संघीय र प्रदेश कार्यालयको १ अर्ब ४ करोड खर्च
मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्ष २०८०/८१ मा संघीय तथा प्रदेश कार्यालयका लागि विनियोजित बजेटको ४० प्रतिशत बजेट ६ महिनामा खर्च भएको छ। चालू वर्ष कार्यालयहरूका लागि कुल २ अर्ब ६५ करोड ३४ लाख बजेट विनियोजन भएकोमा १ अर्ब ४ करोड ७६ लाख रुपैयाँ बजेट खर्च भइसकेको हो।
संघीय तथा प्रदेश सरकारको चालू बजेट १ अर्ब ३२ करोड ७१ लाखमध्ये ६१ करोड ३७ लाख (४६.२५ प्रतिशत) प्रतिशत र पुँजीगततर्फ १ अर्ब ३२ करोड ६३ लाखमध्ये ४३ करोड ३८ लाख रुपैयाँ (३२.७१ प्रतिशत) बजेट चालू वर्षको ६ महिनामा खर्च भएको हो। यसैगरी संघ तथा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा विनियोजन हुने १ अर्ब २ करोड ४९ लाख बजेटमध्ये ४९ करोड ६८ लाख रुपैयाँ (४८.४८ प्रतिशत) बजेट मुस्ताङका ५ स्थानीय तहलाई वित्तीय हस्तान्तरण भएको हो।
मुस्ताङ जिल्लाका लागि संघ तथा प्रदेश र स्थानीय तहका लागि विनियोजित बजेट ३ अर्ब ६७ करोड ८४ लाख बजेटमध्ये १ अर्ब ५४ लाख रुपैयाँ (४१.९९ प्रतिशत) बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका प्रमुख जब्बरबहादुर भण्डारीले जानकारी दिए। कोष नियन्त्रक भण्डारीका अनुसार चालू वर्षको साउनदेखि पुससम्ममा संघतर्फका कार्यालयलाई विनियोजन भएको कुल बजेट २ अर्ब ८३ करोड ३० लाखमा १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ (४७.९४ प्रतिशत) बजेट खर्च भएको बताए।
उनका अनुसार संघतर्फ चालू कुल बजेट १ अर्ब ७ करोड ४६ लाखमध्ये ५५ करोड ४६ लाख (५१.६१ प्रतिशत) र संघतर्फको कुल पुँजीगततर्फ ८१ करोड ६ लाख बजेटमध्ये ३४ करोड १२ लाख रुपैयाँ (४२.१ प्रतिशत) बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीको भनाइ छ। यसैगरी संघीयतर्फ स्थानीय तह वित्तीय हस्तान्तरण रकम ९४ करोड ७८ लाख लाख बजेटमा ४६ करोड २१ लाख रुपैयाँ (४८.७६ प्रतिशत) बजेट वित्तीय हस्तान्तरण भएको उनले उल्लेख गरे।
चालू आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेशतर्फ विनियोजित कुल बजेट ८४ करोड ५३ लाख बजेटमा १८ करोड ६४ लाख रुपैयाँ (२२.०५ प्रतिशत) बजेट चालू वर्षको ६ महिनामा खर्च भएको हो। जसअन्तर्गत प्रदेश चालूतर्फ २५ करोड २४ लाखमा ५ करोड ९१ लाख (२३.४३ प्रतिशत) र पुँजीगततर्फ ५१ करोड ५७ लाखमा ९ करोड २५ लाख रुपैयाँ (१७.९५ प्रतिशत) बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले उल्लेख गरे। उनअनुसार प्रदेश स्थानीय तह वित्तीय हस्तान्तरण अनुदान बजेट ७ करोड ७१ लाखमा ३ करोड ४६ लाख रुपैयाँ (४४.९३ प्रतिशत) बजेट खर्च भएको हो।
गतवर्ष मुस्ताङमा संघ तथा प्रदेश कार्यालयका लागि विनियोजित ३ अर्ब ३७ करोड ७६ लाख बजेटमा ३ अर्ब १ करोड ३५ लाख रुपैयाँ (८९.२२ प्रतिशत) बजेट खर्च भएको थियो। गतवर्ष संघ तथा प्रदेशको कुल पुँजीगत बजेट १ अर्ब २ करोड ९ लाख बजेटमा ८९ करोड ७८ लाख रुपैयाँ (८७.९३ प्रतिशत) बजेट खर्च भएको थियो। यसैगरी प्रदेशतर्फ गतवर्ष कुल बजेट ३८ करोड ६९ लाख बजेटमा २८ करोड ९४ लाख रुपैयाँ (७४.८१ प्रतिशत) बजेट खर्च भएको थियो। जसमध्ये गतवर्ष पुँजीगत बजेट ६० करोड ७६ लाखमा ४५ करोड ८४ लाख रुपैयाँ (७५.४४ प्रतिशत) बजेट खर्च भएको थियो।
मुस्ताङमा संघीय कार्यालयका कुल पुँजीगत विनियोजित बजेटको ६ महिनाको खर्च रकम ३४ करोड १२ लाख खर्चमध्ये १७ करोड १८ लाख रुपैयाँ (४९.६४ प्रतिशत) बजेट राष्ट्रिय गौरवको आयोजना (बेनी-जोमसोम-कोरला)सडक एक्लैले खर्च गरेको हो।
प्रतिक्रिया दिनुहोस !