कानुन बनाएर मात्रै लगानी गर्न दिऊँ
नेपाली सेना अत्यन्तै संवेदनशील संस्था हो। सेनाले कुनै क्षेत्रमा गर्ने लगानी भनेको गैरसैनिक काम हो।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि नेपाली सेनाको स्थापना भएको हो। नेपाली सेनाको कल्याणकारी बोर्डले सेवामूलक क्षेत्रमा लगानी गरिरहेको छ।
सेनासँग अहिले प्रशस्त पैसा छ। सैनिक कल्याणकारी कोषको रकम लगानी गर्ने ठाउँ छैन। लगानी गर्न नपाउँदा सेनालाई छटपटी भइरहेको छ। त्यो कोषको सदुपयोग गर्नुपर्छ। तर, सेनाले उद्योग सञ्चालन गर्न वा लगानी गर्न दिने/नदिने विषयमा गम्भीर बहस, विचार विमर्श हुनुपर्छ।
नेपाली सेना अत्यन्तै संवेदनशील संस्था हो। सेनाले कुनै क्षेत्रमा गर्ने लगानी भनेको गैरसैनिक काम हो। सेनाले लगानी गर्दा राष्ट्रिय सुरक्षाको मूलभूत जिम्मेवारीसँग मेल खाँदैन। अन्य व्यवसायी वा संस्थाले जस्तो जहाँ पायो त्यहीँ सेनाले लगानी गर्नुहुँदैन। र, लगानी गर्न पनि मिल्दैन। सेनालाई जहाँ पायो त्यहीँ लगानी गर्न दिँदा सिभिलियन सरकारलाई पनि खतरा हुन सक्छ।
सेनालाई धेरै महत्वाकांक्षी पनि बनाउनुहुँदैन। तर, उसँग रहेको लगानीयोग्य रकमको व्यावहारिक रूपमा राष्ट्रका लागि उपयोग भने गर्नुपर्छ। सेनाले लगानी गर्न सक्ने र कहाँ लगानी गर्न नहुने भन्ने लक्ष्मणरेखा हुनुपर्छ।
(अर्याल,वरिष्ठ अधिवक्ता एवं ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष हुन्।)