भीरबाट लडेर दुई जनाको मृत्यु

नुवाकोट : नुवाकोटको दुई छुट्टाछुट्टै स्थानमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-८ स्थित चिसापानीको भीरमा सोही स्थानका ५६ वर्षीय देवीबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
उनको शव जिल्ला अस्पताल त्रिशूलीमा लगेर पोष्टमार्टम गरिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार तीन दिनदेखि उनी घरबाट बेखबर रहेका थिए। प्रहरीले घटनाको अनुसन्धान जारी राखी सोमबार कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तलाई बुझाएको छ।
शिवपुरी गाउँपालिका-५ मुलाबारीका ३७ वर्षीय सुमन खड्का आफ्नै घरदेखि २ सय मिटर दूरीमा रहेको मुलाबारी पहिरोमा लडेर मृत अवस्थामा फेला परेका छन्। उनका अनुसार शनिबारदेखि नै सम्पर्कमा नरहेका खड्कालाई स्थानीयवासी र घरपरिवारले खोज्दै जाने क्रममा भीरमा लडेर मृत अवस्थामा फेला पारेका थिए।
प्रतिक्रिया दिनुहोस !
