणी संगम भनिन्छ। संगमको बीचमा कुलेश्वर महादेवको विशाल मन्दिर छ। श्रीरामले आफ्नो वनवासकालमा यस स्थानमा आफ्ना परिवारका देवता महादेवको पूजा गरेको जनविश्वास छ। यस ठाउँको पुरानो नाम कमलक्षेत्र थियो।
राजीवलोचन मन्दिर तथा यसका नामसम्बन्धी धेरै कथा रहेछन्। सन् १८६९ मा ब्रिटिस पुरातत्त्वविद् जेडी बेगलरले राजीवको यात्रा गरे जुन १८७८ मा ‘बुन्देखण्ड र मालवामा भ्रमण’ रिपोर्टका रूपमा प्रकाशित छ। सो प्रतिवेदनअनुसार, नारायणको उपासक राजीव नामक एक तेलिन (तेली)को नामबाट राजीवको नाम राखिएको छ। १२ वर्षको उपासनामा उनले हरेक दिन नारायणको दर्शन पाउँथिन् र अन्तमा उनले राजीव नारायणसँग सधैंभरि बस्ने तथा उनको नामको अगाडि आफ्नो नाम थप्न वरदान मागेकी छिन्। त्यसैबेलादेखि नारायणलाई राजीवलोचन भनिएको उल्लेख छ।
त्यस्तै, भारतीय पुरातत्त्व सर्वेक्षणका महानिर्देशक सर अलेक्ज्यान्डर कनिङघमले १८८१–८२ मा राजीवको भ्रमण गरे। उनको प्रतिवेदनअनुसार, चन्द भन्ने गाउँमा एकल महिला राजीव एक तेल व्यापारी थिइन् जोसँग कालोढुंगा थियो। यो ढुंगा तेल बेच्दा तौल नाप्न प्रयोग गरिन्थ्यो। राजा जगत्पालले सपनामा त्यो ढुंगा देख्छन् र उनलाई मन्दिर बनाउन आदेश दिन्छन्। राजा जगतपालले राजीव तेलिनलाई ढुंगाको तौलबराबरको सुन दिने प्रस्ताव राख्छन्, जसलाई राजीवले अस्वीकार गरे। राजीव अन्ततः उनको नाम मन्दिरमा जोड्ने सर्तमा ढुंगा दिन राजी हुन्छन्। राजा जगतपालले त्यो ढुंगा लिएर मन्दिर स्थापना गर्छन्। यसपछि राजीव तेलिन चन्दबाट राजीवमा आउँछन् र मन्दिर अगाडि बस्न थाल्छन्। सोही ठाउँमा राजीव तेलिन भक्ति मन्दिर बनेको छ।
भगवानसँग जोडिएको राजीव हाम्रो तेली समुदायको रहेको सुनेर हामी जीवनमा एकपटक पुग्नै पर्ने स्थलमा पुगेको महसुस भयो। गर्वले छाती चौडा भयो। राजीव तेलिन माताको मन्दिरभित्र पुग्यौं। मन्दिर समितिका अध्यक्षले स्वागत तथा सम्मानसमेत गरे। तेलिन मातालाई तेल दलेर हामी हतारहतार कार्यक्रमस्थलका लागि राजीव छोड्यौं। कार्यक्रम स्थलमा पुग्दा १२ बजिसकेको थियो। कृषि वैज्ञानिक डा. नारायण साहुलगायत छत्तीसगढका प्रमुख व्यक्तित्वहरू, विधायकहरूसँग भेटघाट र शिक्षा (विशेषतः कृषि अध्ययन) मा गृहकार्य गर्दै सहकार्य गर्ने, विवाह तथा सामाजिक सम्बन्ध अगाडि बढाउने र सम्बन्ध विस्तार गर्ने औपचारिक छलफल भयो।
केन्द्रीय कार्यक्रममा नेपालको विराटनगरमा अन्तर्राष्ट्रिय तेली सम्मेलन गर्ने औपचारिक प्रस्ताव नेपालका टोली सदस्य बजरंगी साहले राखे। जसलाई अखिल भारतीय तैलिक महासभाले हार्दिकताका साथ स्वीकार गरे। र तत्कालै महासचिव रामलाल गुप्तालाई छलफल गर्न सो सभाका अध्यक्ष माननीय जयदत्त क्षीरसागरले निर्देशन दिए। पशुपतिनाथको देश नेपालमा आउन आतुर धेरै सजातीयहरूले हाम्रो सम्पर्क नम्बर लिन र चिनजान गर्न हामीलाई खोज्न थाले। ६ सयभन्दा बढी अतिथि रहेको सो कार्यक्रममा नेपालमा पनि तेली रहेको र नेपालका तेलीले आमन्त्रित गरेको विषयले चर्चा पाएकोमा हामीले गर्व महसुस गर्यो।